निबन्ध प्रतियोगिता र सचेतनामूलक नाटक प्रदर्शनी सम्पन्न
२०८०-११-१८
- A
- A-
- A+
भक्तपुर, नेपाल प्रहरी श्रीमती संघद्वारा भक्तपुर दरबारस्क्वायरमा आयोजित ‘अपराध अनुसन्धानमा नेपाल प्रहरीको भूमिका विषयमा निबन्ध प्रतियोगिता र लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामूलक “समान युग” नाटक प्रदर्शनी कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका अध्यक्ष रजनी जोशी र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले निबन्ध प्रतियोगितामा प्रथम हुने महेन्द्र शान्ति माबि बालकोटमा अध्ययनरत समता सापकोटा, द्वितीय हुने पदम माबि दरबारस्क्वायरमा अध्ययनरत कौशुभ थापा र तृतीय हुने बासु माबि ब्यासीमा अध्ययनरत सुप्रेम सुलुलाई पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजमा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतना फैलाउनु पर्ने आवश्यक रहेको उल्लेख गर्दै सभ्य र सुरक्षित समाज निर्माणमा यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । सो अवसरमा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले लैंगिक हिंसा रोक्न जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले धन्यवाद ज्ञापन गर्दै बालबालिकाहरूमा अन्तरनिहीत क्षमताको उजार गर्ने उद्देश्यले निबन्ध प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । आफ्नो टोल छिमेकमा हुने लैंगिक तथा घरेलु हिंसालाई न्यूनीकारण गर्ने उद्देश्यले सचेतना कार्यक्रमको समेत आयोजना गरिएको उहाँले बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक दिप्ती कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सचेतनामूलक नाटक एवम् गीति नाटक प्रस्तुत गरिएको थियो ।
उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षक/शिक्षिका एवम् विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकृत एवम् जवानहरू लगायतको उपस्थिति रहेको थियो ।