प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानवअधिकार संरक्षण एवम् संवर्द्धनमा नेपाल प्रहरी प्रतिवद्ध

२०८०-१०-२८

  • A
  • A-
  • A+
Share

  काठमाडौं, राज्यको कानून कार्यान्वयन गर्ने मुख्य निकायको रूपमा रहेको नेपाल प्रहरीले नागरिकका संविधान प्रदत्त मौलिक हक, प्रचलनमा रहेका राष्ट्रिय कानूनमा व्यवस्था भएका अधिकार तथा नेपाल पक्ष भएका मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूद्वारा सुनिश्चित मानवअधिकारको संरक्षण, संवर्द्धन र परिपूर्तिको लागि सांगठनिक प्राथमिकताको रूपमा अंगिकार गर्दै आएको छ । सोही अनुरूप मानवअधिकार संरक्षण र संवर्द्धनमा नेपाल प्रहरी विगत देखिनै प्रतिवद्ध रही सक्रिय र प्रभावकारी रूपमा काम गर्दै आएको छ । 

नेपाल प्रहरीले कर्मचारीको बोली, व्यवहारमा नम्रता र नागरिकसँग सम्बन्ध सुधारमा ध्यान दिएको छ । यसका लागि मानवअधिकारको संरक्षण र प्रवर्द्धन सम्बन्धी प्रशिक्षक/ प्रशिक्षण तालिम, प्रहरी कारवाही तथा मानव अधिकार तालिम, नागरिकमैत्री प्रहरी सेवा तथा मानवअधिकार विशेष तालिम, अधिकार संरक्षण र प्रवर्द्धनमा नेपाल प्रहरी लगायतका तालिम तथा अनुशिक्षण आयोजना गरी सम्बन्धित कर्मचारीहरूलाई प्रशिक्षण प्रदान गर्दै आएको छ । 

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा मानवअधिकार सम्बन्धी तालिममा २ सय ५७ जना प्रहरी कर्मचारी सहभागी भए । हाल सम्म मानवअधिकार सम्बन्धी तालिममा २८ हजार ९० जना प्रहरी कर्मचारीहरू सहभागी भए । यसैगरी सो अवधिमा मानवअधिकार सम्बन्धी अनुशिक्षण कार्यक्रममा १३ हजार ९६४ जना प्रहरी कर्मचारी सहभागी भए । हाल सम्म  अनुशिक्षणमा ७२ हजार ४०२ जना प्रहरी कर्मचारीहरू सहभागी भए । सो अवधिमा मानवअधिकार सम्बन्धी जनस्तरमा १ सय ६ वटा जनचेतनामूलक कार्यक्रम संचालन गरिएका छन् । ती कार्यक्रममा ३ हजार ८८२ जना सहभागी थिए । साथै हालसम्म ८ सय ३ वटा जनचेतनामूलक कार्यक्रम गरिएको छ । यसबाट २९ हजार ३२३ जना सर्वसाधरण लाभान्वित भएका छन् ।  

नेपाल प्रहरीले मानवअधिकार सम्बन्धी छुट्टै रणनीतिक योजना बनाई कार्यान्वयन गर्दै आएको छ । तालिम, अनुशिक्षण र चेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूबाट मानवअधिकार उल्लंघन भए नभएको भन्नेबारे अनुगमन हुने गरेको छ । यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “मानवअधिकार सम्बन्धी शिक्षा दिन प्रहरी कर्मचारीलाई भिड नियन्त्रण, अपराध अनुसन्धान तथा नियन्त्रण र बल प्रयोगको सिद्धान्त तथा हतियार प्रयोग सम्बन्धी लगायतका तालिममा समेत मानवअधिकार सम्बन्धी विषय समावेश गर्नुका साथै यस सम्बन्धी छुट्टै तालिम तथा अनुशिक्षण समेत दिएका छौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड र संविधानले ग्यारेन्टी गरेको मानवअधिकार संरक्षणमा नेपाल प्रहरी प्रतिवद्ध छ ।” कानूनी शासनलाई आत्मसाथ गर्दै राज्यद्वारा प्रदत्त कानूनी अधिकारहरू र सांगठानिक ऐन, नियम र निर्देशिकाको प्रयोग गरी मानवअधिकार संरक्षण र संवर्द्धन गर्न नेपाल प्रहरीका विभिन्न संरचनागत व्यवस्था क्रियाशील रहेको उहाँको भनाइ छ ।

