प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ६९औं प्रहरी दिवस २०८१ सम्पन्न
२०८१-०६-३०
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६९औं प्रहरी दिवस २०८१ सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीले ‘६९औं प्रहरी दिवस २०८१’ लेखिएको ब्यानर सहितको बेलुन उडाएर विशेष समारोहको औपचारिक शुरूवात गर्नुभयो । साथै उहाँले अपराध नियन्त्रणको विषय समेटिएको Public Service Announcement (PSA) सम्बन्धी जनचेतनामूलक भिडियोको डिस्प्लेमा क्लिक गरेर शुभारम्भ गर्नुका साथै “प्रहरी दर्पण २०८१” को लोकार्पण समेत गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्त बहादुर बस्नेतलाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन (Police Baton) २०८१ तर्फ सर्वोत्कृष्ट हुन सफल लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुबेर कडायतलाई प्रहरी व्याटन २०८१ प्रदान गर्नुभयो ।सो अवसरमा प्रधानमन्त्री ओलीले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराईलाई ‘पूर्ण शान्ति पुरस्कार’, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ नायब निरीक्षक सूर्यभक्त श्रेष्ठलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र गण्डकी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म बाग्लुङका प्रहरी जवान अब्दुल अन्सारीलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गर्नुभयो ।समारोहमा प्रधानमन्त्री ओलीले बर्दिया बारबर्दिया नगरपालिका-४ का अमर प्रहरी जवान अमर बहादुर थारूको छोरी अंशु थारू र उदयपुर बेलका नगरपालिका-१ का अमर प्रहरी हवल्दार दिलिप कार्कीको छोरा दिकेश कार्कीलाई अच्युत-मिना अमर प्रहरी परिवार पुरस्कार तथा बैतडी शिवनाथ गाउँपालिका-२ का अमर प्रहरी प्रहरी जवान शेरसिंह साउदको छोरा अनिल साउद र अछाम बान्नीगढी जयगढ गाउँपालिकाका अमर प्रहरी प्रहरी जवान राम बहादुर साउदकी छोरी नविना साउदलाई अच्युत-मिना अमर प्रहरी छात्रवृत्ति प्रदान गर्नुभयो । साथै उहाँले नुवाकोट विदुर नगरपालिका-११ का अशक्त प्रहरी नायव निरीक्षक हित बहादुर तामाङकी छोरी आशिका लामा र सर्लाही विष्णु गाउँपालिका-६ का अमर प्रहरी प्रहरी जवान विन्देश्वर साहको छोरा अनजय कुमार साहलाई मोतिलाल, कला, मिथिला अमर/अशक्त प्रहरी छात्रवृत्ति प्रदान गर्नुभयो । विशेष समारोहलाई सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरी देशमा शान्ति सुव्यवस्था कायम गर्ने, कानूनको कार्यान्वयन गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने महत्वपूर्ण निकाय रहेको चर्चा गर्दै विपद्जन्य घटनाहरू लगायत अन्य अत्यन्त चुनौतिपूर्ण एवम् संवेदनशिल कार्यमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा धेरै चुनौतिहरू गम्भीर ढंगले बढेको उल्लेख गर्दै साइबर अपराध, लागूऔषधको प्रयोग लगायत अन्य आपराधिक गतिविधि नियन्त्रणको लागि नेपाल प्रहरीले अझ प्रभावकारी रूपमा प्रस्तुत भई कार्य गर्नुपर्ने बताउनुभयो । प्रहरी संगठनलाई साधन स्रोतयुक्त बनाई सबल, सक्षम र सशक्त बनाउँदै लैजान नेपाल सरकार प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो । समारोहमा गृहमन्त्री रमेश लेखकले देशको आन्तरिक शान्ति सुव्यवस्था कायम गर्न, कानुनको कार्यान्वयन गर्न, मुलुकमा आइपरेका विषम परिस्थिती एवम् विपत्तिमा उद्दार राहत व्यवस्थापन लगायतका कार्यमा अग्रपंक्तिमा रही नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । गृहमन्त्री लेखकले अन्तर्राष्ट्रिय आतंकवाद, साइबर अपराध, प्राकृतिक प्रकोपको जोखिम, आर्थिक अपराध, सीमापार तथा क्षेत्रिय अपराधको संजालको नियन्त्रण तथा अनुसन्धान लगायत विविध सुरक्षाका चुनौतिहरूको सम्बोधन गर्नुपर्ने बताउँदै नेपाल प्रहरीले त्यसको लागि राम्रो तयारी र क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । नेपाल प्रहरीलाई थप प्रविधियुक्त, साधनस्रोत तथा व्यावसायिक बनाउँदै लैजान गृह मन्त्रालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । प्रहरीले