प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्ति पक्राउ

२०७८-०८-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, बौद्ध भिक्षुको भेषमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न नवलपरासी देउचुली नगरपालिका-१७ ठेगाना भएका ३६ वर्षीय सन्त वीर लामालाई गत कात्तिक २९ गते प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं बौद्धस्थित सेतो गुम्बामा लामा पढाई गरिरहेका २ जनालाई सन्त वीरले आफू भारत कर्णाटक राज्यमा पर्ने मुडगोड लामा क्याम्प नम्बर १ स्यार गडेन मोनेष्ट्री गुम्बामा अध्ययन गरेको लामा गुरु भनि परिचय दिई कर्नाटकस्थित गुम्बामा गई लामा अध्ययन गर्‍यो भने राम्रो सुविधा पाईन्छ, नेपालको गुम्बामा पढाउने लामा (शिक्षक) पनि हुन पाईन्छ भन्ने जस्ता विभिन्न प्रलोभन देखाई दुबै जनालाई सिन्धुलीको वडा कार्यालयमा लगि सार गडेन बुद्धिस्ट कल्चर एसोसियसनको लेटरप्याडमा भारतको कर्णाटकमा लैजाने सिफारीस दिलाई पाउँ भनि पत्र लेखि पीडितहरूको जन्मदर्ता समेत बनाउने क्रममा उनको गतिविधि शंकास्पद भएको जानकारी हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनले हालसम्म नेपालका विभिन्न जिल्लाहरूबाट थुप्रै बालकहरूलाई लामा अध्ययन गर्न लैजाने बहानामा भारतमा लगि सकेको र उनले भारत लैजान काठमाडौं आरुवारीमा रहेको झुगो कदम्पा गुम्बामा अन्य तीन जना १० देखि १४ वर्ष सम्मका बालकहरूलाई राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । ती बालकहरूलाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उद्धार गरी बाल हेल्पलाईन सिविन रविभवन काठमाडौंको संरक्षणमा पठाई आवश्यक प्रकृया पश्चात मंसिर २ गते आफन्तको जिम्मा लगाएको छ । 

उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भईरहेको मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलले जनाएको छ । 

सम्बन्धित समाचार
मौरिसस पुर्‍याई मानब बेचबिखन गर्ने व्यक्ति पक्राउ
२०८१-०४-२९

काठमाडौं, ग्रीन कार्डको प्रलोभनमा पारी मौरिसस पुर्‍याई मानब बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका-१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडित गत असार २० गते नेपाल फर्किई उजुरी दिएपश्चात मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-७ गौरीघाटबाट पक्राउ गरेको हो । न्यौपानेले मासिक ७० हजार रूपैयाँ तलबमा कुकको काममा लगाइदिने तथा काम गरेको केही समयपछि ग्रिन कार्ड समेत पाइने भनि प्रलोभन देखाई २ लाख ५० हजार रूपैयाँ लिई २०८० मंसिर १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुर्‍याई मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७/१८ घण्टा घरको काम लगाई समयमा खाना खान र तलब समेत नदिई चरम श्रम शोषण तथा यौन शोषण गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ
२०८१-०४-०३

काठमाडौं, भिजिट भिसामा एक जना पीडितलाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका-३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२४ बाट पक्राउ गरेको हो । अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलव ४० हजार रूपैयाँ सम्म हुने काममा लगाइदिने प्रलोभन देखाई २ लाख रूपैयाँ नगद लिई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको, भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पुर्‍याई दुबईमा रहेका अर्का अभियुक्तले रिसिभ गरी आफु बस्ने फ्ल्याटमा लगि बन्धक बनाई घरेलु काममा लगाई  चरम श्रम शोषण गरी यौन शोषण गरी जबरजस्ती गर्भपतन समेत गराएको, युएईमा भन्दा कुवेतमा राम्रो तलव हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाई २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई चरम श्रम शोषण गरी यौन शोषण समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रूपैयाँ रकम बुझाउन भनेपछि आफन्त मार्फत उक्त रकम बुझाई २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका थिए । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ
२०८१-०३-३१

