अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ
२०८०-०५-१२
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्रामसहित झापा मेचीनगर नगरपालिका-१० बस्ने ३३ वर्षीय राजिब कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङगा र लागू औषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा.प्र०३-००१ख २५१३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवारी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्रामसहित बाँके खजुरा गाउँपालिका-२ बस्ने २६ वर्षीय अमृत सिंह ठकुरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरोबाट समेत खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको भे.१ ख ३८४८ नम्बरको बसलाई जाँच गर्ने क्रममा ५३ वटा पोका पारी ल्याएको उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा ३ किलो ६ सय ग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जितपुर सिमरा उपमहानगरपालिका-८ बस्ने ५६ वर्षीय शिबनाथ सहनी र ४५ वर्षीय मदन सहनी रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बा.४ ख ५९३७ नम्बरको मिनी बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-५ बिशालटारबाट अवैध लागूऔषध गाँजा करिब १५ केजीसहित गल्छी गाउँपालिका-६ बस्ने ३८ वर्षीय जित बहादुर रोक्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेनिघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
बर्दिया, मधुबन नगरपालिका-७ दशरथबस्ती बस्ने २१ वर्षीय सौगात सुनार समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरुले लागूऔषध सेवन गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरी र प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले उक्त पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।