नेपाल प्रहरी श्रीमती संघ र नोबेल अस्पताल विराटनगरबीच सम्झौता
२०८०-०९-०२
- A
- A-
- A+
मोरङ, नेपाल प्रहरी श्रीमती संघ र नोवेल मेडिकल कलेज टिचिङ अस्पताल बिराटनगरबीच नेपाल प्रहरीका कर्मचारी तथा आश्रित परिवारलाई उपचार सेवामा २५ प्रतिशत छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुवँर र उक्त अस्पतालको तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक ईन्दिरा शर्मा (बराल)ले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सोमबार आयोजित कार्यक्रममा उक्त सम्झौता-पत्रमा हस्ताक्षर गर्नुभयो ।
सो अवसरमा संघकी अध्यक्ष कुँवरले प्रहरी कर्मचारीहरू र आश्रित परिवारहरूको स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यले सम्झौता गरिएको उल्लेख गर्दै यसले सकल दर्जाको मनोवल उच्च भई शान्ति सुरक्षा कार्यमा थप सहजता प्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नोवेल मेडिकल कलेजकी प्रवन्ध निर्देशक इन्दिरा शर्मा (बराल)ले सामाजिक उत्तरदायित्व बहन गर्दै जनताको सुरक्षामा खटिने नेपाल प्रहरीका कर्मचारीहरुलाई उपचारमा सहुलियत उपलब्ध गराईएको र आगामी दिनमा दुवै पक्षको समन्वय र सहकार्यमा सहुलियतमा थप गर्दै लगिने लक्ष्य रहेको बताउनुभयो ।
नेपाल प्रहरीका बहालवाला कर्मचारीहरू तथा आश्रित परिवार सदस्यहरू (आमा, बुवा, श्रीमान वा श्रीमती, अविवाहित छोरा, छोरीहरू) लाई उपचारको क्रममा बहिरङ्ग विभागमा उपचार गराउँदा बिरामी दर्ता निःशुल्क तथा अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुटका साथै भर्ना भई उपचार गराउँदा समेत अन्तरङ्ग विभागमा अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने सम्झौता-पत्रमा उल्लेख गरिएको छ । हाललाई १ वर्षको सम्झौता अवधि रहेकोमा पुन थप गर्दै लगिने समेत सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला, नोवेल मेडिकल कलेजका कार्यकारी निर्देशक राजेश नेपाल लगायत प्रहरी अधिकृतहरू तथा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
हस्ताक्षर कार्यक्रमपश्चात संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले प्रदेश प्रहरी कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभएको थियो ।