प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कमाण्ड तथा स्टाफ तालिमका अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण

२०८०-११-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं,  सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित कमाण्ड एण्ड स्टाफ कोर्स सि.सं.३० का तालिमरत ६२ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको मंगलबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको थियो । 

सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो । कार्यक्रममा नेपाल प्रहरीसँग सम्बन्धित ‘विलिभ इन ब्लु’ नामक वृतचित्रको समेत प्रस्तुतीकरण गरिएको थियो  ।

अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभयो । साथै उहाँले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरुपण गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी ढंगले यसको निरन्तरता हुने बताउनुभयो । 

सो अवसरमा सह-सेनानी राकेश बस्नेतले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरुको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । 

तालिमरत अधिकृतहरूमा २ जना महिला र ६० जना पुरूषको सहभागिता रहेको थियो । जसमध्ये भारत, पाकिस्तान, कोरिया, माल्दिभ्स, केन्या र नाईजेरीयाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूकोसमेत सहभागिता रहेको थियो । 


सम्बन्धित समाचार
श्रव्यदृश्य आधारभूत तालिम उद्‌घाटन
२०८१-०५-०६

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखामा संचालन हुने छैंटौ समूहको श्रव्यदृश्य आधारभूत तालिमको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‌घाटन गर्नुभयो ।सो अवसरमा प्रहरी नायव महानिरीक्षक कार्कीले प्रशिक्षार्थीहरूले पूर्णरूपमा समर्पित, लगनशील एवं दत्तचित्त भएर प्रशिक्षणमा सहभागी हुनुपर्नेमा जोड दिँदै प्राप्त ज्ञान, सीपबाट श्रव्यदृश्य सामग्री निर्माणमा थप व्यावसायिक बन्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो । घटना, दुर्घटना तथा अपराधको अनुसन्धान गरी घटनामा संलग्न दोषीलाई कारबाहीको दायरमा ल्याउन श्रव्य दृश्य सामग्रीको सहयोगी भूमिका रहने उहाँले चर्चा गर्नुभयो । तालिमलाई उपलब्धिमूलक बनाउन आवश्यक रहेको उल्लेख गर्दै  तालिमबाट अनन्त ज्ञान आर्जन गरी सिकेका सीपलाई कार्यक्षेत्रमा प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक सचिता थापा मगरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  कुल ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार १ जना र प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान १४ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

३९ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक उन्नत तालिम प्रदान
२०८१-०४-२३

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३९ जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हलुका) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक उन्नत तालिम २८ औं समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।   तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले प्रशिक्षार्थीहरूमा व्यावसायिक सीप अभिवृद्धि गरेको चर्चा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक रावलले तालिमबाट प्राप्त सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै साउन ४ गतेबाट संचालित १६ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ५ जना, प्रहरी सहायक हवल्दार २० जना र प्रहरी जवान १४ जना गरी जम्मा ३९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । 

नेपाल प्रहरी श्रीमती संघको ४०औं वार्षिक साधारणसभा सम्पन्न
२०८१-०४-१५

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सोही संघको ४०औं वार्षिक साधारणसभा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित एक कार्यक्रम बीच सम्पन्न भएको छ ।सो अवसरमा संघकी अध्यक्ष श्रीमती कुँवरले संघलाई आउँदा दिनहरूमा अझ प्रभावकारी र गुणस्तरीय बनाई उत्कृष्ट संस्थाको रूपमा विकास गर्न सबै सदस्यहरूले मन, वचन र कर्मले काम गर्नुपर्ने बताउनुभयो । सम्पूर्ण प्रहरी कर्मचारीका परिवारहरूको साझा चौतारीको रूपमा रहेको संघलाई आगामी दिनमा समयसापेक्ष, अझ सबल र सुदृढ बनाउँदै लैजानुपर्ने उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा सोही संघकी महासचिव श्रीमती अनुश्री पाख्रीनले संघबाट आर्थिक वर्ष २०८०।०८१ मा भएका कार्य प्रगति तथा वार्षिक गतिविधि विवरण तथा संघकी कोषाध्यक्ष श्रीमती कल्पना गिरीले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आय-व्यय र आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आय-व्ययको विवरण प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा उपस्थित संघका पदाधिकारीहरू तथा सदस्यहरू बीच संघको काम कारवाही, आगामी योजना तर्जुमा लगायत विविध विषयमा छलफल समेत भएको थियो ।  

