प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नयाँ भर्नाको लागि नेपाल प्रहरीमा अनलाइनबाटै आवेदन दिने प्रणाली प्रभावकारी

२०८१-०१-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरीले नयाँ भर्नाका लागि गरिने छनौट प्रकृयामा आवेदन दिन अनलाइन प्रणालीबाट शुरूवात गरेको छ । यसबाट नयाँ प्रवेश गर्न चाहने इच्छुक सबैलाई आवेदन दिन सम्बन्धित प्रहरी कार्यालयसम्म पुग्नु पर्ने बाध्यता हट्न गएको छ । आवेदन दिन लामो लाइनमा बस्नुपर्ने झन्झटबाट अधिकांश सेवाग्राही मुक्त भएका छन् । 

नेपाल प्रहरीले शुरूवात गरेको Online Recruitment Management System (ORMS) प्रणालीले उक्त सुविधा प्रदान गरेको हो । यसबाट इन्टरनेट भएको जुनसुकै ठाउँबाट अनलाइन मार्फत आवेदन फारम भर्न सकिन्छ । विसं २०८० मा जनपद तर्फको प्रहरी निरीक्षक र प्राविधिक समूह तर्फका प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा भर्नाको सूचना प्रकाशन गरी ओआरएमएस प्रणाली शुरू गरिएको छ ।

नेपाल प्रहरीमा रिक्त पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखा भर्ना छनौट शाखाले नयाँ भर्ना सम्बन्धी सूचना प्रकाशनको साथै सम्पूर्ण भर्ना प्रकृयाको काम गर्दछ । मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई भन्नुहुन्छ, “यस प्रणालीको प्रयोगले नेपाल प्रहरीमा लिइने नयाँ भर्ना छनौटको प्रकृयालाई थप  सहज, सरल, पारदर्शी र प्रभावकारी बनाएको छ । विगतमा स्वयं उपस्थित भई आवेदन फाराम बुझाउनु पर्ने झन्झटिलो प्रकृयालाई यस प्रणालीले धेरै हदसम्म सहज बनाएको छ । ओआरएमएसको प्रयोगले आवेदकलाई मात्र नभई नेपाल प्रहरीको भर्ना छनौट शाखाको समेत काम कारवाहीलाई थप सहज र व्यवस्थित बनाएको छ । साथै यो नेपाल प्रहरीलाई समयानुकूल सूचना प्रविधिमा लाने प्रयास पनि हो ।”

चालु आर्थिक वर्ष २०८०/०८१ मा आव्हान गरिएको नयाँ भर्नामा ६ हजार ७ सय ६४ वटा आवेदन परेका छन् । तीमध्ये जनपद तर्फको प्रहरी निरीक्षक पदमा २ हजार ८ सय २८ वटा र प्राविधिक समूह तर्फका विभिन्न पदहरूमा ३ हजार ९ सय ३६ वटा रहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “नेपाल प्रहरी कार्ययोजना,२०८० को लक्ष्य अनुरूप प्रहरी सेवा प्रवाहमा प्रविधिमैत्री प्रणालीको विकास गर्ने उद्देश्यले उक्त प्रणाली संचालनमा ल्याइएको हो । यसले नेपाल प्रहरीको भर्ना छनौट प्रकृयामा सहजता ल्याएको छ । अनलाइन प्रणालीमा रिक्त पदहरूबारे विस्तृत जानकारी, आवेदन दिने तरिका लगायतका सम्बन्धित सम्पूर्ण जानकारी राखिएको छ । यस प्रणालीलाई अझै प्रभावकारी र नयाँ भर्ना लिईने सबै पदहरूलाई अनलाइन प्रणालीमा लैजान पहल गरिएको छ ।”

ओआरएमएस मार्फत आवेदन दिने आवेदकहरूले नेपाल प्रहरीको नयाँ भर्ना सम्बन्धी पोर्टल https://careers.nepalpolice.gov.np मा गई आफ्नो खाता दर्ता गर्न सक्छन् । खाताभित्र प्रवेश गरी सजिलै रिक्त रहेका पदहरूमा आफ्नो योग्यता अनुसार आवेदन दिन सकिने व्यवस्था रहेको छ । यसका साथै ओआरएमएस संचालनमा आएसँगै भर्ना छनौट प्रकृयामा संलग्न जनशक्ति न्यूनीकरण भएको देखिन्छ ।

