Oxygen Concentrator हस्तान्तरण
२०८१-०२-१६
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा हिन्दु स्वयम्सेवक संघ नेपाल तथा सेवा इन्टरनेशनल नेपालद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज र कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीलाई २७ थान Oxygen Concentrator हस्तान्तरण गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा हिन्दु स्वयम्सेवक संघ नेपालका राष्ट्रिय संघचालक तथा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिमिल्सिना र सेवा इन्टरनेशनल नेपालका अध्यक्ष अवकाश प्राप्त उपरथी महेश बिक्रम कार्कीले लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंजका प्रहरी उपरीक्षक डा. अच्युत विक्रम हमाललाई १४ थान र कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीका प्रहरी नायव उपरीक्षक डा. सरोज सिंहलाई १३ थान Oxygen Concentrator हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले स्वास्थ्य सेवा जटिल र महंगो भएको सन्दर्भमा यस्ता चुनौतीलाई सामना गर्न आज प्रदान भएका स्वास्थ्य सामग्रीहरू स्वास्थ्य सेवा प्रवाहका लागि महत्वपूर्ण रहेको बताउनुभयो । मानव धर्मलाई सर्वोपरी ठानी उपलब्ध गराइएका सामग्रीहरूले चरणबद्ध क्षमता विकास, विस्तार र आधुनिकीकरणका लागि योगदान गर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिमिल्सिनाले सामाजिक क्षेत्रमा काम गर्दै आएको हिन्दु संघले मानव सेवाभाव अनूरूप स्वास्थ्य सामग्री प्रदान गरेको बताउनुभयो । साथै अवकाश प्राप्त उपरथी महेश बिक्रम कार्कीले मानव सेवामा सेवा इन्टरनेशनलले गर्दै आएका कामको चर्चा गर्दै आज प्रदान गरिएका सामग्रीबाट प्रहरी अस्पताल लाभान्वित हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायतका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।