प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरू

२०८१-०२-२७

  • A
  • A-
  • A+
Share

मोरङ, नेपाल सरकार गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ शुरू भएको छ । 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विराटनगरमा आइतबार आयोजित समारोह बीच उक्त गोष्ठीको उद्‌घाटन गर्नुभयो ।

उक्त अवसरमा गृहमन्त्री लामिछानेले विपद जोखिम न्यूनीकरणका लागि पूर्व तयारी, सरोकारवाला निकाय सँगको समन्वय र  समयमै स्रोत साधन उपलब्ध गराउन प्रदेश र स्थानीय तहसँग समन्वय गर्नुपर्ने बताउनुभयो । नीति नियमको अधिनमा रहेर कानून पालना गर्दै उत्कृष्ट काम गर्न उहाँले निर्देशन दिनुभयो ।

गृहसचिव एकनारायण अर्यालको अध्यक्षतामा संचालित उद्‍घाटन सत्रमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलले स्वागत मन्तव्य तथा गोष्ठीको उद्देश्यबारे जानकारी दिनुभएको थियो ।

गोष्ठीको उद्‍घाटन सत्रमा कोशी प्रदेश अन्तर्गतका १४ जिल्लामध्ये ५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभयो ।

गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, नेपाली सेनाका रथी अशोकराज सिग्देल क्षेत्री, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका पदाधिकारीहरू, कोशी प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ । दुई दिवसीय उक्त गोष्ठी सोमबार सम्पन्न हुने कार्यक्रम रहेको छ ।


सम्बन्धित समाचार
जनतालाई गुणस्तरीय, आत्मीयतापूर्ण र परोपकारी भावका साथ सेवा उपलब्ध गराउनुपर्ने- प्रधानमन्त्री केपी शर्मा ओली
२०८१-०५-१०