यस प्रणालीको सहयोगी कार्यालयको रूपमा नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालय रहेको छ । निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण कुमार भण्डारी भन्नुहुन्छ, “अनलाइन प्रणाली मार्फत आवेदन दर्ता, ईमेल प्रमाणीकरण, जन्म मिति सेटअप, खाली पद छान्ने, आफ्नो प्रोफाइल पूरा गर्ने, रिक्त पदका लागि आवेदन दिने र स्विकृत भएपछि दरखास्त फारम र प्रवेशपत्र डाउनलोड गरी परीक्षामा सामेल हुन सकिन्छ । परीक्षा सञ्चालन गर्दा समेत Facial Recognition System को परीक्षण गरी परीक्षार्थीहरूलाई परीक्षामा सामेल गराइएको थियो । सो System को परीक्षण सफल भएको हुनाले आगामी भर्ना प्रक्रियामा यस System लाई अझ प्रभावकारी रूपमा प्रयोग गरी भर्ना प्रक्रियालाई व्यवस्थित र वैज्ञानिक बनाउने योजना रहेको छ ।” 

सम्बन्धित समाचार
पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी
२०८३-०३-१९

काठमाडौं, नेपाल प्रहरीले मनसुनजन्य विपद्‌का घटनाहरूमा जनधनको क्षति हुन नदिन एवम् उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी सम्पन्न गरेको छ । विपद्‌को अवस्थामा तत्काल परिचालन हुनेगरी नेपाल प्रहरी प्रधान कार्यालयदेखि चौकी स्तरसम्मका प्रहरी इकाईमा आवश्यक उपकरण सहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा सुरक्षा निकायहरूको सहभागितामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षको “मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३" स्वीकृत गरेको छ । सोही कार्ययोजना बमोजिम नेपाल प्रहरीले ‘विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८३’ निर्माण गरी कार्यान्वयनमा ल्याएको हो ।नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘समाजमा शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिरहेन नेपाल प्रहरी विपद् व्यवस्थापनमा पनि सक्रिय छ । विपद् व्यवस्थापनमा प्रभावकारी जनशक्ति परिचालन र कुशल उद्धारका लागि आवश्यकता अनुसार अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिएको छ । विशेष गरी मनसुनजन्य विपद् हुनसक्ने जोखिमयुक्त क्षेत्र र सुरक्षित स्थानको जिल्लागत रूपमा पहिचान गरिएको, विपद्‌को प्रकृति अनुसार उद्धार सामाग्रीहरूको मर्मत सम्भार गरी तयारी अवस्थामा राखिएको र तत्काल परिचालन हुने गरी प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाईहरू तयारी हालतमा रहेका छन् ।’विपद्को अवस्थामा तत्काल परिचालन हुने गरी विपद् विशष्टिकृत कार्यालयहरू नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा २ प्लाटुन र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्ममा १/१ प्लाटुन उद्धार टोली २४ सै घण्टा उपकरण सहित तैनाथ रहने छन् । नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् मातहत, प्रदेश प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाईहरूमा विपद् प्रतिकार्यका लागि १०,०८५ जना तत्काल परिचालित हुनसक्ने गरी तयारी हालतमा रहने छन् । प्रभावकारी खोज तथा उद्धार एवम् व्यवस्थापनका लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्महरूले आवश्यकता अनुसार तत्काल वा चरणवद्ध रूपमा प्रहरी परिचालन   गर्नेछन् ।नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘मनसुन तथा भारी वर्षाको जोखिमलाई ध्यानमा राखी सबै सुरक्षा निकायहरूको सहभागितामा मनसुनजन्य उद्धार अभ्यासहरू गरिएको छ । जनधनको क्षति न्यूनीकरणको लागि वृहत्त रूपमा सामुदायिक सचेतना कार्यक्रमहरू संचालन गरिएको     छ । विपद् व्यवस्थापनमा त्रुटि रहित कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई विपद् उद्धार सम्बन्धि अनुशिक्षण समेत प्रदान गरिएको छ ।’ नेपाल प्रहरीका विशिष्टिकृत इकाईहरूको रूपमा रहेका नेपाल प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नेपाल प्रहरी केनाईन कार्यालयको जनशक्ति समेत मनसुन पूर्वतयारी कार्य योजना अन्तर्गत रही आवश्यक समन्वय गरी तयारी अवस्थामा राखिएको छ । प्रशिक्षण प्रदायक कार्यालयहरू तथा विशिष्टिकृत इकाईहरूको जनशक्ति विपद्‌को समयमा परिचालित हुँदा उद्धार सामग्री नभएको खण्डमा नजिकको प्रहरी गण, विपद् विशिष्टिकृत कार्यालयबाट उद्धार सामग्रीहरू लिई परिचालित हुने छन् । विशेष परिस्थितिमा अपुग हुने उद्धार सामग्रीहरू आवश्यकता अनुसार स्थानीय तह, विभिन्न संघ-संस्थासँग समन्वय गरी व्यवस्थापन गरिनेछ ।