नेपाल प्रहरी श्रीमती संघलाई शैक्षिक सामग्री हस्तान्तरण
२०८१-०४-११

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघलाई KOICA Nepal ले शैक्षिक सामग्री तथा न्यानो कपडा हस्तान्तरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा KOICA Nepal को सहकार्यमा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रमबीच ‍शैक्षिक सामग्री तथा न्यानो कपडा हस्तान्तरण गरिएको हो ।  कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले हस्तान्तरण गरिएका शैक्षिक सामग्री नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौंमा अध्ययनरत अमर अशक्त प्रहरी परिवारका सन्तती तथा कमजोर आर्थिक अवस्था भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रदान गरिने बताउनुभयो । साथै न्यानो कपडा नेपाल प्रहरी अस्पतालको कोल्ड वार्डमा उपचारार्थ रहनु भएका घाइते तथा बिरामीहरूलाई उपलब्ध गराउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । आगामी दिनमा पनि नेपाल प्रहरी श्रीमती संघ र KOICA Nepal  बीच मानव कल्याण तथा सामाजिक सेवाको क्षेत्रमा समन्वय र सहकार्य रहिरहने विश्वास उहाँले  व्यक्त गर्नुभयो । कार्यक्रममा KOICA Nepal का प्रतिनिधि Gibum Kim ले आगामी दिनमा पनि नेपाल प्रहरी श्रीमती संघसँग समन्वय र सहकार्य गर्दै जाने बताउनुभयो । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी कोषाध्यक्ष कल्पना गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, KOICA Nepal का पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

नवनियुक्त प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०४-०९

काठमाडौं, खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६७ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकालले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।२०८० कात्तिक ३ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८१ असार ९ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६७ र  खुलातर्फ २९ जना गरी कुल ९६ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका छन् । जसमा ९ जना महिला रहेका   छन् । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८१ साउन ३ गतेको निर्णयले साउन ९ गतेदेखि लागू हुने गरी प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ढकालले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै आम नागरिकको केन्द्र विन्दुमा रहेर कर्तव्य निर्वाह गर्न निर्देशन दिनुभयो । आगामी दिनमा निष्ठावान्, इमानदार र जवाफदेही भई अझ बढी व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारीलाई वहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू एवम् प्रहरी अधिकृत तथा जवानहरू समेतको उपस्थिति रहेको थियो ।

नेपाल पूर्व प्रहरी कलाकार संघको विधिवत् उद्‌घाटन
२०८१-०४-०६

काठमाडौं, अवकाश प्राप्त प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार आयोजित कार्यक्रम बिच नेपाल पूर्व प्रहरी कलाकार संघको विधिवत् उद्‍घाटन गर्नुभयो । उक्त अवसरमा कलाकार मिथिला शर्मा बोहराद्वारा स्थापित २०८१ को गोपाल योञ्जन सङ्गीत साधना पुरस्कार प्रसिद्ध संगीतकार शिला बहादुर मोक्तानलाई, चेतन कार्की गीति वाङ्‍मय पुरस्कार प्रसिद्ध गीतकार श्रीपुरूष ढकाललाई, हाडा एन्ड पाल हास्य वाङ्‍मय पुरस्कार प्रसिद्ध हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरियो ।   उक्त संघका अध्यक्ष राम बहादुर थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघकी वरिष्ठ सल्लाहकार मिथिला शर्मा बोहराले स्रष्टा सम्मान कार्यक्रमको बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै उक्त संघका संस्थापक संरक्षक क्षेत्र बहादुर गुरूङले स्वागत मन्तव्य व्यक्त तथा कोषाध्यक्ष गीता गुरूङले संघको उद्देश्य बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, प्रहरी अधिकृतहरू, अवकाश प्राप्त प्रहरी कर्मचारीहरू, नेपाली संगीत, साहित्य तथा वाङ्‍मय विधामा उल्लेखनीय योगदान पुर्‍याउनु भएका महानुभावहरूको उपस्थिति रहेको थियो ।