प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको भवन शिलान्यास

२०८०-०५-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर्माण हुने भवनको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बुधबार आयोजित कार्यक्रमबीच शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा उपस्थित नेपालका लागि मित्रराष्ट्र गणतन्त्र कोरियाका महामहिम राजदुत Park Tae-Young र प्रहरी महानिरीक्षक कुँवरले संयुक्त रूपमा उक्त भवनको ताम्रपत्र अनावरण गर्नुको साथै भवन निर्माण कार्य शुरूवातको लागि भूमि पूजन समेत गर्नुभयो ।

उक्त अवसरमा राजदुत Park Tae-Young ले वर्तमान समयमा बढ्दै गएको साईबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि नेपाल प्रहरीले साईबर ब्यूरोको क्षमताको स्तरोन्नति गर्दै आमनागरिकलाई साईबर अपराधबाट जोगाउन थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा साईबर व्यूरोको क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरीसँग आपसी सहयोग तथा सहकार्य गर्ने उहाँले बताउनुभयो । 

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विज्ञान र प्रविधिको क्षेत्रमा देखिएको विकास नेपालमा मात्र नभई हाल विश्वमै ठूलो आयाम र चुनौतिको रूमपमा खडा भएको र यसले नेपाल प्रहरीको कार्यक्षेत्रमा समेत ठूलो परिवर्तन ल्याएको बताउनुभयो । सीमित साधन स्रोत एवं पूर्वाधारका वावजुद साइबर व्यूरोले आफ्नो क्षमता र दक्षताले सम्भव भएसम्मको सेवा प्रवाह गर्दै आइरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा साईबर अपराधसँग सम्बन्धित विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणको लागि साईबर व्यूरोको संरचना सुदृढिकरण, प्रविधि र दक्ष जनशक्तिको उपलब्धता अत्यन्त जरूरी भएको बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले मित्रराष्ट्र कोरियाबाट उपलब्ध भएको सहयोग नेपाल प्रहरीको संस्थागत विकासको सन्दर्भमा दूरगामी महत्वको प्रारम्भ विन्दुको रूपमा रहने विश्वास व्यक्त गर्नुभयो । सुसज्जित साइबर व्यूरो निर्माण गर्न कोरियाली सरकार, कोईका र कोरियाली जनताको प्रशंसा गर्दै उहाँले निर्माण हुने भवन नेपाल र कोरियाबीच मित्रताको प्रतिकको रूपमा रहने चर्चा गर्नुभयो ।   

उक्त कार्यक्रममा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) नेपालका Country Director Mooheon Kong ले शुभकामना मन्तव्य व्यक्त गर्दै यस प्रोजेक्ट अनुरूप नेपाल प्रहरीको साइबर व्यूरोको स्तोरन्नति र जनशक्तिको क्षमता अभिवृद्धि गरी साईबर अपराध नियन्त्रणमा प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न सहजिकरण हुने बताउनुभयो । 

सो अवसरमा साईबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले स्वागत मन्तव्य व्यक्त तथा भवन निर्माण सम्बन्धमा संक्षिप्त जानकारी प्रस्तुत गर्दै मित्रराष्ट्र गणतन्त्र कोरिया सरकारको सहयोगमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) द्वारा भवन निर्माण हुन लागेको बताउनुभयो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, कोईकाका प्रतिनिधिहरू, स्थानीय निकायका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकृतहरु लगायतको उपस्थिति थियो ।


सम्बन्धित समाचार
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० उद्‍घाटन
२०८०-०६-१४