प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न
२०८३-०३-१६

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रम बीच सोही प्रतिष्ठानमा संचालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३४औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक अनोज भण्डारी, सर्वद्वितीय एवम् प्रहरी कारबाही तथा युक्ति प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. राज कुमार श्रेष्ठ, सर्वतृतीय एवम् कवाज प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक बसन्त समाल मगर, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. ज्योति शर्मा, शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी नायव निरीक्षक डम्बर सार्की र चाँदमारी प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक सन्तोष चन्दलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गर्नुभयो । साथै उहाँले तालिम सम्बन्धी गतिबिधि समेटिएको पुस्तक ‘सङ्कल्प’ को विमोचन समेत गर्नुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले प्रशिक्षार्थीहरूलाई सफलतापूर्वक आधारभूत तालिम सम्पन्न गरेकोमा हार्दिक बधाई दिँदै आगामी व्यावसायिक जिवनको शुभाकामना समेत दिनुभयो । नेपाल प्रहरीमा प्राविधिक समूहले अपराध नियन्त्रण एवम् अनुसन्धान, प्रहरी कार्य, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन लगायतका संगठनको मुख्य जिम्मेवारीका क्षेत्रहरूमा अतुलनीय सहयोग पुर्‍याउँदै आएको चर्चा गर्दै तालिमबाट आर्जन गरेको पेशागत ज्ञान, सीप र कौशललाई सम्पूर्ण प्रशिक्षार्थीहरूले मन, वचन र कर्मले आ-आफ्नो कार्यक्षेत्रमा लागु गर्दै उच्चस्तरको कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । राज्यले सुम्पेको जिम्वारीलाई कुशलतापूवर्क वहन गर्न सक्ने दक्ष तथा योग्य जनशक्ति उत्पादनको लागि प्रतिष्ठान सदैव प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण गराउनु भएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत माघ २१ गतेबाट संचालित १०० दिन कार्यावधिको उक्त तालिममा प्राविधिक प्रहरी निरीक्षक २४ जना, प्राविधिक प्रहरी नायव निरीक्षक ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक २८ जना गरी कुल ६३ जना प्रशिक्षार्थीहरूले सफतलापूर्वक तालिम सम्पन्न गरेको जानकारी दिनुभयो ।   कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको साथै प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 

एक महिनाको अवधिमा १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ
२०८३-०३-११

काठमाडौं, नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।  जसमध्ये उपत्यकाबाट १ सय ६९ जना, कोशी प्रदेशबाट २ सय १२ जना, मधेश प्रदेशबाट ७३ जना, बागमती प्रदेशबाट १ सय ३७ जना, गण्डकी प्रदेशबाट ४६ जना, लुम्बिनी प्रदेशबाट १ सय ८२ जना, कर्णाली प्रदेशबाट ५२ जना, सुदूरपश्चिम प्रदेशबाट १ सय १५ जना र लागूऔषध नियन्त्रण ब्यूरोबाट ५० जना पक्राउ परेका हुन् ।    सो अवधिमा अवैध लागूऔषध गाँजा ३ हजार ७ सय ३० किलो २ सय ६५ ग्राम ७ सय १५ मिलिग्राम, चरेस ७ सय ४६ ग्राम ७ सय ६४ मिलिग्राम, हेरोइन २ किलो ६ सय ८६ ग्राम १ सय ७६ मिलिग्राम, अफिम ९३ किलो ८ सय ३२ ग्राम ८ सय ३७ मिलिग्राम, कोकिन १ किलो ५ सय ग्राम, पोलेन ८ किलो ७ सय ५१ ग्राम, नियन्त्रित लागूऔषध डाईजेपाम २ हजार ३ सय ३५ एम्पुल, फेनारगन १ हजार ७ सय ९४ एम्पुल, बुप्रेनोर्फिन १ हजार ९ सय २२ एम्पुल, ट्रामाडोल ४ लाख ६२ हजार २ सय १० ट्याब्लेट, नाइट्राभेट १२ हजार २ सय १४ ट्याब्लेट र स्पास्मो ५ हजार ४ सय ५९ ट्याब्लेट प्रहरीले बरामद गरेको छ ।    लागूऔषध कारोबार लगायतका आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत भइरहेको सन्दर्भमा सबै प्रहरी कार्यालयहरूले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ । साथै प्रहरीले समुदाय-प्रहरी साझेदारी अन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगबाट सामाजिक तथा व्यक्तिगत जीवनमा पर्न जाने नकारात्मक असरहरूको बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ ।

