उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा लैंगिक हिंसा एवम् लागूऔषध दुर्व्यसन विरूद्ध प्रभातफेरी र सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८०-१०-२०
- A
- A-
- A+
कास्की, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा लैंगिक हिंसा तथा लागूऔषध दुर्व्यसन विरूद्ध प्रभातफेरी र सचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की एवम् सामुदायिक सेवा केन्द्रहरूको समन्वयमा आयोजित उक्त कार्यक्रमको सुरूमा विभिन्न विद्यालय, आमा समुह, युवा क्लव तथा अन्य सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा लैंगिक हिंसा तथा लागूऔषध दुर्व्यसन सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट, व्यानर, भजन, बाजा र झाँकीसहितको प्रभातफेरी र्याली पोखराको मानव अधिकार चोक प्रस्थान भई पोखरा महानगरपालिका-४ कुमुदिनि होम्स बोर्डिङ स्कुलको सभाहलमा आएर औपचारिक कार्यक्रमा परिणत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले लैंगिक हिंसा र लागूऔषध दुर्व्यसन सामाजिक समस्याको रूपमा रहिरहेको र यसलाई निर्मुल पार्न आफू गम्भीर रूपमा लागि परिरहेको बताउनुभयो । समाजबाट लागूऔषध दुर्व्यसन निस्तेज गर्न लागूऔषधको असर र समस्या सम्बन्धी शिक्षा प्रदान गर्नु नै प्रमुख उपाय भएको उल्लेख गर्दै यस कार्यमा नेपाल प्रहरीले निभ्याएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । साथै लागूऔषधको दुरूपयोग गर्ने र समाजमा अराजकता पैदा गरी अन्य हिंसा निम्त्याउनेलाई बिना हिचकिचावट कानूनी कारवाही गर्न समेत उहाँले निर्देशन दिनुभयो । नेपाल प्रहरी श्रीमती संघले देशभर गरेका सचेतनामूलक कार्यक्रमहरु अत्यन्तै प्रभावकारी रहेको समेत उहाँले बताउनुभयो ।
उक्त प्रभातफेरी तथा सचेतनामूलक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाको विशिष्ट आतिथ्यता तथा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बिकासराज खनालको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले कास्कीमा लागूऔषध दुर्व्यसनी तथा लैंगिक हिंसाको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो भने पोखरा थियटरको तर्फबाट जनचेतनामूलक नाटक, राष्ट्रिय प्रज्ञा प्रतिष्ठान पोखराको तर्फबाट जनचेतनामूलक सारङ्गीको गित र विभिन्न नृत्यहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नुभएको थियो भने नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी अध्यक्ष कमला खनालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।