प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गत ६ महिनामा ३ हजार ४५ जना लागूऔषध कारोबारी पक्राउ

२०८०-१०-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने काठमाडौं सोह्रखुट्टेका मोहमद फाजिल र काठमाडौं दक्षिणकालीका शालोम सादा लेप्चा जैसी गाँजा, केक र कुकिजसहित पक्राउ परे । भारतीय नागरिक किम्रो साङ्गी अवैध लागूऔषध कोकिन १ किलो ९७३ ग्रामसहित पक्राउ परिन् । धादिङ कोईली खर्कका कान्छा तामाङ र भिम बहादुर तामाङ लागूऔषध चरेश २५ केजीसहित पक्राउ परे । 

मोहमद, शालोम, किम्रो, कान्छा र भिम बहादुर प्रतिनिधि पात्र मात्रै हुन् । लागूऔषध दुर्व्यसन र अवैध कारोबारमा संलग्न भई पक्राउ पर्ने उनीहरू जस्तै अभियुक्तहरूको सूची लामो छ । गाँजा, चरेश, अफिम, खैरो हेरोइन, नियन्त्रित पदार्थ समेतको अवैध कारोबारमा संलग्न अभियुक्त पक्राउ संख्या बढ्नुको प्रमुख कारण प्रहरी सक्रियता, प्रभावकारी अभियान र नागरिकसँगको सहकार्य नै हो ।

विश्वव्यापी समस्याको रूपमा रहेको लागूऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ । यसको प्रयोग बढ्नाले सामाजिक, सांस्कृतिक, आर्थिक लगायत शान्ति सुरक्षामा समेत नकारात्मक प्रभाव परेको छ । यसैले विद्यमान कानुनको कार्यान्वयन गर्दै नेपाल प्रहरी लागूऔषध कारोबार र दुर्व्यसन नियन्त्रण गर्न सक्रिय छ । अनुसन्धान, संलग्नलाई पक्राउ तथा कानुनी कारवाही गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, "लागूऔषधको प्रकोपबाट धेरै युवाहरू कूलतमा फसेर आफ्नो उर्जाशील व्यक्तित्व ह्रास भइरहेको वर्तमान परिप्रेक्ष्यमा यसको विरुद्ध सबै एकजुट हुन आवश्यक छ । यसको नियन्त्रणका लागि विद्यमान कानुनमा समयसापेक्ष परिमार्जनको साथै सरकारको एकल पहल मात्र नभई सबै क्षेत्रबाट पहल कदमी लिनुपर्ने देखिन्छ ।"

देशभर चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागूऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न ३ हजार ४५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये २ हजार ७५८ जना नेपाली पुरुष, १ सय ४४ जना नेपाली महिला, १ सय ३३ जना विदेशी पुरूष र १० जना विदेशी महिला रहेका छन् । यीमध्ये १ हजार ९६० मुद्धा दर्ता भएका छन् ।

पक्राउ परेकाहरू गाँजा, चरेश, हेरोइन, अफिम, कोकिन, पोल्याण्ड र अन्य नियन्त्रित औषधि जस्ता लागूऔषध सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका छन् । उनीहरूबाट गाँजा ८ हजार ३२० केजी, चरेश ३ सय ८ केजी, हेरोइन १० केजी, अफिम २७ केजी, कोकिन ३ केजी र पोल्याण्ड ३ सय २६ ग्राम प्रहरीले बरामद गरेको छ । यसैगरी डाईजेपाम २३ हजार ५ एम्पुल, फेनारगन २७ हजार १३४ एम्पुल, ब्रुफिनुर्फिन १९ हजार ६७४ एम्पुल, लुपिजेसिक १ हजार ४१५ एम्पुल, नाईट्राभेट ६३ हजार ५४७ ट्याब्लेट, स्पास्मो ११ हजार ७२, कोरेक्स ६ हजार ५७१, एभिल ७ सय ३३, ट्रामा ४६ हजार ५९, प्रोमिथाईजिन ४ हजार ७६२, अन्य एम्पुल ६ हजार ४८२, अन्य ट्याब्लेट १ हजार ५५८ र आइस २ ग्राम समेत बरामद भएको छ । 

यस आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा मधेश प्रदेशबाट सबैभन्दा धेरै लागूऔषध गाँजा ३ हजार ८९१ केजी बरामद भएको छ । सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा धेरै ६६ केजी चरेश बरामद भएको छ । साथै  कोशी प्रदेशबाट ५ केजी हेरोइन, लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै २० केजी अफिम तथा लागूऔषध नियन्त्रण ब्यूरोबाट १ केजी कोकिन बरामद भएको छ । 

