प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामूलक गीति वृत्तचित्र विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८०-११-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा लागूऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामूलक ‘गीति वृत्तचित्र’ विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लागूऔषध नियन्त्रण ब्यूरो र टोखा नगरपालिकाको संयुक्त आयोजनामा टोखा नगरपालिका-३ स्थित तुरचामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।  

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले गीति वृत्तचित्र विमोचन गर्नुका साथै वृत्तचित्र निर्माणमा सहयोग पुर्‍याउने महानुभावहरूलाई सम्मान तथा कदरपत्र प्रदान गर्नुभयो । 

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले लागूऔषध प्रयोगकर्तालाई लागू पदार्थप्रति वितृष्णा उत्पन्न गराउने तथा यसको नकारात्मक असरबारे सचेतना जगाउँदै स्वस्थ्य समाजको परिकल्पनाको उद्देश्यसहितको सन्देशमूलक गीति वृत्तचित्र निर्माण कार्य सराहनीय रहेको बताउनुभयो । व्यक्ति, परिवार, समाज मात्र नभई समग्र राष्ट्रको लागि नै गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषध दुर्व्यसन नियन्त्रण र निराकरणमा समयमै एकजुट हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले लागूऔषधको प्रयोगले उत्पादनशील र श्रृजनशील युवा जनशक्ति गुमाउनुको साथै आपराधिक गतिविधि समेत वृद्धि हुने हुँदा लागूऔषध नियन्त्रण र रोकथामको लागि कानून कार्यान्वयन गर्ने निकायका साथै अभिभावक वर्ग, स्थानीय समाज र सरोकारवाला समेतको संयुक्त सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “प्रत्येक घरघरमा प्रहरी पुग्न नसक्ने हुँदा लागूऔषधको दुर्व्यसनबाट कुनै पनि व्यक्तिलाई बच्न, बचाउन अभिभावक र परिवारनै प्रथम संरक्षक एवम् सचेतकको भूमिकामा रहनुपर्ने हुन्छ ।” लागूऔषध रोकथाम तथा नियन्त्रणको क्षेत्रमा सहकार्य र साझेदारीसहितको सहभागिता प्रवर्द्धनमा नेपाल प्रहरी समाजसँग हातेमालो गर्दै अघि बढ्ने उल्लेख गर्दै यस कार्यमा सबै सरोकारवाला निकायहरूको समेत निरन्तर साथ र सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो । 

  कार्यक्रमका सभाध्यक्ष टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले धन्यवाद तथा समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द थपलियाले लागूऔषध दुर्व्यसन तथा रोकथामका उपायहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । साथै टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । 

उक्त गीति वृत्तचित्रमाथि अन्तरक्रिया समेत भएको कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, स्थानीय जनप्रतिनिधिहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विद्यार्थीहरू, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । 



सम्बन्धित समाचार
अपराध विरूद्ध सबै एकजुट भएर आगडि बढ्नुपर्ने- प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८१-०५-१६

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विश्वमा हाल संगठित र संक्रमणकालीन अपराध चुनौतिको रूपमा देखा परिरहेको बताउँदै त्यस्ता अपराध विरूद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस, २०२४ को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आइतबार आयोजित ‘वाकाथोन’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त विचार व्यक्त गर्नुभएको हो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विभिन्न देशमा हुने संगठित अपराधहरू एक पक्षीय प्रयासले मात्र नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै यसको लागि सबै राष्ट्रहरूबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्ने बताउनुभयो । यस कार्यक्रम विश्वव्यापी शान्ति, सुरक्षा र न्यायको लागि हाम्रो एकता र प्रतिवद्धताको प्रतिक समेत रहेको उहाँले बताउनुभयो । उक्त वाकाथोनको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र UNOPS का सिनियर प्रोजेक्ट म्यानेजर Stephen Anthony Otter ले बेलुनमा बाँधिएको "International day of Police cooperation, 2024 " लेखिएको ब्यानर संयुक्त रूपमा उडाएर शुभारम्भ गर्नुभएको थियो ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाली सेनाका सहायक रथी, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, अन्य विशिष्ट आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृतहरूको सहभागितामा नेपाल प्रहरी प्रधान कार्यालयबाट सुरू भएको पदयात्रा दरबारमार्ग, केशरमहल, नारायणहिटी हुँदै पुन: नेपाल प्रहरी प्रधान कार्यालयमा पुगेर समापन समारोहमा परिणत भएको थियो । इन्टरपोल स्थापना दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको रूपमा मनाउने घोषणा गरिए अनुरूप यस वर्ष पनि विभिन्न कार्यक्रमहरू आयोजना गरि मनाउने सन्दर्भमा उक्त वाकाथोन आयोजना गरिएको हो ।  