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आधुनिक र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्न सफल भएकोमा बधाई दिँदै यस कार्यालयबाट जनतालाई गुणस्तरीय, आत्मीयतापूर्ण र परोपकारी भावका साथ सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताउनुभएको  छ ।   जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीको नवनिर्मित कार्यालय भवन तथा भौतिक पूर्वाधारहरूको उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो ।  सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको लामो इतिहास र अनुभव रहेको चर्चा गर्दै नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न एवम् अपराध अनुसन्धान तथा रोकथाममा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । आधुनिक प्रविधिको प्रयोग गर्दै आफ्ना कार्यहरू दक्षताका साथ सम्पन्न गर्न समेत नेपाल प्रहरी सक्षम रहेको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले राज्यको शक्तिको दुरूपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने जस्ता क्रियाकलापहरू आपराधिक क्रियाकलाप भएको बताउँदै संविधान र कानून बमोजिम नेपाल प्रहरी आफ्नो कर्तव्य पालना गर्न ढुक्क साथ आगडि बढ्नुपर्ने बताउनुभयो । समाजमा अपराध हुन नदिन र आपराधिक मानसिकता फैलिन नदिन कसैले अपराध गराउन खोजेको छ भने त्यसलाई पहिलेनै पत्ता लगाएर नियन्त्रण एवम् अनुसन्धान गर्न धैरै महत्वपूर्ण भएको उल्लेख गर्दै अपराध रोकथाममा पुरानो तरिकाले मात्र नभई नयाँ कार्यशैलीको विकास गर्दै सुसज्जित बनाई अनुसन्धान भन्दा अगाडिको अनुसन्धान गर्न जरूरी रहेको उहाँले बताउनुभयो । समाजमा शान्ति सुरक्षा खलबलाउने एवम् देशलाई अझ अराजकता तर्फ लैजान खोज्ने विरूद्ध नेपाल प्रहरीले सतर्कता अपनाई काम गर्नुपर्ने बताउँदै आधुनिक प्रविधिको दुरूप्रयोगबाट हुने अपराध नियन्त्रणमा समेत अझ सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।  समारोहमा गृहमन्त्री रमेश लेखकले सरकारले नागरिकलाई सेवा प्रदान गर्ने क्रममा संविधान र कानूनको कार्यान्वयन गर्ने अंग मध्येको नेपाल प्रहरी प्रमुख अंग रहेको बताउँदै मुलुकमा प्रचलित कानून कार्यान्वयन एवम् नागरिकले प्राप्त गर्ने प्रहरी सेवामा नवनिर्मित भवनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । मुलुकमा दिगो शान्ति, सुशासन, विकास र सम्वृद्धिको लक्ष्यसम्म देशलाई पुर्‍याउनको लागि सरकार अगाडि बढेको चर्चा गर्दै सरकारले जनतालाई प्रदान गर्ने सेवामा कुनै किसिमको कमी कमजोरी नहोस् एवम् जनताले विधिको शासन तथा शान्ति सुव्यवस्थाको अनुभूतिका साथै सरकारको लक्ष्य एवम् उद्देश्य अनुरूप नेपाल प्रहरीले कार्य गर्नुपर्ने बताउनुभयो । नेपाल प्रहरीले सीमित स्रोतसाधनका वावजूद पनि उल्लेखनीय कार्य गर्दै आइरहेको चर्चा गर्दै जनताका मुद्दालाई प्राथमिकतामा राखेर उच्च मनोबलका साथ काम गर्न सबै प्रहरी कर्मचारीहरूलाई उहाँले अग्रह समेत गर्नुभयो ।  सो अवसरमा गृहसचिव एकनारायण अर्यालले नवनिर्मित भवनबाट अझ प्रभावकारी सेवा प्रवाह हुने र सेवाग्राही लाभान्वित हुने अपेक्षा रहेको बताउनुभयो । नेपाल प्रहरीलाई समयानुकुल व्यवसायिक एवम् गतिशिल बनाउँदै लैजाने सरकारको नीति अनुरूप नवनिर्मित भवनलाई महत्वपूर्ण उपलब्धीको रूपमा लिएको बताउँदै यसले प्रहरी कर्मचारीको उत्प्रेरणा र मनोबलमात्र अभिवृद्धि नगरी नेपाल प्रहरीका काम कारवाहीलाई नागरिकमैत्री, व्यवसायिक एवम् परिष्कृत बनाउँदै सेवाग्राहीले समेत शान्ति सुरक्षा र अमन चयनको महसुस गरी प्रत्यक्ष रूपमा नागरिकलाई सहज, सुलभ र पारदर्शी सेवा दिनसक्ने विश्वास व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन व्यक्त गर्दै नेपाल प्रहरी स्थापनकालदेखि नै समाजमा हुने हर तरहका अपराधका घटना रोकथाम, नियन्त्रण र अनुसन्धान एवम् शान्ति सुरक्षा कायम राख्ने सन्दर्भमा राज्यको प्रमुख अंगको रूपमा कार्यसम्पादन गर्दै आइरहेको बताउनुभयो । समाजको परिवर्तनको गति र नागरिकको चाहनालाई आत्मसाथ गर्दै प्रहरीको सेवा पनि थप जनमुखी, परिष्कृत, उत्तरदायी, सेवामुखी र सर्वस्वीकार्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय कटिवद्ध रहेको र समयसापेक्ष सांगठनिक विकास तथा प्रहरी सेवामा प्रभावकारीता वृद्धि गर्दै आन्तरिक सुदृढिकरण र शुद्धिकरण गर्ने उद्देश्य कार्यान्वयनलाई प्रमुख प्राथमिकतामा राखिएको उहाँले उल्लेख गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको भौतिक संरचनाहरू व्यवस्थित र गुणस्तरीय हुँदा यसले कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने तथा स्वच्छ कार्यमैत्री वातावरण निर्माण भई आम नागरिकमा हुने सेवा प्रवाह थप गुणस्तरीय एवम् प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । नवनिर्मित सुविधा सम्पन्न भवनले राज्यको प्रमुख सुरक्षा निकायको दरिलो भौतिक उपस्थिति मात्र होइन, नेपाल प्रहरीका काम कारवाहीलाई थप नागरिकमैत्री एवम् परिष्कृत बनाउन समेत महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । नयाँ भवनबाट सम्पादन हुने प्रहरी सेवा प्रवाह पनि थप उर्जामय, नागरिकमैत्री, नविन सोंच र उच्चस्तरको हुनुपर्ने र सम्पादन हुने कार्यशैलीले सेवा प्रवाहमा स्तरवृद्धिको सांगठनिक प्रतिबिम्बित  गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल १ अर्ब २६ करोड ७४ लाख ९६ हजार ९९ रूपैयाँ ८१ पैसाको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।  कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक/ विकास सल्लाहकार युवराज खतिवडा, महान्यायाधिवक्ता रमेश वडाल, प्रतिनिधि सभा सदस्य, नेपाल सरकारका पूर्व मन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुब बहादुर प्रधान, मुख्य सचिव लिलादेवी गड्तौला, कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देल, प्रधानमन्त्रीज्यूको प्रमुख स्वकीय सचिव, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सहसचिवहरू, जिल्ला न्यायाधिश, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिवक्ता, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

निर्माणाधिन प्रतिष्ठानको समयमै गुणस्तरका साथ सम्पन्न गर्न क्रियाशील हुनुपर्ने : गृहमन्त्री रमेश लेखक
२०८१-०४-३२

