प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा ६८औं प्रहरी दिवस २०८० सम्पन्न

२०८०-०६-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार आयोजित विशेष समारोहबीच ६८औं प्रहरी दिवस २०८० सम्पन्न भएको छ । 

विशेष समारोहमा प्रधानमन्त्री दाहालले सफल अनुसन्धान, आमहत्या, घरेलुहिंसा, जबरजस्ती करणी, सवारी दुर्घटना, ठगी र साईबर क्राइम सम्बन्धी बनेको सचेतनामूलक सन्देश सहितको Public Service Announcement (PSA) मध्ये एक प्रतिनिधिमूलक रूपमा ठगी सम्बन्धी जनचेतनामूलक भिडियोको स्वीच अन गरी प्रसारण शुभारम्भ गर्नुभयो । साथै उहाँले “प्रहरी दर्पण २०८०” को लोकार्पण समेत गर्नुभयो ।  

सो अवसरमा प्रधानमन्त्री दाहालले मित्रराष्ट्र चीनमा भर्खरै सम्पन्न भएको “१९औ एसियन गेम्स” अन्तर्गत कराते खेलमा रजत पदक जित्न सफल नेपाल पुलिस क्लबमा आवद्ध कराते खेलाडी एरिका गुरूङ, “१९औ एसियन गेम्स” अन्तर्गत कबड्डी खेलमा नेपाललाई कास्य पदक जिताउन सफल हुनुभएका नेपाल पुलिस क्लबमा आवद्ध प्रहरी सहायक हवल्दार नितु गुरूङ, प्रहरी सहायक हवल्दार मानमती विष्ट र प्रहरी सहायक हवल्दार अर्पणा चौधरी तथा “१९औ एसियन गेम्स” अन्तर्गत टि-२० क्रिकेट प्रतियोगितामा मंगोलिया विरूद्धको खेलमा ९ बलमा अर्धशतक (५० रन)  पूरा गरी विश्व रेकर्ड कायम गर्न सफल हुनुभएका यस वर्ष नेपाल प्रहरीका उत्कृष्ट खेलाडी नेपाल प्रहरी क्रिकेट टिमका क्याप्टेन प्रहरी सहायक हवल्दार दिपेन्द्र सिंह ऐरीलाई नगद तथा सम्मानपत्र प्रदान गर्नुभयो । 

समारोहमा प्रधानमन्त्री दाहालले ‍अवकाश प्राप्त प्रहरी निरीक्षक कोमल बहादुर थापालाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन (Police Baton) २०८० तर्फ सर्वोत्कृष्ट हुन सफल गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक वुद्धिराज गुरूङलाई प्रहरी व्याटन २०८० प्रदान गर्नुभयो ।

  सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी नेपाल र नेपाल प्रहरी संगठनको गरिमा विश्वमाझ उच्च राख्न निर्वाह गरेको साहसिक तथा जोखिमपूर्ण कार्यको उच्च मूल्याङकन गर्दै प्रहरी वरिष्ठ नायब निरीक्षक पुरूषोतम नेपालीलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोका प्रहरी निरीक्षक मोहम्मद कलिम अञ्जुमलाई ‘पूर्ण शान्ति पुरस्कार’ र नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ नायब निरीक्षक दुर्गा कुमार योञ्जनलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ प्रदान गर्नुभयो । 

समारोहमा प्रधानमन्त्री दाहालले कैलाली धनगढी उपमहानगरपालिका-२ का अमर प्रहरी प्रहरी नायव निरीक्षक ध्रुव रावलको छोरा आर्यन रावल र अर्घाखाँची सन्धिखर्क नगरपालिका-२ का अमर प्रहरी प्रहरी जवान सूर्य बहादुर थापाकी छोरी आईस्का थापालाई अच्युत-मिना अमर प्रहरी परिवार पुरस्कार तथा बैतडी शिवनाथ गाउँपालिका-२ का अमर प्रहरी प्रहरी जवान शेरसिंह साउदको छोरा अनिल साउद र  अछाम बान्नीगढी जयगढ गाँउपालिकाका अमर प्रहरी प्रहरी जवान राम बहादुर साउदकी छोरी नविना साउदलाई अच्युत-मिना अमर प्रहरी छात्रवृत्ति प्रदान गर्नुभयो । साथै उहाँले नुवाकोट विदुर नगरपालिका-११ का अवकास प्राप्त प्रहरी नायव निरीक्षक हित बहादुर तामाङकी छोरी आशिका लामा र सर्लाही विष्णु गाउँपालिका-६ का अमर प्रहरी प्रहरी जवान विन्देश्वर साहको छोरा अनजय कुमार साहलाई मोतिलाल, कला, मिथिला अमर/अशक्त प्रहरी छात्रवृत्ति प्रदान गर्नुभयो । 

  विशेष समारोहलाई सम्बोधनको क्रममा प्रधानमन्त्री दाहालले गौरवशाली इतिहास कायम गरेको प्रहरी संगठनले धेरै बाधा, अवरोध र चुनौतिहरूको सामना र परास्त गरेर आजको अवस्थामा आइपुगेको यस अवसरमा आफ्नो इतिहास र परम्परालाई कायम राख्दै थप जिम्मेवारीबोध र कार्यसम्पादनका निम्ति सिंगो प्रहरी संगठन परिवारमा अनुरोध गर्नुभयो । नेपाल प्रहरीको छविमाथि प्रश्न उठ्ने कुनै पनि प्रकारका अवान्छित गतिविधि र गलत क्रियाकलाप नियन्त्रण गर्न प्रहरी नेतृत्व पूर्णतः सक्षम रहेको विश्वास उहाँले व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री दाहालले समाज सँगसँगै परिवर्तन हुँदै नेपाल प्रहरीले आफू र आफ्नो सेवा प्रवाहलाई समयसापेक्ष आधुनीकिकरण गर्दै पूर्ण जिम्मेवारीका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत प्रभावशाली प्रहरी संगठनको रूपमा स्थापित हुन सफल भएको चर्चा गर्नुभयो । सीमित साधनस्रोत, जनशक्ति र अनेकौं चुनौतीबीच पनि अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा प्राप्त गरेको ख्याती नेपाल सरकारको लागि पुँजी भएको उल्लेख गर्नुभयो । समाजमा बदलिँदो आपराधिक परिवेश, विश्‍वव्यापीकरणसँगै फैलिएको अन्तर्राष्ट्रिय अपराधको सञ्जाल, सूचना प्रविधिले ल्याएको विकास र यसले निम्त्याएको विनाश, अनुशासनहीनतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले आफ्नो स्वरूप र सेवा प्रवाहमा सोही अनुरूप विकास र परिवर्तन गर्दै गएको देख्दा गर्व र खुशी लागेको उल्लेख गर्दै उहाँले सूचना-प्रविधिको विकाससँगै अपराधका नयाँ-नयाँ आयामहरू विकसित भइरहेको परिप्रेक्ष्यलाई दृष्टिगत गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरीले आगामी दिनमा प्रविधिमैत्री संयन्त्र र विधिको भरपूर उपयोग गर्नुपर्ने बताउनुभयो ।   