नागरिकमैत्री सेवा प्रवाह गर्दै मानव अधिकारको संरक्षण एवं सम्वर्द्धन, प्रमाणमुखी तथा निष्पक्ष अनुसन्धान गरी मुलुकमा कानूनी राज्यको सुनिश्चितता गर्न अझ निष्ठावान् रहनुपर्नेमा उहाँले जोड दिनुभयो । समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपालको संविधान, प्रहरी ऐन तथा नियमावली, प्रचलित ऐन, कानून, निर्देशिका तथा कार्यनिर्देशनहरूद्वारा प्रदत्त अधिकार बमोजिम समाजमा अपराध नियन्त्रण र अनुसन्धान, शान्ति सुव्यवस्था कायम, सवारी आवागमन व्यवस्थापन, विपद व्यवस्थापन तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धन लगायतको मुख्य अभिभारा नेपाल प्रहरीबाट मुख्य जिम्मेवारीको रूपमा बहन हुँदै आएको उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले राष्ट्र र नागरिकले सामना गरेका हरेक कालखण्ड, विपत्ति, कठिन एवम् विषम परिस्थितिहरूमा देखाएको समर्पण भाव, अदम्य साहस र निर्भिकता एवम् उच्च व्यावसायिकता प्रदर्शनको फलस्वरूप आज नेपाल प्रहरी नागरिक सेवा र सुरक्षाको भरोसा योग्य संगठनको रूपमा समाजको एउटा अभिन्न हिस्साको रूपमा स्थापित हुन सफल भएको उल्लेख गर्नुभयो । नागरिक केन्द्रित, स्वच्छ र व्यावसायिक प्रहरी सेवालाई दूरदृष्टि मानी समाज परिवर्तनको गति र चाहनालाई आत्मसाथ गर्दै नेपाल प्रहरीबाट प्रवाहित सेवा पनि थप परिष्कृत, उत्तरदायी, जवाफदेही र सर्वस्वीकार्य बनाउन नेपाल प्रहरी प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो । नेपाल सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा परिलक्षित कार्यक्रमहरूको सफल कार्यान्वयन गरी समृद्ध, सबल, समुन्नत र सुरक्षित नेपाल निर्माण गर्ने नेपाल सरकारको संकल्पलाई साकार तुल्याउन नेपाल प्रहरी कृतसंकल्पित रहेकोमा उहाँले जोड दिनुभयो । समारोहमा ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ २०८१ द्वारा सम्मानित अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्त बहादुर बस्नेतले शुभकामना सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त विशेष समारोहमा प्रहरीको ऐतिहासिक झलकसहितको कवाज प्रदर्शन, सात वटै प्रदेश तथा उपत्यका प्रहरी कार्यालयको प्रदेशगत चिनारी सहितको झाँकी प्रदर्शन, नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, विपद् व्यवस्थापन, केनाईन र प्रहरी अस्पतालबाट संयुक्त रूपमा प्रहरी युक्ति तथा विशेष कला प्रदर्शन, नेपाल प्रहरी केनाईन कार्यालयद्वारा अपराध अनुसन्धानमा केनाईनको प्रयोग तथा केनाईनको विशेष क्षमता सम्बन्धमा विशेष कला प्रदर्शन एवम् नेपाल प्रहरी संगीत विद्यालयद्वारा विभिन्न फर्मेसन र साँगितिक धुनहरूसहितको बैण्ड डिस्प्ले गरिएको थियो । समारोहमा प्रथम महिला श्रीमती राधिका शाक्य, लोकसेवा आयोगका अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, प्रतिनिधि सभाका पूर्व सदस्य एवम् अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक, नेपाल सरकारका मुख्य सचिव, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक, लोक सेवा आयोगका माननीय सदस्य, गृह मन्त्रालय, अर्थ मन्त्रालय तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवहरू, प्रधानमन्त्रीज्यूको प्रमुख स्वकीय सचिव, गृहसचिव, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष एवम् पदाधिकारीहरू, नेपाल प्रहरी एवम् सशस्त्र प्रहरी बल नेपालका प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, आमन्त्रित एवं उपस्थित विशिष्ट अतिथि महानुभावहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू, अमर तथा अशक्त प्रहरी संघ, नेपाल पूर्व प्रहरी संगठन तथा पूर्व प्रहरी कर्मचारी परिषदका अध्यक्ष तथा पदाधिकारीहरू, सञ्चारकर्मी एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । ६९औं प्रहरी दिवस २०८१ सबै प्रदेश प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयहरूमा समेत विविध कार्यक्रमहरूका साथ मनाइएको छ ।