लागूऔषध सेवनले सेवनकर्तालाई मात्र नभई परिवार, समाज र देशलाई नै प्रत्यक्ष प्रभाव पारिरहेको छ । कालान्तरमा यसले परिवार, समाज र देशलाई नै नकारात्मक असर पार्छ ।  राष्ट्रिय रुपमा राज्यको सम्पत्ति अनुत्पादक क्षेत्रमा खर्च भई राष्ट्रलाई ठूलो नोक्सान हुने तथा उर्जाशील जनशक्ति गलत बाटोमा लाग्दा राष्ट्रलाई दूरगामी प्रभाव पारिरहेको हुन्छ । प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “लागूऔषध कारोबार अन्तर्राष्ट्रिय समस्या हो । गलत मनसायका व्यक्तिहरुले अर्थोपार्जनको उद्देश्यले लागूऔषध ओसारपसार गरिरहेको देखिन्छ । आजकल नयाँ विधि र शैली अपनाई कारोबार हुने गरेको छ । सामाजिक समस्याको रूपमा रहेको लागूऔषध नियन्त्रणमा पछिल्लो समय प्रहरी सक्रियताका कारण धेरै ठूलो संख्यामा अपराधी पक्राउ परेका हुन् । प्रहरी जाँच, कानुनी कारवाहीमा कडाई, नयाँ प्रविधिको प्रयोगका कारण कारोबारी निरूत्साहित भएका छन् ।”

परिवारका सदस्यहरू पनि आफ्ना बालबालिकाको क्रियाकलापबारे सचेत हुन आवश्यक छ । युवावर्ग भविष्यप्रति सचेत भई यसको सेवनबाट टाढा रहन सक्नुपर्छ । नेपाल प्रहरीले लागूऔषध प्रयोग र कारोबार हुने ठाउँको पहिचान गरी त्यस्ता ठाउँमा कारवाही तीव्र पारेको छ । जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । प्रहरीको साथै अन्य सरकारी तथा गैरसरकारी संघ संस्था, सरोकारवाला निकाय र आम नागरिक मिलेर सक्रिय हुँदै कामप्रति समर्पित हुन सके यस्ता अपराध नियन्त्रणमा थप सफलता मिल्छ । 

 

सम्बन्धित समाचार
हिरासतमा मृत्यु प्रकरणमा १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस
२०८३-०२-१२

काठमाडौं, इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक देखि प्रहरी जवान सम्म गरी १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ । हिरासत कक्षमा रहेका सिन्धुली सुनकोशी गाउँपालिका-३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरेको हो ।  जसमध्ये १ जनालाई सचेत गराउने, २ जनालाई ध्यानाकर्षण गराउने, ५ जनालाई सख्त चेतावनी सहित जिम्मेवारीबाट अलग गर्ने, १ जनालाई नसिहत र १ जनालाई ग्रेड घटुवा गर्ने समितिले सिफारिस गरेको छ । साथै समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न, हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने डिउटीका समयमा अन्य काममा संलग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्ने सुझाव दिएको छ । कुनै पनि असामान्य गतिविधि तुरून्तै रिपोर्ट गर्ने प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न लगाउने, विशेषत: अन्तर्जातीय सम्बन्ध, नाबालिग संलग्नता तथा सामाजिक तनाब उत्पन्न हुन सक्ने घटनाहरूमा आवश्यक तथ्य संकलन, पक्षहरू एवम् परिवारजनसँग समन्वय तथा अनुसन्धान सम्बन्धी निर्णयहरूमा कार्यलय प्रमुखको प्रत्यक्ष निगरानी र सक्रिय संलग्नता सुनिश्चितता गर्न समितिले सुभाव दिएको छ । यसैगरी जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापन जस्तो संवेदनशील विषयमा नियमित अनुगमन, निरीक्षण तथा सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाउँदै मुद्दा चलाउने कार्यालयलाई आवश्यक जनशक्ति व्यवस्थापन, घटना एवम् सूचना व्यवस्थापन तथा समन्वयलाई थप सुदृढ गर्न सचेत गराई प्रत्येक प्रहरी इकाइमा आवधिक निरीक्षण, हिरासत अवस्थाको नियमित मूल्याङकन तथा सुधारमुखी कार्य योजना कार्यान्वयन गर्न समेत समितिले सुझाव दिएको छ । 

