प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ईलाका प्रहरी कार्यालय चोप्राङ र बेथानको नवनिर्मित भवन उद्‍घाटन

२०८०-०७-२१

  • A
  • A-
  • A+
Share

रामेछाप, ईलाका प्रहरी कार्यालय चोप्राङ र ईलाका प्रहरी कार्यालय बेथान रामेछापको नवनिर्मित कार्यालय तथा व्यारेक भवनहरू उद्‍घाटन भएको छ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले सोमबार आयोजित कार्यक्रमबीच दुवै भवनहरूको उद्‌घाटन गर्नुभएको हो । 

बागमती प्रदेश सरकारको बजेटबाट उक्त नवनिर्मित ईलाका प्रहरी कार्यालय चोप्राङ र ईलाका प्रहरी कार्यालय बेथान रामेछापको कार्यालय तथा व्यारेक भवनहरूको निर्माण सम्पन्न भएको हो । 

उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समिति रामेछापका उप-प्रमुख, खाँडादेवी र सूनापाती गाउँपालिकाका अध्यक्षहरू, बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख लगायतको उपस्थिति रहेको थियो । 


सम्बन्धित समाचार
पोखरातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३३ जना घाइते
२०८०-०८-१३

तनहुँ, ब्यास नगरपालिका-१२ घाँसीकुवामा बुधबार बिहान बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ३३ जना घाइते भएका छन् । मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।मृत्यु हुनेहरूमा धनकुटा सागुरीगढी गाउँपालिका-९ बस्ने ४५ वर्षीय हस्त राई र  अन्दाजी ५५ वर्षीय पुरूष रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र पुरूषको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  अन्य घाइतेमध्ये ५ जनाको दमौली अस्पताल र १९ जनाको रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने ९ जनालाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । १ जना घाइते उपचार पश्चात डिस्चार्ज भएका छन् ।  दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

मानवसेवा आश्रममा आश्रित परिवारलाई न्यानो कपडा बितरण
२०८०-०७-२२

मोरङ, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले बिराटनगर महानगरपालिका-१० स्थित मानवसेवा आश्रममा आश्रित परिवारहरुलाई न्यानो कपडा बितरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोलाले बुधबार आयोजित कार्यक्रममा आश्रममा रहेका १० जना बालबालिकासहित ७० जनालाई न्यानो कपडा बितरण गर्नुभएको हो । जाडो मौसमलाई लक्षित गरी आश्रित परिवारलाई न्यानो कपडा बितरण गरिएको हो । सो अवसरमा संघकी प्रदेश अध्यक्ष बास्तोलाले आश्रमका महिलाहरुसँग कुराकानीसमेत गर्नुभएको थियो । सेवा नै धर्म हो भन्ने भावनाका साथ नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले मानव सेवा सम्बन्धी विभिन्न परोपकारी कार्यहरु निरन्तररुपमा संचालन गर्दै आइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

प्रहरी चौकी बरौला प्युठानलाई करिब ५ रोपनी जग्गा नि:शुल्क हस्तान्तरण
२०८०-०७-२१

प्युठान, ऐरावती गाउँपालिका-२ स्थित प्रहरी चौकी बरौला प्युठानको नाममा स्थानीय तीन जना जग्गादाताबाट नि:शुल्क प्राप्त ५ रोपनी ३ आना १ पैसा १ दाम जग्गा हस्तान्तरण गरिएको छ । ऐरावती गाउँपालिका-४ बस्ने ५४ वर्षीय रेशम बहादुर जिसीबाट २ रोपनी, ४७ वर्षीय दामोदर ज्ञवालीबाट २ रोपनी र ४६ वर्षीय दुर्गा बहादुर जिसीबाट १ रोपनी ३ आना १ पैसा १ दाम जग्गाको धनीपूर्जा जिल्ला प्रहरी कार्यालय प्युठानमा सोमबार आयोजित कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले समाजकै बिचमा प्रहरी कार्यालय रहेमा सेवा प्रवाहमा चुस्तता आउने धारणा व्यक्त गर्नुभयो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले प्रहरी चौकीलाई जग्गा प्रदान गरेकोमा जग्गादाता र परिवारजनलाई धन्यवाद ब्यक्त गर्नुका साथै खादा ओढाई सम्मान गर्नुभएको थियो । साथै जग्गा दाताहरुको तर्फबाट दुर्गा बहादुर जिसीले समुदाय र प्रहरीको सम्बन्ध प्रगाढ बनाउन जग्गा दान गर्न उत्साहित भएको र यसबाट भावि सन्ततिहरु समेत लाभान्वित हुने अपेक्षा ब्यक्त गर्नुभएको थियो ।  