आम नागरिकको सरोकार र राज्यका समस्यामा नेपाल प्रहरीले प्रथम पंक्तिमा रहेर समस्या सम्बोधन र समाधान गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “आम नागरिकले दु:खमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुने गरेको छ, यो आफैमा महत्वपूर्ण कुरा हो ।” नेपाल प्रहरीले मानव अधिकारको संरक्षण तथा प्रवर्धन गर्न, लैंगिक हिंसा न्यूनिकरण गर्न, वाक् तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न, महिला बालबालिका तथा ज्येष्‍ठ नागरिकको सेवा एवं सुरक्षा गर्नका लागि सामुदायिक समन्वय गरी आधुनिक प्रहरीका सिद्धान्तहरू अवलम्बन गरेको उल्लेख गर्नुभयो । 

  समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आम नागरिकको समृद्धि र समुन्नतिको चाहना साकार तुल्याउन नेपाल सरकारले तय गरेको नीति तथा कार्यक्रमलाई सफल कार्यान्वयन गरी सुरक्षित र समुन्नत नेपाल बनाउन नेपाल प्रहरी हर तरहबाट कटिबद्ध रहेको बताउनुभयो । विश्वव्यापी रूपमा चुनौतिका रूपमा देखा परेका संगठित अपराध, लागूऔषध, मानव बेचबिखन, साइबर एवं विद्युतीय कसूर, अवैध हात-हतियार ओसारपसार, बहुमूल्य सामग्रीहरूको ओसारपसार, आर्थिक अपराधलाई निर्ममतापूर्वक कानूनी दायरामा ल्याउन नेपाल प्रहरीले आफ्नो क्षमता विस्तारलाई गति दिँदै अन्तर्राष्ट्रिय प्रहरी निकायहरूसँगको समन्वयलाई पनि तीव्रता दिएको उहाँले उल्लेख गर्नुभयो ।   

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले कार्यसम्पादन र सेवा प्रवाहको विश्वसनियता, गुणस्तरीयता एवं जिम्मेवारीप्रतिको समर्पणलाई निरन्तर परिष्कृत, परिमार्जित र सुदृढ गर्दै समय, परिवेश र विकासको गतिसँगै संगठनको विकास र विस्तार गर्दै आईरहेको चर्चा गर्दै नेपाल प्रहरीको सेवामा प्रभावकारिता वृद्धि गर्न आन्तरिक सुदृढीकरण र शुद्धीकरण गर्ने उद्देश्यसहित नेपाल सरकार गृह मन्त्रालयको वर्तमान प्राथमिकताको क्षेत्रहरूलाई मुख्य आधार मान्दै नेपाल प्रहरी कार्ययोजना,२०८० कार्यान्वयनमा ल्याइएको बताउनुभयो । 

समारोहमा ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ २०८० द्वारा सम्मानित अवकाश प्राप्त प्रहरी निरीक्षक कोमल बहादुर थापाले नेपाल प्रहरीको मानवस्रोत विकास तथा विशेषत बाह्य प्रशिक्षणको क्षेत्रमा गरेको कार्यहरूलाई उच्च कदर गरी यस अवार्डद्वारा सम्मान गरेकोमा नेपाल प्रहरी प्रधान कार्यालयप्रति आभार एवम् कृतज्ञता व्यक्त गर्नुभयो ।  

उक्त विशेष समारोहमा प्रहरीको ऐतिहासिक झलकसहितको कवाज प्रदर्शन, सात वटै प्रदेश तथा उपत्यका प्रहरी कार्यालयको प्रदेशगत चिनारीसहितको झाँकी प्रदर्शन, नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलबाट प्रहरी युक्ति तथा विशेष कला प्रदर्शन, नेपाल प्रहरी केनाईन कार्यालयद्वारा अपराध अनुसन्धानमा केनाईनको प्रयोग तथा केनाईनको विशेष क्षमता सम्बन्धमा विशेष कला प्रदर्शन एवम् नेपाल प्रहरी संगीत विद्यालयद्वारा विभिन्न फर्मेसन र साँगितिक धुनहरूसहितको बैण्ड डिस्प्ले गरिएको थियो । 

समारोहमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकर दास बैरागी, प्रधानमन्त्रीज्यूको प्रमुख स्वकीय सचिव, नेपाल सरकारका मुख्य सचिव, प्रदेश सभाका सदस्य, पूर्व सभासद एवं अवकाश प्राप्त प्रहरी महानिरीक्षक, संवैधानिक निकायका सदस्य तथा आयुक्तहरू, प्रधानमन्त्रीज्यूको स्वकीय सचिवहरू, गृहसचिव, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, निमित्त सशस्त्र प्रहरी महानिरीक्षक, पूर्व आयुक्त, पूर्व गृहसचिव, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष एवम् पदाधिकारीहरू, नेपाल प्रहरी एवम् सशस्त्र प्रहरी बल नेपालका प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकहरू, मन्त्रालयका सह-सचिवहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, आमन्त्रित एवं उपस्थित विशिष्ट अतिथि महानुभावहरू, अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षकहरू, अमर तथा अशक्त प्रहरी संघ, नेपाल पूर्व प्रहरी संगठन तथा पूर्व प्रहरी कर्मचारी परिषदका अध्यक्ष तथा पदाधिकारीहरू, सञ्चारकर्मी एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको छ । 

६८औं प्रहरी दिवस २०८० सबै प्रदेश प्रहरी कार्यालयहरु तथा मातहत कार्यालयहरूमा समेत विविध कार्यक्रमहरुका साथ मनाइएको छ । 


सम्बन्धित समाचार
६८औं प्रहरी दिवस २०८० का अवसरमा पुनर्मिलन कार्यक्रम सम्पन्न
२०८०-०६-३०

