प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्राफिक प्रहरीद्वारा १८ ओटा दुईपाङग्रे सवारी साधन हस्तान्तरण

२०८०-०७-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, विभिन्न मितिमा हराएका १८ ओटा दुईपाङ्ग्रे सवारी साधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । सोही कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १२ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको बताउनुभयो । सवारी धनी स्वयम् पनि विशेष सजग हुनुको साथै सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, सुरक्षा साइरनहरू जडान लगायतका विभिन्न उपायहरू अवलम्वन गर्न उहाँले आग्रह गर्नुभयो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त ८ सय ३२ ओटा निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका १ सय ७७ मध्ये १ सय ३४ ओटा सवारी साधन चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाएको छ । चालु आर्थिक वर्षमै चोरीका ११ ओटा मोटरसाइकलसहित संलग्न १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी कार्यालयमा पठाएको छ । 

 साथै सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।  


सम्बन्धित समाचार
२९औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी २०८० उद्‍घाटन
२०८०-०८-२०

काभ्रेपलाञ्चोक, नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन हुने २९औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८० को प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीले बुधबार रेफ्रीलाई बल हस्तान्तरण गरी उद्‍घाटन गर्नुभयो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक चौधरीले खेलकुदले विद्यार्थीहरूमा सकारात्मक सम्बन्ध स्थापना गरी शारीरिक रूपमा तन्दुरुस्त एवं अध्ययनको दिनचर्यामा अनुशासन थप्दै शैक्षिक क्षेत्रमा राम्रो प्रर्दशन गर्न प्रेरित गर्ने बताउनुभयो । फुटबल नेपाल प्रहरीको पहिचान र इतिहाससँग जोडिएको उल्लेख गर्दै खेलकुदलाई पहिचान, गौरव र आवश्यकताको रुपमा विकास गर्दै लैजानु पर्नेमा उहाँले जोड दिनुभयो ।  सोही विद्यालयका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक निरन्जन दत्त भट्टले धन्यबाद ज्ञापन गर्नुभएको थियो । उद्‍घाटन कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुकासाथै प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरुले मार्च पास गरेका थिए ।  प्रतियोगिता अन्तर्गत आज भएको उद्‍घाटन खेलमा नेपाल पुलिस स्कुल साँगाको ए टीमले काठमाडौं युनिभर्सिटी हाईस्कुल धुलिखेललाई ५ का विरूद्ध ० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ए र बि टीम, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १६ विद्यालयका १७  टीमको सहभागिता रहेको छ ।  कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय तहका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुखहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अवधारण प्रहरीसँग विद्यार्थी कार्यक्रम सम्पन्न
२०८०-०८-१८

मोरङ, समुदाय-प्रहरी साझेदारी अवधारण अन्तर्गत ईलाका प्रहरी कार्यालय रंगेली मोरङमा ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रम  सोमबार सम्पन्न भएको छ । उक्त कार्यालयको आयोजना र मिनिलेण्ड अंग्रेजी माविको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।प्रहरी कार्यालयबाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच, प्रहरी र नागरिकबीच सुमधुर सम्बन्धको विकास, समुदाय-प्रहरी सम्बन्ध सुदृढिकरण गर्ने उद्देश्य अनुरूप लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सिलसिलामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । सो अवसरमा इलाका प्रहरी कार्यालय रंगेली परिसरभित्र विभिन्न जातको करिब १ सय वटा विरुवाहरु वृक्षारोपण गरिएको थियो भने कार्यालयको मानव मस्तिष्क आकारको पुस्तकालयमा विद्यालयकोतर्फबाट २५ थान जीवनपयोगी पुस्तकहरु थप गरिएको थियो । साथै उपस्थित शिक्षक तथा विद्यार्थीहरुलाई कार्यालय अवलोकन गराई लैंगिक हिंसा, जबरजस्ती करणी, बालयौन दुरुपयोग जस्ता समस्याहरुको विषयमा उजुरी दिने माध्यम, प्रक्रिया, कानुनी व्यवस्था बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।      