एक महिनाको अवधिमा १ हजार ५६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ
२०८३-०२-०८

काठमाडौं, नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट १ हजार ५६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।  जसमध्ये उपत्यकाबाट १ सय ७१ जना, कोशी प्रदेशबाट २ सय ६ जना, मधेश प्रदेशबाट ७० जना, बागमती प्रदेशबाट १ सय ५४ जना, गण्डकी प्रदेशबाट ५६ जना, लुम्बिनी प्रदेशबाट १ सय ६९ जना, कर्णाली प्रदेशबाट २१ जना र सुदूरपश्चिम प्रदेशबाट १ सय ६७ जना र लागूऔषध नियन्त्रण ब्यूरोबाट ४२ जना पक्राउ परेका हुन् ।    सो अवधिमा अवैध लागूऔषध गाँजा १ हजार ८ सय २० किलो ३ सय १८ ग्राम ३ सय ४० मिलिग्राम, चरेस १९ किलो १ सय ३८ ग्राम ९ सय ६४ मिलिग्राम, हेरोइन ४ किलो २३ ग्राम ५ सय २८ मिलिग्राम, अफिम ७ किलो ९ सय ७४ ग्राम ३ सय ८० मिलिग्रम, कोकिन ३३ ग्राम ६ सय २० मिलिग्राम, पोलेन ११ किलो ४ सय १९ ग्राम, नियन्त्रित लागूऔषध डाईजेपाम २ हजार ८ सय ९५ एम्पुल, फेनारगन २ हजार ८ सय ४५ एम्पुल, बुप्रेनोर्फिन २ हजार ९ सय २९ एम्पुल, ट्रामाडोल २ लाख ३ हजार ३ सय ३८ ट्याब्लेट, नाइट्राभेट २ हजार ५ सय ४१ ट्याब्लेट, स्पास्मो २१ हजार ३ सय ९९ ट्याब्लेट प्रहरीले बरामद गरेको छ ।    लागूऔषध कारोबार लगायतका आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत भइरहेको सन्दर्भमा सबै प्रहरी कार्यालयहरूले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ । साथै प्रहरीले समुदाय-प्रहरी साझेदारी अन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगबाट सामाजिक तथा व्यक्तिगत जीवनमा पर्न जाने नकारात्मक असरहरूको बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ ।

एक महिनाको अवधिमा हातहतियार सम्बन्धी मुद्दामा संलग्न ४० जना पक्राउ
२०८३-०२-०८

काठमाडौं, नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियार सम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको छ । जसमध्ये उपत्यकाबाट ३ जना, कोशी प्रदेशबाट १ जना, मधेश प्रदेशबाट १ जना, बागमती प्रदेशबाट १ जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट ९ जना, कर्णाली प्रदेशबाट ८ जना र सुदूरपश्चिम प्रदेशबाट ३ जना पक्राउ परेका हुन् ।    पक्राउ परेका व्यक्तिहरूबाट चाईनिज पेस्तोल १ थान, पेस्तोल १ थान, रिभल्वर १ थान, कटुवा पेस्तोल २ थान, भरूवा बन्दुक २१ थान,  बन्दुक १ थान र एयरगन २ थान गरी जम्मा २९ थान हातहतियार बरामद भएको छ । साथै उनीहरूबाट चाईनिज पेस्तोलको गोली १ राउण्ड, एसएलआरको गोली २ सय ६३ राउण्ड, विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्ड समेत बरामद भएको छ ।अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले सदैव क्रियाशील छ । तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारमा हातहतियार प्रयोग भएको देखिन्छ । अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न नेपाल प्रहरीले सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी देशभरिनै विशेष अभियान सञ्चालन गरी कार्य गरिरहेको छ । अवैध हतियार कतै लुकाईराखेको थाहा भएमा नेपाल प्रहरीलाई सूचना दिन र अवैध हतियार बुझाउन समेत नेपाल प्रहरी अनुरोध गर्दछ । 