नेपाल प्रहरीले मानवअधिकार संरक्षणमा टेवा पुर्‍याउन मानवअधिकार सम्बन्धी पाठ्यक्रम समेत निर्माण गरेको छ । मानवअधिकार स्थायी आदेश जारी गरेको छ । साथै प्रहरी द्वैमासिक मानवअधिकार विशेषाङ्क २०६२, मानवअधिकार प्रशिक्षण पुस्तिका समेत प्रकाशन गरिएको छ । यस कार्यले मानवअधिकार सम्बन्धी कानूनहरू, निर्देशनहरू, अन्तर्राष्ट्रिय मापदण्डको बारेमा प्रहरी अधिकृत तथा जवानहरूलाई ज्ञान प्राप्त गर्न मदत गरेको छ ।  

मानवअधिकार संरक्षण र प्रवर्द्धनका लागि नेपाल प्रहरी प्रधान कार्यालयमा छुट्टै मानवअधिकार उल्लंघन अनुगमन इकाई रहेको छ । इकाईले गरेका कामबारे इकाई प्रमुख प्रहरी उपरीक्षक अपिल राज बोहरा भन्नुहुन्छ, “संविधान, प्रचलित राष्ट्रिय कानून तथा नेपाल पक्ष भएका मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा व्यवस्था भएका मानवअधिकारको संरक्षण र संवर्द्धन गरी काम गर्न यस इकाई क्रियाशील रहेको छ । मानवअधिकार उल्लंघन घटनाबाट पीडित व्यक्तिले जुनसुकै माध्यमबाट उजुरी गर्न सक्ने, प्राप्त उजुरी उपर छानबिन गर्ने/गर्न लगाउने गरिएको छ ।”  

मानव अधिकारको विषयमा शून्य सहनशिलताको नीति अवलम्बन गरी प्रत्येक प्रहरी कार्यालयहरूमा गुनासो सुन्ने अधिकारी साथै टेलिफोन, इमेल, वेवसाइट, सामाजिक सञ्जाल लगायत जुनसुकै माध्यमबाट गुनासो गर्न सक्ने व्यवस्था छ । चालु आर्थिक वर्षमा परेका ३४ गुनासोमध्ये २० फर्छौट भई १४ अनुसन्धानरत रहेका छन् । 

राष्ट्रिय मानवअधिकार आयोग तथा अन्य संवैधानिक आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र अदालतबाट प्राप्त सिफारिस, निर्णय तथा आदेशको कार्यान्वयन गर्ने गरिएको छ । नेपाल प्रहरीमा रहेका सबै मुद्धा चल्ने युनिटमा हिरासत व्यवस्थापन अधिकृतको व्यवस्था गरिएको छ । कानुन कार्यान्वयनको क्रममा मानवअधिकारको हनन् नहोस् भन्ने नेपाल प्रहरीको अभिप्राय छ । यसप्रति सचेत हुँदै राष्ट्रिय मानवअधिकार आयोग लगायत अन्य संघसंस्थासँग समन्वय गरी काम गरिएको छ । नेपाल प्रहरीको मानवअधिकारप्रतिको नीतिबाट आमनागरिकले न्यायको अनुभव गरेका छन् । यसबाट अपराध रोकथाम, क्षमता अभिवृद्धि, शान्ति सुरक्षा, अपराध अनुसन्धान आदि विषयमा सहयोग पुग्नुको साथै मानवअधिकार संरक्षण र प्रवर्द्धनमा राज्यले अख्तियार गरेको नीति कार्यान्वयनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचार
२० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान
२०८१-०६-१४

