लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०२-०७
- A
- A-
- A+
प्युठान, मल्लरानी गाउँपालिका-४ खलङ्गास्थित उद्योग वाणिज्य संघको सभाहलमा लागूऔषध दुर्व्यसन र यसले पार्ने नकारात्मक प्रभावका बारेमा सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा उद्योग वाणिज्य संघ प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो ।
सो अवसरमा प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले लागूऔषधबाट हुने नकारात्मक असरहरूको बारेमा जानकारी दिँदै लागूऔषध दुर्व्यसनीबाट व्यक्तिगत जीवन मात्रै नभई पारिवारिक, आर्थिक तथा सामाजिक जीवनमा समेत ठुलो असर पर्ने बताउनुभयो ।
कार्यक्रमका प्रशिक्षक वसन्त पुन, सुन्दर गौतम र जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी सहायक निरीक्षक आकाश खड्काले लागूऔषध सम्बन्धी परिचय र यसले पार्ने नकारात्मक प्रभाव तथा कानूनी सजाय सम्बन्धी व्यवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
उद्योग वाणिज्य संघ प्युठानका अध्यक्ष पशुपतिनारायण नकर्मिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक अभियन्ता, सञ्चारकर्मी, महेन्द्र माध्यामिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।