एक महिनाको अवधिमा २ हजार ३ सय १९ जना फरार प्रतिवादीहरू पक्राउ
२०८३-०२-०८

काठमाडौं, नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार ३ सय १९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट १२ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३ सय ६६ जना, कोशी प्रदेशबाट ३ सय २६ जना, मधेश प्रदेशबाट ७ सय ३० जना, बागमती प्रदेशबाट १ सय ९९ जना, गण्डकी प्रदेशबाट २ सय ४ जना, लुम्बिनी प्रदेशबाट ३ सय ३० जना, कर्णाली प्रदेशबाट ६८ जना र सुदूरपश्चिम प्रदेशबाट ८४ जना पक्राउ परेका हुन् । उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको ८ सय २५ वर्ष २ महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको छ । साथै उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार १ सय १० रूपैयाँ जरिवाना असुल उपर गरिएको छ । नेपाल प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा आम नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको परिपेक्षमा फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ । कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसुर, ठगी लगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान संचालन गरी कार्य गर्दै आइरहेको छ । 

प्राविधिक प्रहरीतर्फ नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८२-१२-२०

काठमाडौं, नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न जम्मा ६ सय ७ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । जसमध्ये प्राविधिक प्रहरी नायव उपरीक्षक, प्राविधिक प्रहरी निरीक्षक र प्राविधिक प्रहरी नायव निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि दरखास्त आव्हान गरिएको हो । नयाँ भर्नाका लागि दरखास्त आव्हानमध्ये ईन्जिनियरिङतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि १४ जना, प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि १५ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ६५ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो । यसैगरी स्वास्थ्यतर्फ प्राविधिक प्रहरी नायव उपरीक्षक पदका लागि १ जना, प्राविधिक प्रहरी निरीक्षक पदका लागि १० जना, प्राविधिक प्रहरी नायव निरीक्षक ८ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ८ जना, विधि विज्ञानतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि २ जना र प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि ३ जना तथा हातहतियारतर्फ प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ३ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो । यसैगरी प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त ४ सय ७८  जना प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । दरखास्त दिने उम्मेदवारहरू मध्ये प्राविधिक प्रहरी नायव उपरीक्षक, प्राविधिक प्रहरी निरीक्षक र प्राविधिक प्रहरी नायव निरीक्षक र प्राविधिक प्रहरी सहायक निरीक्षक पदको लागि नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np बाट फारम भर्न सकिने छ ।  ईन्जिनियरिङतर्फ दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालय, सूचना प्रविधि निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय र सवारी महाशाखामा अनलाईन दरखास्त फारम भर्न सकिने छ । यसैगरी स्वास्थ्यतर्फ नेपाल प्रहरी अस्पताल महाराजगंज, विधि विज्ञानतर्फ नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुसी र हातहतियारतर्फ नेपाल प्रहरी प्रधान कार्यालय हातहतियार मर्मत शाखामा अनलाईन दरखास्त फारम भर्न सकिने छ । साथै प्राविधिक प्रहरी जवान पदको लागि ७ वटै प्रदेश प्रहरी तालिम केन्द्र, ३ वटा जिल्ला प्रहरी परिसर र ७४ वटै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त दिन सकिने छ । प्राविधिक प्रहरी नायव उपरीक्षक, प्राविधिक प्रहरी निरीक्षक र प्राविधिक प्रहरी नायव निरीक्षक र प्राविधिक प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले चैत २५ गतेदेखि २०८३ वैशाख २४ गतेसम्म अनलाइन प्रणालीमार्फत कार्यालय समयभित्र दरखास्त फारम बुझाउन सक्नेछन् । साथै प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले चैत २६ गतेदेखि २०८३ वैशाख ३१ गतेसम्म कार्यालय समयभित्र दरखास्त फारम बुझाउन सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ । 

बिचौलिया रहित नागरिकमैत्री प्रभावकारी सेवा प्रवाह नै प्रहरीको उच्च प्राथमिकता
२०८२-१२-१९