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको   छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही शाखामा संचालित छैटौं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।  उक्त तालिम समापनका अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक कार्कीले प्रशिक्षार्थीहरूमा तालिमले क्षमता तथा दक्षता अभिवृद्धि गरेको चर्चा गर्दै प्राप्त ज्ञान, सीपको उपयोग गरी आ-आफ्नो कार्यक्षेत्रमा संगठनको नीति बमोजिम श्रव्यदृश्य सामग्री निर्माणमा व्यावसायिकता प्रदर्शन गर्नुपर्ने बताउनुभयो । श्रव्यदृश्य सामाग्रीले दुर्घटना लगायत अपराधको अनुसन्धान तथा नियन्त्रण गर्न देखि प्रहरीले सम्पादन गर्ने हरेक कार्यमा सहयोगी हुने उल्लेख गर्दै प्रशिक्षणको क्रममा सिकाइएका विभिन्न ज्ञान सीप प्रहरी कर्मचारीहरूको व्यवसायिक तथा व्यक्तिगत जीवनमा समेत फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रशिक्षककोतर्फबाट प्रशिक्षक विष्णु प्रसाद घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा तालिम संयोजक प्रहरी निरीक्षक सचिता थापा मगरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान १४ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा श्रव्यदृश्य आधारभूत छैटौं समूहद्वारा तयार पारिएको जन्मभूमी सम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो । 

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म २०५ जनाको मृत्यु
२०८१-०६-१४

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म २ सय ५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २ सय ५ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा २ सय ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ७ सय ४५ जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ४ हजार २ सय २२ जनाको उद्दार गरिएको छ । साथै बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।  साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

बाढी,पहिरो लगायतका विपद्‍मा परी हालसम्म १४८ जनाको मृत्यु
२०८१-०६-१३

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसो १५:०० बजे सम्म १ सय ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ४३ जना, कोशी प्रदेशमा १६ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ८६ जना गरी जम्मा १ सय ४८ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १८ जना, कोशी प्रदेशमा ६ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ६८ जना गरी जम्मा १०१ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ३ सय ८४  जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ३ हजार ६ सय ६१ जनाको उद्दार गरिएको छ । साथै बाढी पहिरोमा परी ५५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।  साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।

आइपिएस तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत
२०८१-०६-०४

काठमाडौं, मित्रराष्ट्र भारतको सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमी, हैदरावादमा सञ्चालित Basic Training Course for IPS Officer (76 RR-2023) तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत हुनुभएको छ । मल्ललाई The Best Gentleman’s Probationer for PT पुरस्कारद्वारा पुरस्कृत गरिएको हो ।दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकालको समेत उपस्थिति रहेको थियो । सन् २०२३ नोभेम्बर १३ देखि सुरू भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरु विजय थापा, सनम मल्ल, गोपाल प्रसाद श्रेष्ठ, प्रभात लक्सम लिम्बु र झरना सोनार गरी ५ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म २१० जनाको मृत्यु
२०८१-०५-१२

काठमाडौं, अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म २ सय १० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २९ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३८ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २ सय १० जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ४२ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ६८ जना र सुदूरपश्‍चिम प्रदेशमा ३६ जना गरी जम्मा २ सय ७२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा ३३ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा १ सय १ जना गरी जम्मा २ सय १५ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४३ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५२ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा ४ सय ८ घर डुबानमा परेका छन् । ३ सय ६५ वटा घर, १ सय २६ वटा गोठ, ५३ वटा पुल, ७ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ९ सय ७२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ६ हजार ४९ घर परिवार विस्थापित भएका छन् ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म २०८ जनाको मृत्यु
२०८१-०५-११

काठमाडौं, अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म २ सय ८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २९ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २ सय ८ जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ४२ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ६७ जना र सुदूरपश्‍चिम प्रदेशमा ३६ जना गरी जम्मा २ सय ७१ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा ३३ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा १ सय १ जना गरी जम्मा २ सय १५ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४४ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५३ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा ४ सय ८ घर डुबानमा परेका छन् । ३ सय ६४ वटा घर, १ सय २६ वटा गोठ, ५२ वटा पुल, ६ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ९ सय ७२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ६ हजार ४९ घर परिवार विस्थापित भएका छन् ।