काठमाडौं, ६८औं प्रहरी दिवस २०८० का अवसरमा नेपाल प्रहरीद्वारा आयोजित पुनर्मिलन कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यलयमा मंगलबार सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर एवम् वरिष्ठ प्रहरी अधिकृतहरू र अवकाश प्राप्त वरिष्ठ प्रहरी अधिकृतहरुबीच प्रहरी दिवस २०८० तथा विजया दशमी, तिहार र छठ पर्वको शुभकामाना आदान प्रदान गरियो ।   पुनर्मिलन कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अग्रज प्रहरीद्वारा आ-आफ्नो कार्यकालमा भएका अथक प्रयासहरूको सम्मान गर्दै उक्त प्रयासलाई आगामी पुस्ताले समेत निडरताका साथ निरन्तरता दिई अगाडि बढ्ने बताउनुभयो । नेपाल प्रहरीले कार्यान्वयनमा ल्याएको नेपाल प्रहरी कार्ययोजना,२०८० लाई प्राथमिकतामा समावेश गरेको उल्लेख गर्दै त्यस विषयमा अग्रजहरूको अनुभव, सहयोग, सल्लाह र मार्गनिर्देशन प्राप्त भइरहने अपेक्षा रहेको बताउनुभयो ।  सो अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक प्रहरी कर्मचारीहरूले संगठनको श्रीवृद्धि गर्नका लागि आ-आफ्नो कर्तव्य पालना गर्दा निर्भिकता र निडरकासाथ कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । नेपाल प्रहरीमा आवद्ध भई अन्तर्राष्ट्रिय खेलकुदमा प्राप्त गरेको सफलताले विश्वमा समग्र नेपाल र संगठनको गौरव बढाएको उहाँले चर्चा गर्दै आउँदा दिनमा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न अवकाश प्राप्त प्रहरी कर्मचारीहरू प्रतिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । विविध गीत, संगीत र नाटकसहितको साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा प्रदेश सभाका सदस्य, पूर्व सभासद एवं अवकाश प्राप्त प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष एवम् पदाधिकारीहरू लगायतका नेपाल प्रहरीका अवकाश प्राप्त तथा बहालवाला प्रहरी अधिकृतहरूको उपस्थिति रहेको  थियो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट सम्मानपत्र, कदरपत्र तथा पुरस्कार वितरण
२०८०-०६-२९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ६८औं प्रहरी दिवस २०८० का अवसरमा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई सम्मानपत्र, कदरपत्र, पुरस्कार एवं विविध अलङ्कार तथा पदक प्रदान गर्नुभयो । सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८० अन्तर्गत आ-आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने ट्राफिक प्रहरीतर्फ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, नेपाल प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक ध्रुव राज राउत, प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीका प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरि शर्मा, प्रदेश प्रहरी गण खजुरा बाँकेका प्रहरी उपरीक्षक माधव प्रसाद बुढाथोकी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मी, ईलाका प्रहरी कार्यालय बुटवल रूपन्देहीका प्रहरी नायव उपरीक्षक दान बहादुर थापा र प्रहरी चौकी श्रीअन्तु ईलामका प्रहरी वरिष्ठ नायव निरीक्षक किरण प्रसाईलाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गर्नुभयो ।  यसैगरी प्रहरी महानिरीक्षक कुँवरले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीहरूलाई प्रोत्साहन तथा उच्च मनोबल प्रदान गर्नको लागि यसै वर्षदेखि यूनिसेफ नेपालको सहकार्यमा Strengthening Nepal Police Women Children and Senior Citizens Services Directorate on Justice For Children परियोजना अन्तर्गत सर्वप्रथम हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक समीक्षा खत्री, द्वितीय हुने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी हवल्दार देवी पाण्डे, तृतीय हुने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक निरला भण्डारी तथा सान्तवना पुरस्कारतर्फ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सरिता विश्वकर्मा र जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी सहायक हवल्दार वीरेन्द्र बिकलाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो  । यसैगरी प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ डा. छायादत्त न्यौपाने‘बगर’ र प्रहरी निरीक्षक जनार्दन घिमिरेलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी विद्यालयका उत्कृष्ट शिक्षकतर्फ नेपाल प्रहरी स्कुल साँगा काभ्रेका शिक्षक भरत सिग्देल, ६८औं प्रहरी दिवस २०८० का अवसरमा सर्वोत्कृष्ट प्रहरी नारा ‘गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा’ परिकल्पना गर्नुहुने प्रहरी सहायक निरीक्षक अमृत राना, ६८औं प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाल प्रहरीद्वारा आयोजना गरिएको चित्रकला प्रतियोगितामा विजयी हुने नारायणी मोडेल सेकेन्डरी स्कुल, भरतपुर महानगरपालिका-१० की कक्षा ९ मा अध्ययनरत छात्रा सृष्टि श्रेष्ठ र निबन्ध प्रतियोगितामा विजयी हुने सेन्ट जेभियर्स स्कुलकी कक्षा १० की छात्रा अनुष्का पाण्डेयलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । सोही अवसरमा अनुष्का पाण्डेयले पुरस्कृत निबन्ध वाचन गर्नु भएको थियो भने सृष्टि श्रेष्ठको चित्रकला प्रदर्शन गरिएको थियो ।     यसैगरी प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुर्‍याउने अवकास प्राप्त प्रहरी उपरीक्षक ध्रुवरत्न हाडा, अवकास प्राप्त प्रहरी निरीक्षक श्याने राना र विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको समयमा र डेङ्गु नियन्त्रणको लागि नेपाल प्रहरीलाई स्वास्थ्य सुरक्षाको सामग्री उपलब्ध गराई सहयोग गर्ने समाजसेवी रमेश केसीलाई सम्मानपत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने उदयपुर बेलका नगरपालिकाका धनराज दाहाललाई कदरपत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने अन्य ३८ जनालाई सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरूबाट कदरपत्र प्रदान गरिने छ ।  प्रहरी महानिरीक्षक कुँवरले उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी जवान प्रकाश साउद, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेल, उत्कृष्ट बाह्य प्रशिक्षक प्रहरी नायव निरीक्षक रेशम बहादुर बानिया, प्रहरी जवान सरिता थारू, सपोर्ट समूह प्राविधिकतर्फका प्रहरी निरीक्षक भक्त क्षेत्री र उत्कृष्ट खेलाडीतर्फ प्रहरी प्रहरी जवान विशाल सिंह विष्ट र प्रहरी कार्यालय सहयोगी सागर भण्डारीलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । साथै नेपाल प्रहरी स्मारक गुठिका ९ जना आजीवन सदस्यहरूलाई उहाँले कदरपत्र प्रदान  गर्नुभयो ।    यसैगरी उहाँले सम्माननीय राष्ट्रपतिज्यूबाट वि.सं. २०७९ को संविधान दिवसको अवसरमा प्रहरी कर्मचारीहरूलाई प्रदान गरिएको नेपाल प्रताप सुभूषण २० जना, नेपाल प्रताप आभूषण १२ जना, नेपाल प्रताप भूषण ५ जना, सौर्य पदक १ जना र विरता पदक १ जनालाई प्रदान गर्नुभयो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनलाई निःस्वार्थ सहयोग पुर्‍याउनु भई सम्मानित हुनु भएका महानुभावहरू, पुरस्कार विजेता विद्यार्थीहरू, प्रहरी दिवसका अवसरमा आयोजित विविध विधामा पुरस्कृत हुनुभएका एवं सर्वोत्कृष्ट कार्य सम्पादन गरी पुरस्कृत हुनुभएका प्रहरी कर्मचारीहरूमा हार्दिक बधाई ज्ञापन गर्नुभयो । पदीय जिम्मेवारी निर्वाहका क्रममा उच्च व्यावसायिकता प्रदर्शन गरी उत्कृष्ट कार्य सम्पादन गर्नुभएका प्रहरी अधिकृत तथा जवानहरूले आगामी दिनमा समेत गुणस्तरको कार्य सम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । संगठनले सुम्पेको जिम्मेवारी निर्वाहमा प्रदर्शन गरेको इमानदारी, लगनशीलता र प्राप्त परिणामको उच्च मूल्याङ्कन भएको उल्लेख गर्दै पुरस्कृत हुने प्रहरी कर्मचारीहरूबाट प्रदर्शन भएको जिम्मेवारीबोध, व्यावसायिक निष्ठा र कुशलताबाट अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनले प्रचलित कानूनको कार्यान्वयन तथा मानव अधिकारको संरक्षण र सम्बर्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै कर्तव्यपालनाको क्रममा सम्पूर्ण प्रहरी कर्मचारीहरू त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो । प्रहरी संगठनबाट प्रदान गरिने सेवाहरू जनमुखी, पारदर्शी, स्वच्छ, छिटो छरितो, प्रभावकारी र नागरिक एवं सेवाग्राही स्वीकार्य ढंगबाट उपलब्ध गराउन सकेमा मात्र प्रहरीप्रतिको जनविश्वासमा अभिवृद्धि हुने चर्चा गर्दै उहाँले भन्नुभयो, ‘क्षणिक लाभ हानी, व्यक्तिगत सफलता असफलताको संकिर्णता कार्यसम्पादनको गुणस्तरको परम शत्रु हुन तसर्थ यी भन्दा माथि उठेर सामूहिक रूपमा एकसाथ उभिई व्यावसायिक निष्ठाकासाथ अविचलित रही राज्यप्रतिको सेवाभावको मनोवृतिगत रूपान्तरण अहिलेको टड्कारो आवश्यक्ता हो ।’ नेपाल प्रहरीलाई थप सुदृढ सबल र सक्षम बनाउनका लागि पद्धति र प्रणाली महत्वपूर्ण रहेकोले सबैको सकारात्मक सहयोग र साथ आवश्यक रहेको उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।   