काठमाडौं, समाजमा शान्ति सुव्यवस्था कायम राख्दै आम नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । वर्तमान परिपेक्षमा बिचौलिया रहित, नागरिक मैत्री, कानुन सम्मत, पारदर्शी र छिटो छरितो प्रभावकारी सेवा प्रवाहलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ ।  प्रचलित कानुनको कार्यान्वयनद्वारा विधिको शासनको प्रत्याभूति गराउँदै जेन-जी आन्दोलनको मर्म र नयाँ सरकार गठन पश्चात् मुलुकको प्रशासनिक, राजनीतिक र सेवा प्रवाहको क्षेत्रमा आमूल परिवर्तन गर्दै सुशासन, प्रशासनिक पुनर्संरचना र जनजीविकामा प्रत्यक्ष सुधार ल्याउने उद्देश्यका साथ नेपाल सरकारबाट जारी भएको “शासकीय सुधार सम्बन्धी सरकारका १०० कार्यसूची” को भावना अनुरूप नेपाल प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण निष्ठाका साथ निर्वाह गर्दै आइरहेको छ । प्रहरी कार्यालयहरूमा सेवाग्राहीहरूलाई छिटो र छरितो काम गरी दिने प्रभावमा पारी वा प्रलोभन देखाइ बिचौलियाहरू हावी भएको सूचनाहरू निरन्तर प्राप्त भइरहेको सन्दर्भमा मुद्दा चल्ने इलाका तह सम्मका कार्यालयहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयले बिचौलिया रहित नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न परिपत्र जारी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, “ नेपाल प्रहरीको मुख्य उद्देश्य नै बिचौलिया रहित नागरिकमैत्री, पारदर्शी एवम् छिटो छरितो सेवा प्रवाह गर्नु हो । प्रत्यक्ष सेवा प्रवाह हुने प्रहरी कार्यालय तथा अन्य कार्यालय वरपर रहेर छिटो र छरितो काम गरी दिने प्रभावमा पारी वा प्रलोभन देखाइ आम नागरिकलाई दुःख, हैरानी दिने व्यक्ति तथा बिचौलीयाहरू पहिचान र पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न प्रहरी सक्रिय रूपमा परिचालित रहेको छ ।”  जिल्ला प्रहरी कार्यालयदेखि मुद्दा चल्ने इलाका तह सम्मका कार्यालयको मुख्य प्रवेशद्वार र वरिपरिका मुख्य स्थानहरूमा सिसिटिभी जडान गरी अवलोकन गर्ने/गराउने, दैनिक आउने व्यक्तिहरूको अभिलेख राख्ने र बिचौलियाहरूको प्रवेश तत्काल निषेध गरिने छ । कार्यालय परिसरमा अनावश्यक भीडभाड हुन नदिनका लागि सम्भव भएसम्म पीडितलाई मात्रै अन्यथा पीडित वा सेवाग्राहीलाई भाषाको समस्या भएमा, विकलाङ्ग वा अशक्त भएको अवस्थामा पीडित सँगै आएका नजिकको व्यक्ति वा निजले इच्छाएको व्यक्तिको पृष्ठभूमि, साथमा आउनुको उद्देश्य र औचित्य बुझेर त्यस्तो व्यक्तिको अभिलेख राखेर मात्रै प्रहरी कार्यालयमा प्रवेश गर्ने दिइनेछ ।  प्रहरी कार्यालयमा कुनै निवेदन, उजुरी दिन वा गुनासो गर्न आएको व्यक्ति आफै उजुरी लेख्न नसक्ने, पढ्न लेख्न नसक्ने अवस्थाको भएमा निजको नजिकको आफन्तलाई रोहबरमा राखी पीडितकै उपस्थितिमा प्रहरीले निवेदन, उजुरी लेख्न सहयोग गर्न सक्नेछन् । कुनै पनि घटना वा अपराधलाई सामाजिक रूपमा हल गर्ने, समाजमा नै न्याय निरूपण गर्ने वा दुवै पक्षलाई सहमतिमा ल्याइ मिलापत्र गर्ने उद्देश्यका साथ प्रहरी कार्यालयहरूमा पञ्चायती गर्ने, छलफल गर्ने जस्ता कार्य तत्काल बन्द गरी कानुन बमोजिम काम कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, “कुनै प्रभाव वा दबाबमा नपरी न्यायिक प्रक्रियाको पूर्ण पालना गर्दै शून्य सहनशीलताको नीति अनुरूप प्रचलित कानुनद्वारा निर्देशित विधि र पद्धतिको पालना गर्दै निष्पक्ष, पारदर्शी र गुनासो रहित सेवा प्रवाह गर्न नेपाल प्रहरी सदैव कटिबद्ध रहेको छ ।” काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय तथा सो मातहतका प्रहरी कार्यालयहरूले लापरवाही गर्दै परिपत्रको पालना नगरेमा एवम् प्रहरीको सेवा प्रवाहमा सुधार आउन नसकेको गुनासो प्राप्त भएमा कार्यालय प्रमुखहरूलाई समेत जिम्मेवार बनाई समग्र कार्यसम्पादनमा समेत मूल्याङ्कन गरिने छ ।