प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा नवनिर्मित भवनहरू उद्‍घाटन
२०८१-०५-१२

रूपन्देही, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत तथा भान्साघर लगायतका भवनहरूको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन   गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन, अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण तथा कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नागरिकको सुरक्षाका लागि मुलुकका विभिन्न स्थानहरूमा विद्यमान चुनौतीहरूको सामना गर्दै हर प्रहर ड्युटीमा तैनाथ रहने प्रहरी कर्मचारीहरूलाई आवश्यक सुरक्षा मापदण्ड सहितको सुविधा सम्पन्न कार्यालय र आवासको व्यवस्था गर्नु संगठनको उच्च प्राथमिकता रहेको उल्लेख गर्दै नव-निर्मित संरचनाहरूले प्रहरी काम कारवाहीलाई थप व्यवसायिक बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रहरीलाई आफ्नो बोली व्यवहारमा शिष्टता ल्याउन, आफ्नो काम कारबाही इमान्दार र पारदर्शी भई कार्यसम्पादन गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘नेपाल प्रहरी संगठन आम नेपाली नागरिकहरूको आशा र भरोसाको केन्द्र हो । यो संगठनको पवित्र उद्देश्य निस्वार्थ राष्ट्र र नागरिक सेवा हो । यस पवित्र मन्दिरमा बसि छद्‍म भेषमा कोही कसैलाई अपवित्र काम, आचरण र व्यवहार गर्ने छुट छैन । त्यस्ता गलत प्रवृत्तिहरूले आफूले गरेको गलत कार्यको नतिजा तत्कालै भोगेका छन् र भोग्ने छन् । सहि र गलतको मूल्यांकन नागरिक समाजले गरेको छ र संगठनले पनि अवस्य गर्नेछ ।’ प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित भवन नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत सम्पत्ति भएको चर्चा गर्दै प्रहरी र जनताबीचको समन्वय र सहकार्यले अपराध रोकथाम तथा अनुसन्धान थप प्रभावकारी हुने बताउनुभयो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ र रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक रंजित सिंह राठौरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. रोशन सारूमगरले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल १४ करोड ९६  लाख ९४ हजार ५ सय ९१ रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।उद्‍घाटन समारोहमा जिल्लाका विभिन्न पालिकाका प्रमुखहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न     संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।    

नेपाल प्रहरी कार्ययोजना-२०८० र कार्यसम्पादन सम्झौता २०८०/०८१ को वार्षिक समीक्षा तथा आ.व. २०८१/०८२ को कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न
२०८१-०५-०६

