प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

इन्टरपोलबाट नोटिस जारी भएका फरार प्रतिवादी तिव्र रूपमा पक्राउ पर्दै

२०८०-१०-२१

  • A
  • A-
  • A+
Share

काठमाडौं, इन्टरपोलबाट रेड नोटिस जारी भएको पाँच दिनभित्रै फरार प्रतिवादी खोटाङका १९ वर्षीय किरण राई कतारबाट पक्राउ परे । इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रहरूको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका चार जना फरार प्रतिवादीलाई दुबई र कुवेतबाट एक हप्ताभित्रै पक्राउ गरी गत पुस पहिलो हप्ता नेपाल ल्याइयो । देशमा अपराध गरी विदेशमा फरार रहेका प्रतिवादीहरूलाई इन्टरपोलको सक्रियतामा पक्राउ गरी स्वदेश फिर्ता ल्याएर कानूनी पक्रिया अगाडि बढाउने कामले तिव्रता पाएको छ ।    

फरार प्रतिवादीहरूको अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विभिन्न नोटिस जारी हुने गर्दछ । सन् १९९१ देखि हालसम्म १ सय ६८ जनाविरूद्ध रेड नोटिस, २४ जना विरूद्ध एल्लो नोटिस, १ जनाविरूद्ध ब्ल्यु नोटिस, १ जनाविरूद्ध ब्ल्याक नोटिस, १ जनाविरूद्ध पर्पल नोटिस र १ सय ३ जनाविरूद्ध  डिफ्युजन नोटिस जारी भएको छ । ती मध्ये ६१ रेड नोटिस, ११ एल्लो नोटिस, १ ब्ल्याक नोटिस, १ पर्पल नोटिस र ३५ डिफ्युजन नोटिस हाल कारबाहीको प्रक्रियामा छन् । कारबाहीको प्रक्रियामा रहेका रेड नोटिस जारी भएकामध्ये ५५ जना नेपाली र ६ जना विदेशी नागरिक, एल्लो नोटिस जारी भएका ११ जना नेपाली नागरिक र डिफ्युजन नोटिस जारी भएकामध्ये ३० जना नेपाली र ५ जना विदेशी नागरिक रहेका छन् । 

फरार प्रतिवादीहरूकाविरूद्ध इन्टरपोलद्वारा नोटिस जारी गर्ने र पक्राउ पर्ने क्रम जारी छ । सो क्रममा सन् २०२४ फेब्रुअरी २ तारिखमा मात्र ६ जनाविरूद्ध रेड नोटिस जारी भएको छ । ती मध्ये वैदेशिक रोजगार ठगीमा ४ जना र सहकारी ठगीमा २ जना छन् । नोटिस जारी गर्न एनसीबी काठमाडौंले गर्ने अनुरोधका सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “सन् १९६७ देखि एनसिबी काठमाडौंले इन्टरपोलको सुरक्षित एवं बिश्वव्यापी प्रहरी संचार प्रणालीको सुविधाबाट इन्टरपोलका सदस्य राष्ट्रहरुसँग समन्वय र सूचना आदान-प्रदान गर्दै आएको छ । सोही सुविधाकै कारण एनसिबी काठमाडौंले विभिन्न नोटिस एवं डिफ्यूजन जारी गर्नका लागि इन्टरपोल महासचिवालयमा अनुरोध गर्ने गर्दछ ।”

नोटिस जारीको साथै विदेशमा फरार रहेका प्रतिवादीहरू इन्टरपोल तथा सम्बन्धित सदस्य राष्ट्रको प्रहरीसँगको समन्वय र सहयोगमा पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरी सक्रिय छ । यस कार्यलाई पछिल्लो समय उच्च प्राथमिकताका साथ तिव्रता दिएको छ । हालसम्म युएईबाट १९ जना, कतारबाट ९ जना, साउदी अरेबियाबाट ३ जना, भारत  र कुबेतबाट ३/३ जना, मलेसिया/मकाउ र चीनबाट २/२ जना र थाइल्याण्ड/क्यानडा/युएसए/पोर्चुगल तथा बहराईनबाट १/१ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी नेपाल फिर्ता ल्याएको   छ । यसैगरी नोटिस तथा डिफ्युजन जारी भएका ४ जनालाई नेपालमा नै पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ । पक्राउ पर्नेहरूमध्ये कर्तव्य ज्यान, ठगी, अपहरण, डकैती, वन्यजन्तु अपराध, बैंकिङ कसूर, सुन तस्करी, संगठित अपराध, कीर्ते, लागूऔषध ओसारपसार, साईबर अपराध, वैदेशिक रोजगार ठगी, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार लगायत मुद्दाका फरार प्रतिवादी रहेका    छन् । ती प्रतिवादीहरूलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने गरिएको छ ।    

