प्रहरी महानिरीक्षक कुँवरद्वारा दर्ज्यानी चिन्ह सुशोभन तथा म्युजिक भिडियो र पुस्तक विमोचन
२०८०-१०-१७
- A
- A-
- A+
काठमाडौं, नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको माघ १६ गतेको निर्णयले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति हुनुभएका रमेश कुमार बस्नेत दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँलाई दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको हो ।
सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले “प्रहरी साथमा छ” बोलको अपराध न्यूनीकरण सम्बन्धी जनचेतनामूलक म्युजिक भिडियोको विमोचन गर्नुभयो । उक्त म्युजिक भिडियोको परिकल्पना प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले गर्नुभएको हो भने रचनाकार दिल शिरिष र प्रकाश सपूत रहनुभएको छ । प्रकाश सपूत र सुदिप सागरको संगीत तथा प्रकाश सपूत र सुनिता दुलालको गायन रहेको उक्त म्युजिक भिडियोको निर्देशन आरन प्रोडक्सनबाट सुनिल बिकले गर्नुभएको छ ।
साथै सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित “नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह-भाग १” पुस्तकको विमोचन समेत गर्नुभयो । उक्त पुस्तकमा रहेका घटनाहरूको संकलन तथा लेखन प्रहरी नायव उपरीक्षकहरू रबिन्द्र नाथ पौडेल, बेद प्रकाश जोशी, पंच कुमार बाखु र प्रहरी निरीक्षक राजु अधिकारीले गर्नुभएको छ । साथै प्रहरी महानिरीक्षक कुँवरले पुस्तक लेखनमा संलग्न प्रहरी अधिकृतहरूलाई सोही अवसरमा सम्मान समेत गर्नुभयो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवं प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।