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना-२०८० र आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन सम्झौताको वार्षिक समीक्षा कार्यक्रम बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवर र विभागीय प्रमुखहरू तथा प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौतामा हस्ताक्षर समेत भएको छ । आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौतामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र प्रशासन विभाग प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, प्रदेश समन्वय विभाग प्रमुख, कार्य विभाग प्रमुख, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी अस्पतालका निमित्त मेडिकल डाइरेक्टरबीच हस्ताक्षर भएको हो । साथै प्रहरी महानिरीक्षक कुँवर र लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख र सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच भर्चुअल माध्यमबाट हस्ताक्षर भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढिकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर प्रहरी महानिरीक्षक र विभागीय प्रमुखहरू तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबीच भएको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यसम्पादन सम्झौता कार्यान्वयन र कार्य विवरणको विश्लेषण गर्दा कार्य प्रगतिको अवस्था सन्तोषजनक रहेको तथा आज सम्पन्न भएको कार्यसम्झौताको लक्ष्य प्राप्ति गर्न शुरू समयदेखि नै सबैजना कटिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । मुलुकभर शान्ति सुव्यवस्था कायम राख्न, अपराध रोकथाम तथा नियन्त्रण गर्न विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवम् व्यावसायिक सुदृढिकरणको माध्यमबाट प्रहरी सेवा प्रवाहको गुणस्तर वृद्धि गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास र रूपान्तरण गर्न तथा उद्देश्य हासिल गर्न हाम्रो कार्य योजनामा रहेका सम्पूर्ण लक्ष्य प्राप्ति अत्यन्त जरूरी रहेको विचार उहाँले व्यक्त गर्नुभयो । हाम्रा लक्ष्य प्राप्तिका दौरानमा केही कठिनाईहरू उत्पन्न भएमा प्रहरी नेतृत्वबीच वृहत छलफल र विश्लेषण गरी समस्याको समाधान निकाल्न सदैव तत्पर रहनुपर्ने बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘लक्ष्यहरू निर्धारण गरेर जिम्मेवारीप्रति प्रतिबद्ध, नतिजामूखी, उत्तरदायी र जफावदेही बनाउँदै तोकिएको कार्य समयसीमाभित्र सम्पन्न गरी समग्र प्रहरीको कामकारबाहीको स्तर वृद्धि गर्न यस कार्यसम्पादन सम्झौता करार एक महत्वपूर्ण साधन हुनेमा विश्वस्त छु ।’ कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएका कार्यहरूमा मात्र सीमित नभई यसका अतिरिक्त संगठनका वृहत्तर हित र प्रहरी कर्मचारीहरूको वृत्तिविकासको निमित्त अन्य नवीनतम र रचनात्मक कार्य गर्न समेत उहाँले निर्देशन दिनुभयो ।  वार्षिक समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान व्यूरो, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिहरूले आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता अन्तर्गत पूर्ण सम्पन्न क्रियाकलापहरू, कार्यसम्पादन सम्झौता अन्तर्गत कार्यान्वयनमा रहेका क्रियाकलापहरू र संक्षिप्त कार्य प्रगति विवरण लगायतका विषय समेटिएका थिए ।यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले भर्चुअल माध्यमबाट आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढिकरण, गुनासो व्यवस्थापन, अनुगमन तथा सुपरीवेक्षण लगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा देखिएका समस्याहरू लगायतका विषयहरू समेटिएका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