नेपाल प्रहरीको भूमिका र कर्तव्यवोधले मात्र समग्र मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिने - उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ
२०८०-०६-२९

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरूरी रहेको उल्लेख गर्दै मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यवोधले मात्र समग्र मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिने बताउनुभएको छ ।  ६८औं प्रहरी दिवसको अवसरमा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।  सो अवसरमा गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका परिवारहरुलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले प्रहरी दिवस २०८० स्मारिका र नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण पुस्तिका लोकार्पण समेत गर्नुभयो ।  समारोहलाई सम्बोधनको क्रममा गृहमन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सुनिश्चित गर्न चाडपर्व लगायत आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाँती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरी कर्मचारीहरुको समर्पणभाव हरेक पुस्ता र पिंढीका लागि प्रेरणाको श्रोतको रूपमा रहने उल्लेख गर्नुभयो । साधन स्रोतको अभावमा पनि राज्यले सुम्पेको जिम्मेवारीलाई नेपाल प्रहरीले निष्ठापूर्वक तथा प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्दै आएको उहाँले बताउनुभयो । आमनागरिक र राज्यले सामना गरेको हरेक विषम परिस्थितिलाई निस्तेज तुल्याउन नेपाल प्रहरीका प्रत्येक सदस्यहरूले पेशागत कर्तव्यपरायणतामा उच्च मनोबलका साथ खटिदै आएको उहाँले चर्चा गर्नुभयो ।  गृहमन्त्री श्रेष्ठले नविनतम आविष्कार र नयाँ प्रविधिको कारण बढ्दै गएका अपराधका नयाँ शैलीविरूद्ध तदारूकता बढाउँदै वर्तमान र भविष्यमा हुने सक्ने अपराधहरूको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने गरी नेपाल प्रहरी हरदम तयारी रहनुपर्ने उल्लेख गर्नुभयो । निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनुको साथै राज्यमा दण्डहिनताको अन्त्य हुने बताउँदै गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन र कुनै स्वार्थ तथा शक्तिको प्रभाव वा दबाबमा नपरी निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो पूर्ण विश्वास रहेको छ ।”  प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी परिवारलाई शुभकामना दिँदै गृहमन्त्री श्रेष्ठले शहादत प्राप्त अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरुप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते भएका प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । साथै नेपाल प्रहरीको नि:स्वार्थ सेवा र अटल समर्पण भावलाई अँगाल्दै देश र नागरिक सुरक्षाका क्रममा शहादत प्राप्त अमर प्रहरीका परिवारजनको पीडाका क्षणमा नेपाल सरकार सदैव साथमा रहेको उहाँले बताउनुभयो । सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले अमर प्रहरीका परिवारहरुलाई सद्‍भाव सहयोग प्रदान गर्नुभयो ।   समारोहमा विशिष्ट अतिथि पूर्व सभासद एवं अवकास प्राप्त प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह, गृहसचिव दिनेश भट्टराई, अवकास प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, अमर प्रहरीका परिवारहरु, अन्य बिशिष्ट अतिथि महानुभावहरु, वरिष्ठ प्रहरी अधिकृतहरु एवं उपस्थित प्रहरी अधिकृत तथा जवानहरुले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो ।  समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नागरिकमैत्री प्रहरीको रूपमा सांगठनिक छवि उजागरमा केन्द्रीत रहन नेपाल प्रहरीका सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल सरकारको कार्य प्राथमिकतामा अटल र अविचलति रहन निर्देशन दिनुभयो । नागरिकमैत्री प्रहरीका रूपमा पारदर्शी, जबाफदेही, सेवाग्राही र नागरिक स्वीकार्य, मानव अधिकारको संरक्षण र सम्मानको कसीमा प्रहरीका काम कारवाहीहरू उत्कृष्ट हुने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल अभिवृद्धि मार्फत प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढीकरण र शुद्धीकरणको लक्ष्य सहित “नेपाल प्रहरी कार्ययोजना,२०८०”  तर्जुमा गरी लक्षित वर्ग केन्द्रित कल्याणकारी योजना विकास गर्ने, प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल वृद्धि हुने क्रियाकलाप सञ्चालन गर्ने, नव प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका उच्च प्राथमिकतायुक्त कार्यक्रमहरू कार्यान्वयनको लागि कार्ययोजना अगाडि बढाइएको र उक्त लक्ष्य पूरा गर्न तालुक मन्त्रालय र अन्य सरोकारवाला निकायको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । 