काठमाडौं, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आइतबार आयोजित विशेष समारोहबीच ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८०’ को पानसमा दीप प्रज्वलन गरी उद्‌घाटन गर्नुभयो । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा संयुक्त रूपमा आयोजित उक्त कार्यक्रमको सुरुमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टरराई, सुरक्षा निकायहरु, काठमाडौं ललितपुर भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा सडक सुरक्षा सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍याली दरबारमार्गबाट शुरू भई पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले ट्राफिक सचेतना सप्ताहले आमनागरिकमा ट्राफिक चेतनाको स्तर जागरित गर्ने सक्षम हुने बताउनुभयो । सडक दुर्घटनाबाट नेपालले ठूलो क्षति वेहोर्दै आएको सन्दर्भमा यस्तो स्थितिलाई अत्यन्त गर्नु र आउन नदिन सचेत हुन सबैको गम्भीर जिम्मेवारी रहेको बताउनुभयो । ट्राफिक प्रहरीको कार्य मात्र नभई सडकको गुणस्तर, सडकको क्षमता, सवारी साधनको गुणस्तरीयता, सवारी चालक र अन्य समुदायको चेतना र आचरणले समेत सडक दुर्घटनाको न्यूनीकरणका लागि ठूलो भूमिका निर्वाह गर्ने उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उपत्यकामा चुनौतीको रूपमा रहेको ट्राफिक व्यवस्थापनका सम्बन्धमा नेपाल प्रहरी र सरोकारवाला पक्षहरूबीच सहकार्य अभिवृद्धिका माध्यमबाट सडक सुरक्षा कायम गर्दै आमनागरिकमा प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्ने उद्देश्यका साथ काठमाडौं महानगरपालिकासँगको संयुक्त आयोजनामा आयोजित यस सप्ताहले दुर्घटना तथा क्षति न्यूनीकरणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । सडक सुरक्षा एवं ट्राफिक व्यवस्थापन नागरिकको जिउ धनको सुरक्षासँग जोडिएको गम्भीर र महत्त्वपूर्ण क्षेत्रको रुपमा रहेको ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरी सदैव कटिबद्ध रहेको उहाँले बताउनुभयो । यस महत्वपूर्ण र चुनौतीपूर्ण जिम्मेवारीमा खटिएका ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्‍भाव आवश्यक रहेको चर्चा गर्नुहुँदै उहाँले नेपाल प्रहरीले ल्याएको योजना कार्यान्वयनमा सडक प्रयोगकर्ता लगायत कानून कार्यान्वयन गर्ने पक्ष तथा सम्पूर्ण सरोकारवाला निकायहरूबाट सहयोग समन्वय र सहकार्य निरन्तर प्राप्त हुने अपेक्षा रहेको बताउनुभयो । कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, यातयाव व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाल, राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, वरिष्ठ कलाकार हरिवंश आचार्य, काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सडक सुरक्षा बारेमा आ-आफ्नो धारणासहितको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयद्वारा निर्माण गरिएको ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी वृत्तचित्र प्रस्तुत गरिएको थियो ।  

नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान दिपन्द्र सिंह ऐरीद्वारा विश्व कीर्तिमान कायम
२०८०-०६-१४

काठमाडौं, नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान समेत रहेका दिपेन्द्र सिंह ऐरीले मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औं एशियन गेम्समा टी-२० क्रिकेटतर्फ विश्व रेकर्ड कायम गर्न सफल भएका छन् । सन् २०२३ सेप्टेम्बर २७ मा मंगोलिया विरुद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरूष क्रिकेट टीमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी उनले विश्व कीर्तिमान कायम गरेका हुन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको तर्फबाट कप्तान ऐरीलाई हार्दिक बधाई दिनुको साथै नेपाली क्रिकेट टीम र  खेलाडीहरूमा सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।  सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्र राष्ट्र चीनमा सञ्चालन भइरहेको उक्त १९औं एशियन गेम्समा     नेपाल प्रहरीको तर्फबाट पुरुष क्रिकेट, कराँते, महिला फुटबल, टेबलटेनिस, तेक्वान्दो, उसु, जुडो, बक्सिङ, ब्याडमिण्टन, कबड्डी, आर्चरी, महिला भलिबल, पुरुष भलिबल, एथ्लेटिक्स तथा भारोत्तोलन लगायतका खेलहरूमा सहभागी भएका कुल ४७ जना खेलाडीहरू (एक जना अफिसियल सहित) रहेका छन् । 

२० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान
२०८०-०६-१४

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको    छ  । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही शाखामा संचालित पाँचौ समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।   उक्त तालिम समापनका अवसरमा आइतबार आयोजित कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र वितरण गर्नुभयो । प्रहरी नायव महानिरीक्षक कडायतले अहिले प्रविधिको युग भएकोले तालिमको दौरानमा सिकाइएका विभिन्न ज्ञान सीप प्रहरी कर्मचारीहरुको व्यवसायिक तथा व्यक्तिगत जीवनमा फलदायि हुने विश्वास व्यक्त गर्नुभयो । प्राप्त ज्ञानलाई अझै पूर्णता ल्याउनका लागि आफ्नो कार्यक्षेत्रमा गएपश्चात थप अभ्यास गर्दै आफ्नो काममा निखारता ल्याउनुपर्ने बताउनुभयो । अपराध अनुसन्धानमा प्रविधि र प्राविधिक ज्ञानको प्रयोगले साइबर क्राइम, बैंकिङ कसूरजन्य अपराध नियन्त्रणदेखि प्रहरीले सम्पादन गर्ने हरेक कार्यमा ठूलो सहयोग हुने अपेक्षा रहेको उहाँले बताउनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक कालिका कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ३० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान १३ गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । प्रशिक्षककोतर्फबाट प्रशिक्षक पुरुषोत्तम घिमिरे र प्रशिक्षार्थीकोतर्फबाट प्रहरी नायव निरीक्षक राम प्रसाद मैनालीले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा श्रव्यदृश्य आधारभूत पाचौं समूहद्वरा तयार पारिएको ट्राफिक सम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो ।  

प्रहरी जवान आधारभूत तालिमका २ हजार ४ सय ११ जना प्रहरी जवान दीक्षित
२०८०-०६-०७

काठमाडौं, विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा सहभागी २ हजार ४ सय ११ जना प्रहरी जवानहरू आइतबार दीक्षित भएका छन् । ती मध्ये ४ सय ६७ जना महिला र १ हजार ९ सय ४४ जना पुरूष रहेका छन् ।नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालको दीक्षान्त समारोहमा प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त गणबाट १ सय १ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंजको दीक्षान्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त शिक्षालयबाट १ सय ३ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।  नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीको दीक्षान्त समारोहमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त महाविद्यालयबाट १ सय ८९ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको दीक्षान्त समारोहमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ९५ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराजको दीक्षान्त समारोहमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ८३ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको दीक्षान्त समारोहमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ८० जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको दीक्षान्त समारोहमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरूङले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ७७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको दीक्षान्त समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ८७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)को दीक्षान्त समारोहमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ३ सय जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलको दीक्षान्त समारोहमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट १ सय ९६ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । साथै सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र (प्रहरी प्रशिक्षण स्थल बुडर, डोटी) बाट १ सय जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।दीक्षान्त समारोहका प्रमुख अतिथिहरूले आ-आफ्नो दीक्षान्त समारोहमा प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई बधाई तथा सफलताको कामना व्यक्त गर्दै आवश्यक निर्देशनसमेत दिनुभएको थियो ।

विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुको सरसफाइ कार्यक्रम सम्पन्न
२०८०-०६-०६

काठमाडौं,  “सेवा नै धर्म हो”  भन्ने मूल नाराका साथ नेपाल प्रहरी श्रीमती संघको “सामाजिक उत्तरदायित्व क्रियाकलाप” अन्तर्गत विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरूको सरसफाई तथा संरक्षण कार्यक्रमको सिलसिलामा शनिबार श्री स्वयम्भू महाचैत्य विहार परिसर, स्वयम्भूको सरसफाई तथा फोहोरमैला व्यवस्थापन गरिएको छ । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी पराजुली कुँवरको नेतृत्वमा उक्त संघका पदाधिकारीहरू, स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिका सदस्यहरू, प्रहरी वृत्त स्वयम्भू, प्रहरी कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय भद्रभलाद्‍मीहरूको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । यसअघि विश्व सम्पदा सूचीकृत पशुपति मन्दिर परिसरमा समेत सरसफाई तथा फोहोर व्यवस्थापन कार्यक्रम सम्पन्न गरिएको थियो ।

हेभी सवारी चालक तालिम सुरू
२०८०-०६-०४

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १४ औं समूहको हेभी सवारी चालक तालिम संचालन भएको छ ।उक्त तालिमको सोही महाशाखाका प्रहरी नायव उपरीक्षक ई.अनुप श्रेष्ठले बिहीबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्दै हेभी सवारी साधन चलाउन र सामान्य मर्मत सम्भार गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो । प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उक्त तालिममा प्रहरी सहायक हवल्दार १६ जना र प्रहरी जवान १४ जना गरी जम्मा ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।