साहित्य, कला र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा प्रहरी सर्जक तथा कलाकारहरूको भूमिका प्रशंसनीय छ - प्रहरी महानिरीक्षक कुँवर
२०८१-०५-०५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको इतिहास, परम्परा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, संरक्षण र जगेर्ना गर्ने कार्यमा नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त प्रहरी स्रष्टा एवम् कलाकारहरूले निर्वाह गरेको भूमिका ज्यादै प्रशंसनीय रहेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित प्रहरी सर्जक तथा कलाकार भेटघाट कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले समाजमा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने कार्यको साथै साहित्य, कला, खेलकुद र सामाजिक सेवा जस्ता क्षेत्रमा विभिन्न भूमिकामा रहेर नेपाल प्रहरीले अतुलनीय योगदान गर्दै आइरहेको चर्चा गर्नुभयो । विगतमा नेपाल प्रहरीको सदस्यको हैसियतले अवकाश प्राप्त प्रहरी कर्मचारीहरूले पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै अवकाश प्राप्त जीवनमा साहित्य लेखन, कला र संस्कृतिको माध्यमबाट समाजलाई सकारात्मक दिशातर्फ निर्देशित गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक कुँवरले भेटघाट कार्यक्रमले बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरूबीचको सहकार्य, समन्वय र एकता थप मजबुत हुने धारणा व्यक्त गर्नुभयो । अपराध रोकथाम, विपद् उद्दार, शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरीको शाख र प्रतिष्ठालाई जीवन्त राख्न बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरूले जसरी उल्लेख्नीय भूमिका निर्वाह गरिरहनु भएको छ त्यसरी नै आगामी दिनमा समेत साहित्य र कलाको माध्यमबाट नेपाल प्रहरीको प्रतिष्ठामा थप श्रीवृद्धि गर्नुहुनेछ भन्ने विश्वास लिएको उहाँले बताउनुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्यक्रममा सहभागी भएका प्रहरी सेवाबाट अवकाश प्राप्त सर्जक तथा कलाकारहरूलाई सम्मान समेत गर्नुभयो ।  उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले पूर्वजहरूले गरेका राम्रा कामलाई अझ राम्रो गर्दै जाने, नसके त्यसलाई मर्न नदिने प्रण गरिएको बताउनुभयो । यस्ता कामलाई निरन्तरता दिन, रचना सिर्जना संरक्षण गर्न र कल्याणकारी कार्य गर्नेबारे विचार विमर्श भइरहेको उहाँले उल्लेख गर्नुभयो ।  कार्यक्रममा धन्यवाद व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नेपाल प्रहरीका सर्जक र कलाकारहरूको सिर्जनाबाट जनसम्पर्क स्थापित गर्न र प्रहरी कार्यमा सहयोग पुर्‍याउन सहजता ल्याएको चर्चा गर्नुभयो । साहित्य, कला र संगीतमार्फत प्रहरीका सर्जक तथा कलाकारहरूले प्रहरी संगठन, समाज र राष्ट्रलाई विशेष योगदान दिइरहेको उहाँले उल्लेख गर्नुभयो ।   अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले आजको भेटघाट विशिष्ट भेटघाट भएको उल्लेख गर्दै संस्थागत रूपमा कार्यक्रम आयोजना गरेकोमा प्रहरी संगठनप्रति विशेष आभार व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।   प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायत नेपाल प्रहरीका बहालवाला तथा पूर्व प्रहरी सर्जकहरू एवम् नेपाल पूर्व प्रहरी कलाकार संघका पदाधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूबीच प्रहरी सेवा र सिर्जनाबारे छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।   

नेपाल प्रहरी कानून कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि सक्षम - प्रहरी महानिरीक्षक कुँवर
२०८१-०४-२६