काठमाडौं, भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-३ बस्ने ३२ वर्षीय ङेमा लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-६ बाट पक्राउ गरेको हो । लामाले आफ्नो श्रीमती समेत कुवेतमा रहेकोले वर्किङ भिसामा क्लीनरको काममा लगाई दिने प्रलोभन देखाई  पीडितबाट ९५ हजार रूपैयाँ लिई २०८० कात्तिक ५ गते भिजिट भिसामा कुवेत पुर्‍याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एयरपोर्टमा देखाउने कागजातहरू समेत झुठ्ठा र फरक-फरक बनाई पठाएको, कुवेतको एयरपोर्टमा पुगे पश्चात पीडितलाई लामाको श्रीमतीले रिसिभ गरी कुवेती नागरिकको घरमा १ हजार १ सय ५० कुवेती दिनारमा बेचबिखन गरेको र कुवेती नागरिकले पीडितलाई बन्धक बनाई घरेलु कामदारको रूपमा राखी पारिश्रमिक समेत नदिई यौन शोषण तथा चरम श्रम शोषण गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नाबालिकाहरूलाई बेश्याबृत्तिमा लगाउने दुई जना पक्राउ
२०८१-०३-२६

काठमाडौं, नाबालिकाहरूलाई बेश्याबृत्तिमा लगाएको अभियोगमा २ जनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका-१ घर भएका ३३ वर्षीय बीर बहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान रहेका छन् ।उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ मनोहरा-जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिडो सर्भिस् एण्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा लगाएको अनुसन्धानबाट खुल्न आएको छ । साथै प्रहरीले उक्त गेष्ट हाउसबाट ३ जना बालिकाहरूलाई उद्दार गरेको छ ।उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

बेचबिखन गर्ने उद्देश्यले नाबालिकालाई भारततर्फ लैजान खोज्ने दुई जना पक्राउ
२०८१-०२-२८

काठमाडौं, झुक्यानमा पारी बेचबिखन गर्ने उद्देश्यले एक नाबालिकालाई भारततर्फ लैजान खोजेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट दुप्चेश्‍वर गाउँपालिका-६ घर भई काठमाडौं तारकेश्‍वर नगरपालिका-७ बस्ने ३९ वर्षीय सम्बर बहादुर तामाङ र नुवाकोट तादी गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-२ बस्ने ३३ वर्षीया इन्दिरा कटुवाल (तामाङ) रहेका छन् । नाबालिकालाई बेचबिखन गर्ने उद्देश्यले काठमाडौंबाट मकवानपुर हुँदै भारततर्फ लैजान काठमाडौं फुटुङबाट ललितपुरको सुनाकोठी पुर्‍याएको भन्ने सूचनाको आधारमा मानब बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले प्रहरी वृत्त चापागाउँसँगको समन्वयमा ललितपुर सुनाकोठीबाट पीडितको उद्दार गरी सम्बर बहादुरलाई शनिबार पक्राउ गरेको थियो । साथै उक्त घटनामा संलग्न इन्दिरालाई आइतबार काठमाडौं टोखा नगरपालिका-२ बाट प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूले पीडितलाई होटलमा वेट्रेसको काममा २० हजार रूपैयाँ तलब दिने र पछि तलब बढाउँदै लैजाने प्रलोभन देखाएको, कोही कसैले सोधेमा आफ्नो वास्तविक नाम, थर, ठेगाना नबताउनु व्यक्तिगत परिचय खुल्ने कागजात देखाउनु परेमा अर्कै ब्यक्तिको नागरिकता प्रयोग गर्नु भनी सिकाई ललितपुर सुनाकोठीसम्म पुर्‍याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउमध्ये सम्बर बहादुर यस अघि पनि मानब बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परी १० वर्ष कैद सजाय भुक्तान गरी २०८० वैशाखमा थुनामुक्त भएको खुल्न आएको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा महिला पक्राउ
२०८१-०२-१०

काठमाडौं, नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा नुवाकोट ककनी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्‍मी लामालाई प्रहरीले पक्राउ गरेको छ ।लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ ।उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।