    वारेन्ट जारी भएका फरार अभियुक्तहरूको खोजीका लागि रेड नोटिस, वारेन्ट जारी नभएका तथा अनुसन्धान कै क्रममा रहेका फरार अभियुक्तहरूको खोजीका लागि डिफ्युजन नोटिस, सनाखत नभएका मानव शवको पहिचान गर्नका लागि ब्ल्याक नोटिस, हराएका मानिसहरूको अन्तर्राष्‍ट्रिय स्तरमा खोजी कार्यका लागि एल्लो नोटिस, अपराधीले अपराध गर्न प्रयोग गरेका हतियार, बिष्‍फोटक प्रदार्थ तथा खतराजन्य अन्य चिजबस्तु लुकाएको स्थानको बारेमा जानकारी दिन ओरेन्ज नोटिस, आपराधिक कार्यविधिको बारेमा जानकारी दिन पर्पल नोटिस, व्यक्तिको आपराधिक क्रियाकलापकबाट सार्वजनिक सुरक्षामा हुनसक्ने सम्भावित खतराको बारेमा जानकारी गराउन ग्रीन नोटिस तथा अपराधमा संलग्न व्यक्तिको खोजतलास तथा जानकारी प्राप्त गर्न ब्लु नोटिस जारी हुने गर्छ । फरार प्रतिवादी पक्राउ सम्बन्धमा प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “नेपालमा अपराध गरेर विश्वको जुनसुकै कुनामा गएपनि इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले छोड्दैन ।”

सन् १९२३ मा स्थापना भएको इन्टरपोलमा हाल १ सय ९६ सदस्य राष्ट्रहरू छन् । नेपाल इन्टरपोलको १०० औँ सदस्य राष्ट्र   हो । हरेक सदस्य राष्‍ट्रमा विश्‍वभरिका सदस्य राष्‍ट्रहरूसँग सम्पर्क गर्न एक सम्पर्क केन्द्र स्थापना गरिएको हुन्छ, जसलाई नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) भनिन्छ । नेपाल प्रहरी संगठनका प्रहरी प्रमुखले हेड अफ एनसिबीको भूमिका निर्वाह गर्ने व्यवस्था रहेको छ । हाल प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवर इन्टरपोल नेपालका प्रमुख रहनुभएको छ । 

सम्बन्धित समाचार
आसरा सुधार केन्द्रकी अध्यक्ष नबिना खत्री कार्कीको स्वागत कार्यक्रम सम्पन्न
२०८२-०८-२६

काठमाडौं, आसरा सुधार केन्द्र रानीबारीकी नवनियुक्त अध्यक्ष श्रीमती नबिना खत्री कार्कीलाई शुक्रबार आयोजित एक कार्यक्रमबीच सोही केन्द्रका पदाधिकारीहरूले केन्द्रको कार्यालय रानीबारीमा हार्दिक स्वागत गर्नुभएको छ । सो अवसरमा केन्द्रकी नवनियुक्त अध्यक्ष कार्कीले लागूऔषध प्रयोगकर्ताहरूको मनोबल वृद्धि गर्दै समाजमा पुनर्स्थापना गराउन यस सुधार केन्द्रले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । केन्द्रको उद्देश्य प्राप्तिका लागि आगामी दिनमा अझ परिस्कृत तरिकाले कार्यक्रमहरू संचालन गर्न तथा केन्द्रको भूमिकालाई थप बहुआयामिक बनाउन केन्द्रका पूर्व अध्यक्षहरू, पदाधिकारीहरू, सरोकारवाला निकायहरू र नागरिक समाजबाट महत्वपूर्ण सुझाव तथा सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । आसरा सुधार केन्द्रकी सचिव शामिला पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा उपचाररत सदस्यहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो ।

प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८२-०८-२६

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि २१ जना र प्रहरी सहायक निरीक्षक पदका लागि ४ सय ३८ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।  प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइटwww.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले प्रहरी निरीक्षक पदको लागी पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् भने प्रहरी सहायक निरीक्षक पदको लागी पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

मोटरसाइकल आउट राइडर्स तालिम सुरू
२०८२-०८-२१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको मोटरसाइकल आउट राइडर्स तालिम आइतबारबाट सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले उक्त तालिमको उद्‍घाटन गर्दै समय सापेक्ष नयाँ प्रविधिको बारेमा जानकारी दिई योग्य र दक्ष चालकको उत्पादन गर्ने तालिमको उद्देश्य रहेको बताउनुभयो ।कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक ई. अशोक केसीले ३५ कार्य दिनको उक्त तालिममा १ जना प्रहरी सहायक निरीक्षक र २९ जना प्रहरी जवान गरी कुल ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली स्वदेश फिर्ता
२०८२-०८-१४

काठमाडौं, प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन भएको इन्टरपोलको ९३औं महासभामा सहभागी भई आइतबार स्वदेश फिर्ता  भएका छन् । उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल भएको तथा इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन समेत भएको थियो । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी रहेको र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानमा भाग लिएको थियो ।  साथै उक्त महासभाबाट इन्टरपोलको नयाँ अध्यक्षको रूपमा फ्रान्सका Lucas Philippe नियुक्त हुनुभएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्त्वमा सहभागी भएको प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक समेत भएको थियो ।उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्का समेत मंसिर ६ गते मोरक्को प्रस्थान गर्नुभएको थियो । 

३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
२०८२-०८-१०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हलुका) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित सवारी चालक उन्नत तालिम ३०औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।   तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले सवारी साधनको मर्मत सम्भार, सवारी चलाउँदा अपनाउने सुरक्षा विधि, ट्राफिक नियम सम्बन्धी ज्ञान प्रदान गरेको चर्चा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त सीपलाई जस्तोसुकै परिस्थितिमा पनि दक्षता र कुशलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १६ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

ट्राफिक नियन्त्रण तालिम सञ्चालन
२०८२-०८-०७

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १५५औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले उक्त तालिम उद्‍घाटन गर्दै प्रशिक्षार्थीहरूले उत्सुक, अनुशासित तथा जागरूक भई तालिम हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान ४५ जना गरी कुल ४८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।