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट कदरपत्र तथा पुरस्कार वितरण
२०७९-०६-३१

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले ६७औं प्रहरी दिवस २०७९ का अवसरमा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई कदरपत्र तथा पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा योगदान पुर्‍याएबापत प्रहरी नायव उपरीक्षक अनिल कुमार घिमिरेलाई पूर्ण शान्ति पुरस्कार र साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत प्रहरी निरीक्षक दिपक थापालाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गर्नुभयो । सोही अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्यांङ्कन (Police Baton) २०७९ अन्तर्गत आ-आफ्नो विधामा उत्कुष्ट कार्य गर्ने नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन कोइराला, मधेश प्रदेश तालिम केन्द्र राजविराजका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र केसी, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुरका प्रहरी उपरीक्षक रन्जित सिंह राठौर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापा, जिल्ला प्रहरी कार्यालय ईलामका प्रहरी उपरीक्षक दिलिप घिमिरे, प्रहरी वृत्त महाराजगंजका प्रहरी नायव उपरीक्षक अंगुर जिसी, ईलाका प्रहरी कार्यालय दुहवी सुनसरीका प्रहरी निरीक्षक जयदेव माझी, प्रहरी प्रभाग सानेपाका प्रहरी निरीक्षक उमेश गुरूङ श्रेष्ठ र प्रहरी चौकी चौघडा मकवानपुरका प्रहरी नायव निरीक्षक रामशरण दुलाललाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गर्नुभयो ।   प्रहरी महानिरीक्षक सिंहले उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवर र प्रहरी नायव निरीक्षक मदन राज स्याङ्बो, उत्कृष्ट ट्राफिक व्यवस्थापनतर्फ प्रहरी निरीक्षक नरेश शाही, उत्कृष्ट विपद् उद्दारक प्रहरी नायव निरीक्षक सूर्य सिंह थापा, सपोर्टिभ समूह (प्राविधिक)तर्फ प्रहरी उपरीक्षक पुस्कर राज भट्ट, प्रहरी निरीक्षक सर्मिला भट्ट, प्रहरी वरिष्ठ नायव निरीक्षक कृष्ण बानियाँ, प्रहरी नायव निरीक्षक मणी भुषण कुमार झा, प्रहरी नायव निरीक्षक कोपिला केसी, प्रहरी हवल्दार राम बहादुर गुरूङ, प्रहरी हवल्दार तुलाराज मुक्तान, प्रहरी हवल्दार बिश्णु सुवाल र प्रहरी कार्यालय सहयोगी बालकुमारी पुनलाई कदरपत्र एवम् पुरस्कार प्रदान गर्नुभयो ।  यसैगरी जोखिमपूर्ण कार्यतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी वरिष्ठ हवल्दार श्यामकान्त श्रीवास्तव, उत्कृष्ट खेल प्रशिक्षक तथा खेलाडीतर्फ प्रहरी सहायक हवल्दार राकेश महर्जन, प्रहरी जवान कमला पुन, प्रहरी जवान चन्द्रकला लामगादे र नेपाल प्रहरी पुरूष क्रिकेट टिमका खेलाडी दिपेन्द्र सिंह ऐरी, उत्कृष्ट आन्तरिक तथा बाह्‍य प्रशिक्षकतर्फ प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्का र प्रहरी हवल्दार महेन्द्र खत्री क्षेत्री र उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक किरण तामाङलाई कदरपत्र एवम् पुरस्कार प्रदान गर्नुभयो ।  यसैगरी प्रहरी महानिरीक्षक सिंहले प्रहरी द्वैमासिक पत्रिकामा गत १ वर्षभित्र प्रकाशित लेख रचनामध्ये प्रहरीतर्फ प्रहरी नायव उपरीक्षक भोजराज पाण्डे र सर्वसाधारणतर्फ काठमाडौं चाबहिलका अच्युत प्रसाद पौडेल चिन्तनलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने १५ जना जग्गादाताहरु र नेपाल प्रहरी स्मारक गुठिका १२ जना  आजिवन सदस्यहरूलाई कदरपत्र प्रदान गर्नुभयो ।    यसैगरी नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुर्‍याएबापत राष्ट्रिय बाणिज्य बैंक लिमिटेड सिंहदरवार, नेपाल टेलिकम केन्द्रीय कार्यालय, एनसिएल अक्षता लिमिटेडका प्रतिनिधिहरू, केल्ली स्पोर्टस प्रालिका मेनेजिङ डाईरेक्टर उत्तम न्यौपाने, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजका मेडिकल डाईरेक्टर डा.रोमन किदवाई, जनकपुर उपमहानगरपालिका-८ बाल्मिकिनगरका अमर चन्द्र अनिललाई प्रशंसापत्र प्रदान गर्नुभयो । उहाँले सम्माननीय राष्ट्रपति ज्यूबाट वि.सं. २०७७ र २०७८ को संविधान दिवसको अवसरमा प्रहरी कर्मचारीहरूलाई प्रदान गरिएको नेपाल प्रताप सुभूषण ३७ जना, नेपाल प्रताप आभूषण २५ जना, नेपाल प्रताप भूषण २० जना, राष्ट्र सेवा पदक प्रथम श्रेणी १ जना र विरता पद २ जनालाई प्रदान गर्नुभयो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक सिंहले पुरस्कृत हुनु विशुद्ध निष्ठा र कर्तव्यपरायणताको मूल्याङ्कन भएकोले आगामी दिनहरूमा अझै बढी लगनशील र कर्तव्यनिष्ठ भई अनुकरणीय कार्यसम्पादन हुनुपर्ने बताउनुभयो । पुरस्कार प्रोत्साहन भएको र पुरस्कृत नहुँदैमा बिचलित हुन नहुने बताउँदै प्रहरी महानिरीक्षक सिंहले संगठनको गरिमा उचो बनाउन व्यावसायिक निष्ठा प्रदर्शन गर्नुहुने अन्य उत्कृष्ट प्रहरी कर्मचारीहरूले कर्तव्यपालनामा तल्लीन र धैर्यता राखेमा भविष्यमा पुरस्कृत हुने अवसर पाउने बताउनुभयो । प्रहरीलाई शान्ति-सुरक्षा र सुव्यवस्था कायम गर्ने क्रममा विभिन्न विधामा सहयोग गरी समग्र संगठनलाई गुन लगाउनु भएका सहयोगीजनप्रति कृतज्ञता व्यक्त गर्दै ती सहयोगबाट नेपाल प्रहरीलाई आफ्नो लक्ष्य प्राप्ती गर्न ठूलो सहयोग पुगेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक सिंहले आम सर्वसाधारणको प्रहरीप्रति सहयोग र विश्वास हुनुपर्ने उल्लेख गर्नुहुँदै प्रहरी कर्मचारीमा भएको असल चरित्रहरूलाई अझ प्रगाढ बनाउन संगठन सदैव प्रयासरत रहेको उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।   

