६ सय ९० किलोग्राम गाँजासहित सुनसरी र मोरङबाट चार जना पक्राउ
२०८१-०२-०२
- A
- A-
- A+
सुनसरी, देवानगंज गाउँपालिका-५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४ सय ४० किलोग्राम, १ लाख ५० हजार भारतीय रूपयाँ र ५२ हजार नेपाली रूपैयाँसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी नगरपालिका-१४ बस्ने २५ वर्षीय चन्द्र बहादुर पाख्रिन, मोरङ लेटाङ नगरपालिका-६ बस्ने बल बहादुर लिम्बु र सुनसरी देवानगंज गाउँपालिका-४ बस्ने ३० वर्षीय अरबिन्द पाल रहेका छन् । इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरीले राजगंज सिनबारीबाट साहेबगंजतर्फ जाँदै गरेको को.१ ख ७१२३ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा १३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक चन्द्र बहादुर तथा ट्रकमा सवार बल बहादुर र अरबिन्दलाई पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१७ आइसिपी रोडबाट अवैध लागूऔषध गाँजा २ सय ५० किलोग्रामसहित धनकुटा सहिदभुमी गाउँपालिका-३ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा प्रदेश १-०२-०२ च. ६३३१ नम्बरको पिकअप भ्यानमा गाँजा अनलोड गर्दै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पिकअपका चालक ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।