काभ्रे, गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधिन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन एवम् संरचनाहरू समयमै गुणस्तरका साथ सम्पन्न गर्न निर्माणमा संलग्न सबै सरोकारवाला निकायहरू क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।भारत सरकारको अनुदान सहयोगमा काभ्रेको पनौती नगरपालिका-६ दलिन्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधिन भवन तथा संरचनाहरूको शुक्रबार अनुमगन तथा निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । सो क्रममा उहाँले यस परियोजना महत्वपूर्ण भएको चर्चा गर्दै निर्माण कार्यमा देखिएका समस्या समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उक्त अवसरमा गृहमन्त्री रमेश लेखकले निर्माणाधिन प्रतिष्ठान परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले निर्माण कार्यलाई समयमै सम्पन्न गराउने लक्ष्यका साथ काम भइरहेको चर्चा गर्नुभयो । निर्माणको क्रममा देखा परेका विविध समस्याहरूलाई सम्बोधन गर्न नेपाल सरकार, स्थानीय तह लगायत अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै आइरहेको उहाँले उल्लेख गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, भारतीय राजदूतावास नेपालका प्रथम सचिव अबिनाश कुमार सिंह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षकहरू, पनौती नगरपालिकाका प्रमुख लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले समेत अनुगमन तथा निरीक्षण गर्नुभयो ।नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको उक्त कार्यक्रममा Central Public Works Department (CPWD)  का परामर्शदाता ई. राजेश कुमारले निर्माणाधिन प्रतिष्ठान सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

मानव बेचबिखन विरूद्ध निर्मम भएर अगाडि बढ्नुपर्ने - गृहमन्त्री रमेश लेखक
२०८१-०४-१५

काठमाडौं, गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन तथा ओसारपसार अन्तर्राष्ट्रिय अपराधको रूपमा फैलिएको र यसको दुष्प्रभाव निश्चित देश समाजमा मात्र सीमित नभएको हुँदा यस विरूद्ध शून्य सहनशीलता अपनाई निर्मम भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको आयोजना तथा अनाहत नेपाल, UNODC र Society for Integrated aligned Nepal को सहकार्यमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा मानव बेचबिखन विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । गृहमन्त्री रमेश लेखकले सीमित स्रोत साधनको वावजूद पनि मानव बेचबिखन अनुसन्धान ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार विरूद्धको लडाइँमा प्रहरी मात्र नभएर सम्पूर्ण सरोकारवाला निकाय, स्थानीय तह, शिक्षक, संचारकर्मी लगायतको सहकार्य जरूरी रहेको उहाँले बताउनुभयो । चेतनाको कमीले यस्ता अपराध बढ्ने हुँदा सरोकारवाला निकायहरूले आपसी समन्वय गरी जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले वर्तमान अवस्थामा मानव बेचबिखन तथा ओसारपसार चुनौतिपूर्ण रहेको उल्लेख गर्दै यसको न्यूनीकरण एवम् रोकथामको लागि सबै सरोकारवाला निकायहरू सचेत भएर आपसी सहयोग एवम् समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण एवम् रोकथामको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको प्रयासको प्रशंसा गर्दै ब्यूरोको लक्ष्य प्रति गृहमन्त्रालय सदैव सहयोग र समन्वय गर्न प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । गृह सचिव अर्यालले मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण एवम् रोकथामको लागि ब्यूरोले संचालन गरेको विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आगामी दिनमा अपराधमा फस्न सक्ने तथा अपराधबाट पीडित हुन सक्ने क्षेत्र एवम् समुदाय नजिक पुगेर अझ प्रभावकारी रूपमा संचालन गर्नुपर्ने उल्लेख गर्नुभयो । साथै संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याई पीडितलाई अनुभूति हुने गरी न्याय सम्पादन गर्न ब्यूरो अझ सक्रिय भई कार्य गर्ने विश्वास लिएको उहाँले बताउनुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी सीमित साधन स्रोतका वावजूद पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण एवम् रोकथामको लागि सदैव क्रियाशील रहेको बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार विश्वव्यापी चुनौतिको रूपमा देखिएको उल्लेख गर्दै यसको नियन्त्रण, न्यूनीकरण र रोकथामको लागि सम्पूर्ण सरोकारवाला निकाय, विभिन्न संघसंस्था लगायतको संयुक्त समन्वय तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा नायव महान्यायाधिवक्ता डा. टेक बहादुर घिमिरे, ललितपुर महानगरपालिकाका उपप्रमुख मन्जली शाक्य, UNODC का क्षेत्रीय प्रतिनिधि Marco Teixeria, अनाहत नेपालका अध्यक्ष अशोक कुमार खाँड, Society for Integrated aligned Nepal का अध्यक्ष डिल्ली गिरीले कार्यक्रमको महत्व बारे आ-आफ्नो धारणा सहितको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ओम बहादुर रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक गौतम मिश्रले मानव बेचबिखन अनुसन्धान ब्यूरोको गतिविधि सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा मानव बेचबिखन तथा ओसारपसार विरूद्ध चेतनामूलक नृत्य, कविता वाचन एवम् श्रब्यदृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक, काठमाडौं/ललितपुर/ भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू, संचारकर्मीहरू, शिक्षक, विद्यार्थीहरू लगायत अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 