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा ६७औं प्रहरी दिवस २०७९ सम्पन्न
२०७९-०६-३१

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित विशेष समारोहबीच ६७औं प्रहरी दिवस २०७९ सम्पन्न भएको छ ।  प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभयो । विशेष समारोहमा प्रधानमन्त्री देउवाले ‍अवकास प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र बहादुर सिंहलाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका परिवारहरुलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले “प्रहरी दर्पण २०७९” को लोकार्पण समेत गर्नुभयो ।  समारोहमा प्रधानमन्त्री देउवाले अर्घाखाँची सन्धिखर्क नगरपालिका-२ का अमर प्रहरी हवल्दार हेमन्त बहादुर जिसीको छोरी रञ्जु जिसी र दाङ घोराही उपमहानगरपालिका-१५ का अमर प्रहरी जवान निमशरण थापाको छोरा सन्दिप थापालाई अच्युत-मिना अमर प्रहरी परिवार पुरस्कार छात्रवृत्ती प्रदान गर्नुभयो । साथै उहाँले अपराध अनुसन्धानको क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा कार्यरत प्रहरी उपरीक्षक सन्तोष खड्कालाई मोतिलाल बोहोरा सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार प्रदान गर्नुभयो ।  समारोहमा प्रधानमन्त्री देउवाले नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन (Police Baton) २०७९ अन्तर्गत अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन (Police Baton) २०७९ तर्फ सर्वोत्कृष्ट हुन सफल १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई प्रहरी व्याटन प्रदान गर्नुभयो ।  विशेष समारोहलाई सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले स्थापना काल देखि विभिन्न आरोह-अवरोहबीच शान्ति, सुरक्षा र सुव्यवस्था कायम गरी राष्ट्र र नागरिक सेवामा कटिवद्ध नेपाल प्रहरीको योगदान अत्यन्त उल्लेखनीय रहेको बताउनुभयो । आपत-विपत् परेका, निर्वल, अशक्त, असहाय, जोखिममा परेका, अपराधबाट पीडित व्यक्तिहरूको साथी नेपाल प्रहरी भएकोले समस्त नागरिकको विश्वास र भरोसाको केन्द्र बनि गौरवमय र महत्वपूर्ण कार्यसम्पादन गर्न निर्देशन दिँदै प्राकृतिक तथा मानव सिर्जित विपद्हरूमा नागरिक सेवामा पहिलो पङ्क्तिमा रहेर प्रहरीले हालसम्म निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । अपराध नियन्त्रण र अनुसन्धान प्रहरीको मूल दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रहरीले आफ्नो मूल दायित्व ईमानदारिपूर्वक बहन गरेमात्र देशको शान्ति सुरक्षा मजबुत हुन जान्छ ।” निष्ठावान एवं पूर्ण व्यावसायिक भई प्रचलित कानुनबमोजिम कसैको दबाब र प्रभावमा नपरी प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्न उहाँले निर्देशन दिनुभयो । नेपाल प्रहरीले देश भित्र र बाहिर समेत कार्यसम्पादनमा हालसम्म प्रदर्शन गर्दै आएको उच्च व्यावसायिकताकले नै नेपाल प्रहरीको क्षमताको अन्तर्राष्ट्रियस्तमा समेत प्रशंसा हुँदै आएको चर्चा गर्दै संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा नेपाल प्रहरीको सहभागितालाई अझ बढावा दिन नेपाल सरकार सकारात्मक रहेको बताउनुभयो । विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको वर्तमान अवस्थामा अपराधका नयाँ प्रवृत्ति र शैलिहरुविरूद्ध लड्न प्रविधिको माध्यमबाट प्रहरीलाई आधुनिकरण गर्ने कार्यलाई नेपाल सरकारले सदैव प्राथमिकतामा राखेको बताउनुभयो । प्रहरी दिवसको अवसरमा समस्त प्रहरी कर्मचारी तथा सेवा निवृत्त प्रहरी कर्मचारीहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री देउवाले शहादत प्राप्त शहीद, अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरु प्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते भएका प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै उनीहरूको योगदान र निष्ठाको नेपाल सरकारले उच्च मूल्याङ्कन गर्ने बताउनुभयो ।  समारोहमा विशेष अतिथि गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी नागरिकको जीवन रक्षाको साथै शान्ति सुरक्षा सुव्यवस्था वहाल गर्न, देशमा अमन चयन कायम गर्न, संविधानको रक्षा र विधिको शासनको पालना गराउन अंग्रपक्तिमा रहेर कर्तव्य निष्ठ रहदै आएको चर्चा गर्नुभयो । बाढी, पहिरो तथा प्राकृतिक विपद्‌ तथा कोभिड-१९ को महामारीको समयमा उद्दार, राहत र व्यवस्थापनका लागि अग्रपंक्तिमा रही नेपाल प्रहरीले आम नागरिकको जीवन रक्षाका लागि निर्वाह गरेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुहुँदै गृहमन्त्री खाणले आगामी दिनमा नेपाल सरकार अझै प्रहरीमैत्री हुने र सम्पूर्ण प्रहरी कर्मचारीको मनोवल विकासका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।  