प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निमित्त प्रहरी महानिरीक्षक निरज बहादुर शाहीबाट दर्ज्यानी चिन्ह सुशोभन

२०७८-०८-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ८ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।

दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू बिकाश राज खनाल, सुदिप राजभण्डारी, अनुराग कुमार द्विबेदी, राजेन्द्र सिंह खड्का, योग बहादुर पाल, टिका बहादुर केसी, ध्रुबराज राउत र भोला बहादुर रावल रहनुभएको छ । नेपाल सरकार मन्त्रीस्तरको २०७८ मंसिर ७ गतेको निर्णयअनुसार उहाँहरू प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति हुनुभएको हो ।  

उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक शाहीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात प्राप्त जिम्मेवारीलाई थप सजग र ईमानदार भई कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । पदोन्नतिले जिम्मेवारीका साथै सामाजिक प्रतिष्ठा बढ्ने भएकोले यसलाई कायम राख्न उहाँले आग्रह गर्नुभयो ।

निमित्त प्रहरी महानिरीक्षक शाहीले संगठनको विकास र थप उन्नतिका लागि नविन कार्ययोजनाका साथ योजनावद्ध रुपमा अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । वरिष्ठ प्रहरी अधिकृतहरूले मातहत प्रहरी कर्मचारीलाई समेत उत्प्रेरित हुने गरी हौसला प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक बिकाश राज खनालले  प्राप्त जिम्मेवारीलाई ईमानदार एवं उर्जाशील भई व्यावसायिक निष्ठाका साथ आफ्नो अनुभव, ज्ञान, सीप, क्षमता प्रयोग गरी उत्कृष्ट ढंगले कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-१९

मोरङ, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बुढिगंगा गाउँपालिका-६ डल्लेपुल बस्ने २६ वर्षीय धन बहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । बुढिगंगा गाउँपालिका-७ स्थितमा गत कार्तिक २८ गते बेलुकी धनकुटा पाख्रीबास नगरपालिका-४ बस्ने २६ वर्षीय रिजन दाहाललाई पुरानो रिसिवीका कारण धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । तत्काल फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मोरङ सुनवर्षी नगरपालिका-८ सिक्टी एरियाबाट फेला पारी पक्राउ गरेको हो । उनीउपर जिल्ला अदालत मोरङबाट कर्तब्य ज्यान मुद्दामा २ दिन म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ
२०७८-०८-१९

काठमाडौं, इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार प्रतिवादी झापा साबिक शिवगंज गाबिस-१ ठेगाना भएका ५० वर्षीय कृष्ण गोपाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।सन्जिव शाक्यको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गोरे भन्ने चुडामणि उप्रेती समेत भएको आपराधिक समूह स्थापना र संजाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दामा संलग्न भई फरार रहेका प्रतिवादीहरु मध्येका अग्रवाल दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा तत्काल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो । अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट सम्बन्धित अपराध कसूरमा कारबाही गर्ने गराउने प्रयोजनार्थ हाल महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको उक्त शाखाले जनाएको छ ।

अनलाईन ठगी गरेको अभियोगमा पक्राउ
२०७८-०८-१८

काठमाडौं अनलाईन ठगी गरेको अभियोगमा महोत्तरी सम्सी गाउँपालिका-६ घर भई हाल धनुषा जनकपुर मछलीबजार ठेगाना भएका १९ वर्षीय शेष फैसललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पीडितको एनआइसी एशिया बैंकको खाताबाट कात्तिक ७ गते एक्कासी ५० हजार २ सय रुपैयाँ रकम अनेत्र ट्रान्सफर भएको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त रकम पीडितको बैंकको खाताबाट आफ्नो वालेट आइडि हुँदै सिटिजन बैंक लि. मा रहेको शेष फैजलको नामको खातामा रकम रकमान्तर गरेको देखिएकोले उक्त ठगी कार्यमा संलग्न रहेका फैसललाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं एयरपोर्टबाट पक्राउ गरेको हो ।  उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाएको उक्त महाशाखाले जनाएको छ । 

अवैध लागूऔषध सहित पक्राउ
२०७८-०८-१८

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-६ पुरानोठिमी चोकबाट करिब ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका राइटोल बस्ने २९ वर्षीय रोहित देउलालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । सर्लाही, लालबन्दी नगरपालिका-१३ स्थित सडकबाट करिब ४ केजी अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-१४ बस्ने ६३ वर्षीय सोम बहादुर वाइवालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.२ ह ५९२८ नम्बरको अटोलाई प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले जाँच गर्दा अटोमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-४ राईसिङबाट १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३७ वर्षीय सम्बर बहादुर आले मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी ७४ एके ६०९९ नम्बरको मोटसाइकललाई प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक मगरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट नियन्त्रित लागूऔषध १ सय एमएलको १ सय ७९ बोतल सिओरेक्स सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा बारागढी गाउँपालिका-४ बस्ने ३३ वर्षीय बसन्त राज चौधरी र २३ वर्षीय मुना चौधरी रहेका छन् ।  बाराबाट हेटौंडातर्फ जाँदै गरेको बा.५२ प ३९६४ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरवाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी(पूर्व), कावासोती नगरपालिका-१६ चालिस किलोस्थित सडकबाट नियन्त्रित लागूऔषध ४ सय ५० एम्पुल फेनारगन, ४ सय ५० एम्पुल डाइजेपाम, ४ सय ५० एम्पुल नुफिन र २ सय ७० ट्याब्लेट नाईट्रोभेट शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीलाई देख्नासाथ ना.६ प ५०१५ नम्बरको मोटरसाइकलका चालकले मोटरसाइकल छाडी फरार भएपश्चात मोटरसाइकलमाथि झोलामा रहेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।