सेवा निवृत्त प्रहरी कर्मचारी लक्षित कार्यशाला गोष्ठी सम्पन्न
२०८०-०८-१८

प्युठान, जिल्ला प्रहरी कार्यालय प्युठानमा सेवा निवृत्त प्रहरी कर्मचारी लक्षित एक दिवसीय कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ । उक्त कार्यालय तथा मातहत समेतबाट आगामी १ वर्षभित्र सेवा निवृत्त भई अवकाशमा जाने कर्मचारीहरूको लागि व्यवसाय तथा उद्यम सम्बन्धी गोष्ठी आयोजना गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले अवकाश पछिका दिनहरूमा सकृय र स्वस्थ जीवन बिताउन गोष्ठीमा भएका छलफल र निष्कर्षले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । साथै राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय खलंगाका निमित्त प्रमुख दिल बहादुर चौधरीले अवकाश प्राप्त प्रहरी कर्मचारीलाई व्यापार व्यवसाय गर्दा राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराउने कर्जा र सेवाबारे जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला घरेलु तथा साना उद्योग कार्यालय प्युठानका प्रमुख सरोज भण्डारी, डिभिजन वन कार्यालय प्युठानका प्रतिनिधि तथा कर्मचारी मिलन केन्द्र प्युठानका अध्यक्ष हरि प्रसाद पौडेल, प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई प्युठानका कार्यालय प्रमुख चुमानसिंह गिरी, एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्युठानका कर्मचारी समेतले जानकारीमूलक प्रशिक्षण प्रदान गर्नुका साथै सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजना तथा कर्मचारी मिलन केन्द्र प्युठानको समन्वय र सहकार्यमा जिल्ला प्रहरी कार्यालय प्युठानको तालिम हलमा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको हो । 

४१औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता सम्पन्न
२०८०-०८-१५

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित ४१औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८० सम्पन्न भएको छ ।  कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक राईले प्रतियोगितामा बिजयी हुने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण-पत्र, रनिङ कप र नगद पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवम् म्याच रेफ्री, प्रायोजकहरू, सहभागी टिमहरु र अफिसियलहरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।सो अवसरमा निमित्त प्रहरी महानिरीक्षक राईले खेलाडीहरूबाट प्रदर्शन भएको अनुशासन, खेल कौशल र सामूहिक भावना नेपाल प्रहरीभित्रको भातृत्वभाव र स्व-अनुशासनको प्रतिविम्व भएको उल्लेख गर्दै खेलकुदले सिकाउने यस्ता व्यवसायिक  गुण र आचारणहरू आत्मसाथ गरी संगठनको वृहत्तर हित र संस्थागत विकासमा योगदान दिन उपस्थित प्रहरी कर्मचारीहरूलाई आग्रह गर्नुभयो । नेपाल प्रहरीमा खेलकुदलाई अझै सशक्त बनाउन नेपाल प्रहरी खेलकुद समितिबाट सम्भाव्यता खोजी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार तथा द्वितीय हुने टिमका खेलाडी तथा अफिसियलहरुलाई पदक, प्रमाणपत्र, चेक, नगद पुरस्कार र ट्रफी प्रदान गर्नुभयो । साथै उहाँले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संगठन र राष्ट्रको शिर उच्च बनाउन सफल खलेकुदको विकासका लागि नेपाल प्रहरीले पुर्‍याउँदै आएको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो ।प्रतियोगिता मूल आयोजक समितिका संयोजक प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अञ्जन धमला तथा अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।आज भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको टिमले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको टिमलाई १-० गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार रुपैयाँ र  द्वितीय हुने टिमले ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय टिमका शंकर घर्ती मगर सर्वोत्कृष्ट खेलाडी, गण्डकी प्रदेश प्रहरी कार्यालय टिमका आशिष थारू सर्वाधिक गोलकर्ता र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय टीमले फेयर प्ले अवार्ड प्राप्त गरी १०/१० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।मंसिर ६ गतेबाट शुरू भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयका १० वटा टिमको सहभागिता रहेको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी अधिकृतहरु, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०८०-०८-१४

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४९औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने उल्लेख गर्दै तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप प्रयोग गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमटाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत असोज ७ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान ३७ जना गरी कुल ५० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
२०८०-०८-१३

काठमाडौं, इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो ।  नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको “Let’s Save the Planet - INTERPOL 100” विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको हो । भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, Artificial Intelligence का कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न यूएनको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम भूमिका हुने विषय समेटिएको   छ ।  INTERPOL President Major General Dr. Ahmed Naser AL-RAISI बाट नेपाल प्रहरीलाई सम्मान स्वरूप प्रमाणपत्र प्राप्त भएको छ ।  इन्टरपोल स्थापनाको १०० वर्षलाई विशेष उत्सवको रूपमा मनाउन INTERPOL Innovation Centre द्वारा “How do you envisage INTERPOL connecting and empowering global law enforcement for a safer world in 2030” विषयमा आधारित रहि उक्त भिडियो प्रतियोगितामा सहभागी हुन सम्पूर्ण १९५ सदस्य राष्ट्रहरुलाई आह्वान गरिएको थियो ।  उक्त महासभामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहितको नेपाली प्रतिनिधि मण्डल सहभागी रहेको छ ।