प्रहरीको व्यावसायिकता अभिवृद्धि गरी अपराध नियन्त्रण र अनुसन्धान एवम्  शान्ति सु-व्यवस्था मार्फत् जनतालाई सरल र सहज सेवा पुर्‍याउने सुनिश्चितताका लागि नेपाल प्रहरीलाई समयसापेक्ष प्रविधिमैत्री र साधनस्रोत सम्पन्न बनाई नयाँ चुनौतीको सामान गर्न सक्षम बनाउन नेपाल सरकार र गृह मन्त्रालय सदैव तत्पर रहेको उल्लेख गर्नुभयो ।  उहाँले राज्यले सुम्पिएको दायित्व निर्वाह गर्ने क्रममा आफ्नो प्राण उत्सर्ग गर्ने अमर तथा वीर प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कर्तव्यपालनका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।   उक्त अवसरमा गृहमन्त्री बालकृष्ण खाण, महान्यायाधिवक्ता, मुख्य सचिव, प्रधान सेनापति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरु, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, निजामती सेवा तथा सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरु, अमर प्रहरीका परिवारहरु, अन्य बिशिष्ट अतिथि महानुभावहरु, वरिष्ठ प्रहरी अधिकृतहरु एवं उपस्थित प्रहरी अधिकृत तथा जवानहरुले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो ।  समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्र र नागरिकको सेवा गर्दाकै बखत वीरगति प्राप्त अमर प्रहरीहरूको अभाव संगठनले सदैव महसुस गर्ने बताउनुभयो । अच्युतमिना छात्रवृत्ती एवम् मोतिलाल बोहोरा सर्वोत्कृष्ट अनुसन्धान पुरस्कार कोष गठन गरी प्रहरी कर्मचारीको मनोवल अभिवृद्धि र अमर प्रहरी परिवारको कल्याणको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी संगठनको श्रीवृद्धिमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरूको साथ र सहयोग निरन्तर प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।  प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरूमा उच्च मनोवलको वृद्धि गर्न वृत्ति विकास एवम् सुविधा अभिवृद्धिमा संगठनको प्राथमिकतामा रहेको बताउनुभयो । प्रहरी सेवा प्रवाह थप सशक्त र उपलव्धिमूलक बनाउने उद्देश्यले प्रहरी कर्माचारीको मनोवल तथा कार्य प्रवाह सुदृढीकरणका लागि उच्च प्राथमिकतायुक्त क्षेत्रहरु पहिचान मार्फत् ८ वटा लक्ष्य राखि नेपाल प्रहरीको कार्य योजना-२०७९ लागू गरिएको उहाँले बताउनुभयो । संयुक्त राष्ट्रसंघीय मिसनमा गत ४ वर्षदेखि रोकिएको नेपाल प्रहरीको एफपीयूको पुन: सहभागिता सम्बन्धि तयारीलाई नेपाल प्रहरीले तिव्रता दिएको बताउँदै  इन्टरनेस्नल एक्सपोजरबाट संगठनको व्यावसायिकीकरण अभिवृद्धिमा थप योगदान पुग्ने उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले आगामी मंसिर ४ मा सम्पन्न हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन उच्च मनोवलका साथ स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण प्रहरी कर्मचारी कटिवद्ध रहको बताउनुभयो । संगठनलाई स्रोत साधनयुक्त बनाई गतिशिल बनाउन र संगठनले गरेको सत्प्रयासलाई सार्थक तुल्याउन तालुक गृह मन्त्रालयबाट निर्देशन र सहयोग सदैव प्राप्त भईरहनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।  समारोहमा ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ २०७९ द्वारा सम्मानित प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र बहादुर सिंहले अवार्डका निमित्त सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै आफूले पाएको अवार्ड विभिन्न समय र परिस्थितीमा नेपालको संविधान, ऐन, कानुन र नेपालीको सुरक्षाको लागि आफ्नो प्राणको आहुती दिने वीर सहिद, आफ्नो कर्तव्य क्षेत्रमा काम गर्दा साथ, सहयोग र निर्देशन दिनुहुने अग्रज र सहकर्मीहरूमा समर्पण गर्न चाहेको बताउनुभयो ।   समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कृतज्ञताको चिनो समेत प्रदान  गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहले अमर प्रहरीका परिवारहरुलाई सद्‍भाव सहयोग प्रदान गर्नुभयो ।   उक्त विशेष समारोह पश्चात प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व प्रहरी महानिरीक्षकहरु लगायत पूर्व वरिष्ठ प्रहरी अधिकृतहरुबीच पुनर्मिलन कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ २०७९ द्वारा सम्मानित प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र बहादुर सिंहको बारेमा तयार पारिएको संक्षिप्त वृत्तचित्र प्रस्तुत गरिएको थियो । साथै उक्त कार्यक्रममा नेपाल प्रहरीका कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुती समेत दिनुभएको थियो । ६७औं प्रहरी दिवस २०७९ सबै प्रदेश प्रहरी कार्यालयहरु तथा मातहत समेतमा विविध कार्यक्रमहरुका साथ मनाइएको   छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट कदरपत्र तथा पुरस्कार वितरण
२०७८-०६-२०