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी कानून कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि त्यतिकै सक्षम रहेको बताउनुभएको छ । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार प्रहरी उपरीक्षक नवीन किशोर प्रधानद्वारा लिखित ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र ‘लेखान्त’ नाटक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।प्रहरी महानिरीक्षक कुँवरले साहित्य लेखन आफैमा एउटा कठिन परिश्रम भएको एवम् ज्ञान र क्षमताको साथै धैर्यताको पनि निकै आवश्यकता रहेको चर्चा गर्दै आम जनमानसमा रहेको प्रहरी प्रतिको लाठी र बन्दुक मात्र बोक्ने भन्ने परम्परागत बुझाइलाई चिर्न यस कृति प्रशंसनीय रहेको बताउनुभयो । अहिलेको विद्यमान परिवेशमा प्रहरीको कार्यक्षेत्र शान्ति सुरक्षा अमनचयन कायम गर्ने, अपराध न्यूनीकरण र अनुसन्धान गर्ने तथा विविध प्रहरी कार्यद्वारा सुरक्षाको प्रत्याभूति प्रदान गर्नुका साथै प्रहरीमा बहुआयमिक प्रतिभा समेत हुन्छ भन्ने तथ्य आजको नाटक तथा कथासङ्ग्रहको लोकार्पणले प्रष्फुटित गरेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले वंश परम्परा सम्बन्धी मोह, सामाजिक रूपान्तरण, नयाँ र पुरानो पुस्ताबीचको मानसिक मतभेद जस्ता सामाजिक विषयवस्तु समेटिएको लेखान्त नाटक तथा हालको सामाजिक एवम् राजनीतिक वस्तुस्थितिमा आधारित ‘सादृश्य विम्ब’ सामाजका विविध पक्षहरूलाई उजागर गर्दै नयाँ दृष्टिकोण प्रदान गर्ने र पाठकहरूको मन मस्तिष्कमा दीर्घकालीन प्रभाव पार्ने साहित्यिक सिर्जनका रूपमा रहने अपेक्षा लिएको बताउनुभयो । साथै उहाँले प्रहरी उपरीक्षक नवीन किशोर प्रधानलाई बधाई दिँदै आगामी दिनमा अझ नवीन र सिर्जनशील रहँदै साहित्यिक क्षेत्रमा थप अग्रसर भई ख्याती प्राप्त गर्न सफल हुन शुभकामना समेत व्यक्त गर्नुभयो ।उक्त अवसरमा समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका साथै विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त कथासङ्ग्रह र नाटक लोकार्पण गर्नुभएको थियो । साथै प्रहरी महानिरीक्षक कुँवरले कृति प्रकाशनमा संलग्न महानुभावहरूलाई कदरपत्र समेत प्रदान गर्नुभयो ।उक्त अवसरमा प्राज्ञ डा. मधुसूदन गिरीले ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र डा. भक्त राईले ‘लेखान्त’ नाटक कृतिको समीक्षा गर्दै कृतिमा समेटिएका विषयवस्तु एवम् लेखकको लेखन कौशलताका बारेमा चर्चा गर्नुभएको थियो । डा. छायादत्त न्यौपाने ‘बगर’ ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा कृति सर्जक प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले कृति सम्बन्धी आफ्नो धारणा सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । अक्षरधाम प्रकाशनका प्रबन्धक निर्देशक देवराज सिंखडाको सभाध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, अवकाश प्राप्त एवम् वहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू,  साहित्यकारहरू, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०४-२४

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ साउन २२ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उहाँलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । साथै नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८१ जेठ १३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षक ई. दिपेश जोशीलाई समेत प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रदर्शन गरेको दक्षता, कुशलता, इमानदारिता र राष्ट्र, जनता एवम् संगठनप्रति पुर्‍याएको योगदानको उच्च मूल्याङ्कनको आधारमा पदोन्नति भएको उहाँले चर्चा गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले सांगठनिक सुदृढिकरण र संगठनको बृहत्तर हितको लागि पदोन्न्ति भएका प्रहरी अधिकृतहरूले अझ बढी क्रियाशील र समर्पित भएर विशिष्टिकृत ढंगबाट कार्यसम्पादन गर्ने विश्वास लिएको उल्लेख गर्दै व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितको लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । नेपाल प्रहरीको कार्यसम्पादनको स्तरलाई नविनतम प्रविधिको प्रयोगसँगै समायानुकूल परिमार्जन गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी सेवा प्रतिको अपेक्षा एवम् गुनासो बढिरहेको र त्यसका लागि उच्च मनोबल भएको प्रहरी आवश्यक रहेको हुँदा यस तर्फ हामी सबैले मनन गरी अगाडि बढ्न जरूरी रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘हामीले चाहेको खण्डमा हामी प्रतिको समाजको दृष्टिकोण, समाजमा परिवर्तन र सुधार ल्याउन सम्भव भएकोले यो कार्यको शुरूवात आफैबाट हुन जरूरी छ । तसर्थ यो वर्दीको इज्जत बढाउनेतर्फ हरदम केन्द्रीत हुनुहोस् । यो नै हामी सबैको हितमा हुन्छ । परम्परागत सोँचाइ र शैलीलाई त्यागेर आ-आफ्नो स्थानबाट व्यावसायिक इमानदार, निष्ठावान् र कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’  समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले संगठनको नीतिलाई अंगिकार गर्दै कार्यसम्पादन गर्ने बताउनुभयो । पदोन्नतिसँगै थपिएको जिम्मेवारीमा जवाफदेहिता, पारदर्शिताका साथ आफ्नो भूमिका निर्वाह गर्ने एवम् संगठनको श्रीवृद्धिमा सदैव कटिवद्ध रहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।