गएराति गएको भूकम्पमा परी १ सय ४३ जनाको मृत्यु, १ सय ६६ जना घाइते
२०८०-०७-१८

काठमाडौं, जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा गरी हालसम्म १ सय ४३ जनाको मृत्यु भएको छ । भूकम्पमा परी जाजरकोटमा १ सय ५ जना र रूकुम पश्चिममा ३८ जनाको मृत्यु भएको हो ।साथै भूकम्पमा परी जाजरकोटमा ८१ जना, रूकुम पश्चिममा ७९ जना, दैलेखमा ३ जना र जुम्लामा ३ जना गरी १ सय ६६ जना घाइते भएका छन् । घाइतेहरूको भेरी अस्पताल नेपालगंज, कर्णाली प्रादेशिक अस्पताल सुर्खेत, स्थानीय अस्पताल तथा शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । भूकम्प प्रभावित क्षेत्रमा तत्काल जिल्ला प्रहरी कार्यालयहरू जाजरकोट र रुकुम पश्चिम, कर्णाली प्रदेश प्रहरी कार्यालय तथा गण सुर्खेत, चौरजहारी बेस क्याम्प, सल्यान र सुर्खेत समेतबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्दार कार्य गरिरहेको छ भने नेपाल प्रहरी अस्पतालबाट चिकित्सक प्रहरी नायव महानिरीक्षकको नेतृत्वमा स्वास्थ्यकर्मी टोली परिचालन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको मेडिकल टिम, सशस्त्र प्रहरी बल नेपाल समेतबाट खटिएको टोलीले आवश्यक उद्दार कार्य गरिरहेको छ । साथै भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक सहयोग वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ संस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नका साथै इन्टरनेट Scammer वा Exploiter हरूबाट सावधान रहन समेत सबैमा नेपाल प्रहरी अनुरोध गर्दछ ।       

प्राविधिक प्रहरीतर्फ नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८०-०७-१७

काठमाडौं, नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न जम्मा १ सय २८ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ ।नयाँ भर्नाका लागि दरखास्त आव्हानमध्ये ईन्जिनियरिङतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि ६ जना, प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि १८ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ३९ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो । यसैगरी स्वास्थ्यतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि २९ जना, प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि १७ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि १५ जना, केनाईनतर्फ प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ३ जना र हातहतियारतर्फ प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि १ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो । दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np बाट फारम भर्न सकिने छ । ईन्जिनियरिङतर्फ दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालय, सूचना प्रविधि निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय र सवारी महाशाखामा अनलाईन दरखास्त फारम भर्न सकिने छ । यसैगरी स्वास्थ्यतर्फ नेपाल प्रहरी अस्पताल महाराजगंज, केनाईनतर्फ नेपाल प्रहरी केनाईन कार्यालय सामाखुसी र हातहतियारतर्फ नेपाल प्रहरी प्रधान कार्यालय हातहतियार मर्मत शाखामा अनलाईन दरखास्त फारम भर्न सकिने छ । साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरूमा अनलाईन दरखास्त संकलन तथा दर्ता गर्न सकिने छ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म अनलाइन प्रणालीमार्फत कार्यालय समयभित्र दरखास्त फारम बुझाउन सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।