काठमाडौं,  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औं प्रहरी दिवस २०७८ का अवसरमा बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरु एवम् उत्कृष्ट लेखकहरुलाई कदरपत्र तथा पुरस्कार वितरण गर्नुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा जोखिमपूर्ण कार्य गरेबापत प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलाई पूर्ण शान्ति पुरस्कार २०७८ र साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत प्रहरी नायव निरीक्षक सुमेश पाण्डेलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गर्नुभयो ।सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सर्वोत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ्‍ग, उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायव उपरीक्षक फनिन्द्र प्रसाई, प्रहरी निरीक्षक मणिराम थापा, प्रहरी नायव निरीक्षकद्वय सन्तोष थापा मगर र कृष्ण राज सेढाई, उत्कृष्ट अनुसन्धानकर्ता सोकोतर्फ प्रहरी सहायक निरीक्षक मच्छेन्द्र नाथ, उत्कृष्ट व्यवस्थापकीय कार्य गर्ने प्रहरी नायव उपरीक्षक जनक बहादुर शाही, उत्कृष्ट ट्राफिक व्यवस्थापनतर्फ प्रहरी निरीक्षक सुनिल कार्की, उत्कृष्ट विपद् उद्दारक प्रहरी जवान संजिव कुमार साह, सपोर्ट समूह (प्राविधिक)तर्फ प्रहरी नायव उपरीक्षक उदयजङ्ग बहादुर राणा, प्रहरी निरीक्षक ई.चिरञ्जिवि प्रताप महतो, प्रहरी नायव निरीक्षकहरू शान्ति शाक्य, रमण बहादुर पल्ली मगर, सन्तोष लामा, प्रहरी हवल्दारहरू राजन भण्डारी, पूर्ण बहादुर खत्री र पुरुषोत्तम माझीलाई कदरपत्र एवम् नगद पुरस्कार प्रदान गर्नुभयो । यसैगरी जोखिमपूर्ण कार्य गर्ने प्रहरी नायव उपरीक्षक डा. जयन्ति ढुङ्गाना, प्राविधिक प्रहरी निरीक्षक निरुषा महर्जन, प्रहरी कार्यालय सहयोगीद्वय सर्मिला भुलेज र सुरज देउला, उत्कृष्ट खेलाडी तथा खेल प्रशिक्षकतर्फ प्रहरी नायव निरीक्षक केदार बहादुर सिङ्खडा, प्रहरी जवानहरू कुशल भुर्तेल, सुशिला थापा, रोशन कार्की र निरु थापा, उत्कृष्ट आन्तरिक तथा बाह्‍य प्रशिक्षकतर्फ प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, प्रहरी जवानद्वय सम्झना रायमाझी तथा बिमला चौधरी र पुरस्कार पाउने अन्य प्रहरी कर्मचारीतर्फ प्रहरी नायव निरीक्षक नविन कुमार गिरी तथा प्रहरी कार्यालय सहयोगी निराजन श्रेष्ठलाई कदरपत्र एवम् नगद पुरस्कार प्रदान गर्नुभयो । यसैगरी प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समुदाय-प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउने स्थानीय तह अन्तर्गत काठमाडौं महानगरपालिका, संघ संस्थातर्फ नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन, एपी १ टेलिभिजन,  टुडालदेवी जेष्ठ नागरिक समिति, भक्तपुर उद्योग वाणिज्य संघ, शैक्षिक संस्थातर्फ सारदा मावि भक्तपुर नगरपालिका-२, ईन्द्रेश्वरी मावि सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११, संस्थागततर्फ आसरा सुधार केन्द्र रानीबारी काठमाडौं, फ्रिडम किड व्याग सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-५ लाई कदरपत्र प्रदान गर्नुभयो । यसैगरी प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी द्वैमासिक पत्रिकामा २०७७ मा प्रकाशित लेख रचनामध्ये प्रहरीतर्फ प्रहरी निरीक्षक घन बहादुर थापा र सर्वसाधारणतर्फ काठमाडौं बबरमहलका गम्भीर बहादुर हाडालाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो भने नेपाल प्रहरीका अवकाश प्राप्त जेष्ठ सदस्यहरूलाई सम्मानपत्र प्रदान गर्नुभयो । यसैगरी जग्गादाताहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ नारायणस्थानका दिर्ग कुमारी खतिवडा, नुवाकोट पञ्चकन्या गाउँपालिका, कारागार सुरक्षा गार्ड नुवाकोट, नुवाकोट किस्पाङ गाउँपालिका-५ का वीरेन्द्र बहादुर गुरुङ, बिष्णु घले, जितेन्द्र तामाङ मोक्तान, नुवाकोट साबिक दानसिङ गाविस-५ हाल तारकेश्वर गाउँपालिका-१ का मान बहादुर तामाङ, सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका, सिन्धुपाल्चोक जगल गाउँपालिका-५ का वीर बहादुर श्रेष्ठ, खड्क बहादुर श्रेष्ठ, मधुकर श्रेष्ठ, हस्त बहादुर श्रेष्ठ, काभ्रे मण्डनदेउपुर नगरपालिका, काभ्रे रोशी गाउँपालिका-७ का मान कुमारी गौतम र शिवनारायण श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्नुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले ६६ औं प्रहरी दिवसको उपलक्ष्यमा नेपाल प्रहरी बिद्यालय साँगा काभ्रेद्वारा आयोजित राष्ट्रव्यापी चित्रकला प्रतियोगितातर्फ प्रथम स्थान हासिल गर्ने रिपुमर्दनी सैनिक सेकेन्डरी स्कुल काठमाडौंकी ईन्दिरा थापा, द्वितिय स्थान हासिल गर्ने काठमाडौं युनिभर्सिटी हाईस्कुल काभ्रेका प्रशान्त मकाजु श्रेष्ठ र तृतीय स्थान हासिल गर्ने जेन्युन सेकेन्डरी स्कूल भक्तपुरका सुबिज्ञा प्रधानलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । त्यसैगरी समाजसेवी महालक्ष्मी नगरपालिका-५ टिकाथलीका पूर्व प्रहरी नायव महानिरीक्षक गणेश केसी, काठमाडौं महानगरपालिका-१० दयावती रावल तथा प्रहरी कार्य तथा अनुसन्धान कार्यमा सहयोग गर्ने १२  जनालाई कदरपत्र प्रदान गर्नुभयो । सम्मानीय राष्ट्रपतिज्यूबाट २०७६ साल संविधान दिवसका दिन घोषितमध्ये ४५ जना प्रहरी कर्मचारीहरु तथा २ जना पूर्व प्रहरी कर्मचारीहरुलाई अलंकार तथा पदकहरु प्रदान गर्नुभयो । कार्यक्रममा सफल अनुसन्धान, अभिभावकत्व, आत्महत्या, घरेलु हिंसा, जबरजस्ती करणी, बालबालिका हराएमा वा भेटिएमा, सवारी दुर्घटना तथा साइबर क्राइम सम्बन्धी जनचेतनामूलक सन्देश सहितको Public Service Announcement (PSA) मध्ये एक प्रतिनिधिमूलक भिडियो प्रसारण गरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले PSA को शुभारम्भ समेत गर्नुभयो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पुरस्कृत हुनु कर्मको फल भएको र पुरस्कार नपाउने पनि कर्मयोगी नै हुने बताउनुभयो । पुरस्कार प्राप्त गर्नेले प्राप्त पुरस्कारको लाज राख्न आगामी दिनहरूमा अझ उत्साही भई कार्यसम्पादन गर्नुपर्ने र पुरस्कार प्राप्त नगरेका अन्य कर्मचारीहरुले आगामी दिनमा पुरस्कार पाउने दृढ विश्वास एवं उच्च मनोवलका साथ कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सुरक्षा संयुक्त जिम्मेवारीको विषय भएकोले आम सर्वसाधारणको प्रहरीप्रति सहयोग र विश्वास हुनुपर्ने उल्लेख गर्नुहुँदै स्थानीय तहसँग बढी विस्तारित भएको प्रहरीले त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो । प्रहरी कर्मचारीमा भएको असल चरित्रहरूलाई अझ प्रगाढ बनाउन संगठन सदैव प्रयासरत रहेको उहाँले चर्चा गर्नुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।