एक महिनाको अवधिमा २ हजार १ सय ८२ जना फरार प्रतिवादीहरू पक्राउ
२०८३-०३-११

काठमाडौं,  नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार १ सय ८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट १७ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३ सय २६ जना, कोशी प्रदेशबाट ३ सय ५ जना, मधेश प्रदेशबाट ५ सय ३९ जना, बागमती प्रदेशबाट ३ सय ६० जना, गण्डकी प्रदेशबाट १ सय ३२ जना, लुम्बिनी प्रदेशबाट ३ सय २० जना, कर्णाली प्रदेशबाट ६३ जना र सुदूरपश्चिम प्रदेशबाट १ सय २० जना पक्राउ परेका हुन् । उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको ८ सय ७ वर्ष १ महिना १३ दिन कैद सजाय कार्यान्वयनमा आएको छ । साथै उनीहरूबाट २३ करोड ४४ लाख ४३ हजार ८ सय ९१ रूपैयाँ जरिवाना असुल उपर गरिएको छ । फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ । कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसुर, ठगी लगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान संचालन गरी कार्य गर्दै आइरहेको छ । 

काभ्रे बस दुर्घटना सम्बन्धी छानबिन गर्न समिति गठन
२०८३-०२-३०

काठमाडौं, काभ्रेको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटस्थित सडकमा शुक्रबार दिउँसो भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति शनिबार गठन गरिएको हो ।  बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ८ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य १६ जना यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।  समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य-तथ्य छानबिन गरी ७ दिन भित्र प्रतिवेदन पेश   गर्नुपर्नेछ । 

हिरासतमा मृत्यु प्रकरणमा १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस
२०८३-०२-१२

काठमाडौं, इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक देखि प्रहरी जवान सम्म गरी १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ । हिरासत कक्षमा रहेका सिन्धुली सुनकोशी गाउँपालिका-३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरेको हो ।  जसमध्ये १ जनालाई सचेत गराउने, २ जनालाई ध्यानाकर्षण गराउने, ५ जनालाई सख्त चेतावनी सहित जिम्मेवारीबाट अलग गर्ने, १ जनालाई नसिहत र १ जनालाई ग्रेड घटुवा गर्ने समितिले सिफारिस गरेको छ । साथै समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न, हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने डिउटीका समयमा अन्य काममा संलग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्ने सुझाव दिएको छ । कुनै पनि असामान्य गतिविधि तुरून्तै रिपोर्ट गर्ने प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न लगाउने, विशेषत: अन्तर्जातीय सम्बन्ध, नाबालिग संलग्नता तथा सामाजिक तनाब उत्पन्न हुन सक्ने घटनाहरूमा आवश्यक तथ्य संकलन, पक्षहरू एवम् परिवारजनसँग समन्वय तथा अनुसन्धान सम्बन्धी निर्णयहरूमा कार्यलय प्रमुखको प्रत्यक्ष निगरानी र सक्रिय संलग्नता सुनिश्चितता गर्न समितिले सुभाव दिएको छ । यसैगरी जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापन जस्तो संवेदनशील विषयमा नियमित अनुगमन, निरीक्षण तथा सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाउँदै मुद्दा चलाउने कार्यालयलाई आवश्यक जनशक्ति व्यवस्थापन, घटना एवम् सूचना व्यवस्थापन तथा समन्वयलाई थप सुदृढ गर्न सचेत गराई प्रत्येक प्रहरी इकाइमा आवधिक निरीक्षण, हिरासत अवस्थाको नियमित मूल्याङकन तथा सुधारमुखी कार्य योजना कार्यान्वयन गर्न समेत समितिले सुझाव दिएको छ ।