गृहमन्त्री रमेश लेखकद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन
२०८१-०४-०२

काठमाडौं, गृहमन्त्री रमेश लेखकले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहमन्त्री लेखकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले कानूनी व्यवस्था कायम गर्न, शान्ति सुरक्षा तथा अपराध अनुसन्धान एवम् नियन्त्रण गरी मुलुक वा समाजलाई न्याय दिने र सशस्त्र द्वन्द्वको क्रममा जीवनको पर्वाह नगरी निर्भिकतापूर्वक आफ्नो कर्तव्य पालना गर्ने सवालमा नेपाल प्रहरीले उत्कृष्ट कार्य गरेको चर्चा गर्नुभयो । गृहमन्त्री लेखकले नेपाल प्रहरीको इतिहास गर्व गर्न लायक रहेको उल्लेख गर्दै सीमित साधन स्रोतका वावजूद पनि शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान एवम् विपद्को समयमा उद्दार गर्न, जोखिमबाट बचाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । लोकतन्त्रको आधारभूत मान्यता विधिको शासनलाई लागू गर्नु नेपाल प्रहरीको पहिलो काम रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, ‘तपाईहरूले गर्नुभएको काम जनताले अनुभूति गर्ने विषयसँग जोडिन्छ । त्यसतर्फ यथेष्ट ध्यान रहनेछ भन्ने आग्रह गर्न चाहन्छु । निष्पक्षता, पारदर्शिता र व्यावसायिकतामा कुनै हालतले कमि हुनु भएन र यससँग सम्झौता हुन सक्दैन ।’ प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नुपर्ने बताउँदै उहाँले यसका लागि जे जति प्रेरणादायी काम गर्नुपर्छ मन्त्रालय सदैव प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । गृहमन्त्री लेखकले मानिसलाई कुनै पनि विपद् वा समस्या परेको बेला सबै भन्दा पहिला प्रहरीकोमा पुग्ने चर्चा गर्दै  पीडामा भएका व्यक्तिहरूको समस्या सम्बोधनका लागि प्रहरी थप सक्रिय हुन निर्देशन दिनुभयो । प्रहरी संगठनलाई थप व्यवस्थित, क्रियाशील र सुदृढ बनाउनका लागि प्रहरीसँग सम्बन्धित ऐनको समसामयिक संशोधन र परिमार्जनलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्ने उहाँले बताउनुभयो ।  सो अवसरमा गृहसचिव एकनारायण अर्यालले प्रहरीले सीमित स्रोत र साधनका वावजूद अपराध नियन्त्रण, अनुसन्धान तथा विभिन्न प्राकृतिक प्रकोपका घटनाहरूमा अग्रपंक्तिमा रही निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै प्रहरीले कर्तव्य पालनाको सिलसिलामा भोग्नुपरेका समस्याहरूको समाधानका लागि सरोकारवाला मन्त्रालयहरूसँग समन्वय गरिरहेको र प्रहरी ऐनमा समेत समयसापेक्ष परिमार्जन गर्न मन्त्रालय कटिवद्ध रहेको बताउनुभयो । नेपाल प्रहरीको विकल्प भनेको सुधारिएको नेपाल प्रहरी नै रहेको बताउँदै गृहसचिव अर्यालले भन्नुभयो, ‘प्रहरी भनेको राज्य हो, राज्यले भेदभाव गर्न पाइँदैन । प्रहरीले स्वतन्त्र हिसाबले काम गरे मात्र संगठन अझ मजबुत हुन्छ ।’ प्रहरीको सक्रियताले अपराध नियन्त्रण तथा अनुसन्धान थप प्रभावकारी र राजस्व संकलनमा समेत उल्लेख्य वृद्धि भएको चर्चा गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई प्रविधिको प्रयोग गरी उच्च मनोबलका साथ व्यावसायिक ढंगले कार्यसम्पादन गर्न निर्देशन समेत दिनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गृहमन्त्रीज्यू एवम् गृहसचिबज्यूबाट व्यक्त भएको सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि संगठन पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने, अपराधको नियन्त्रण तथा अनुसन्धान र जनधनको सुरक्षा गर्ने मूलभूत दायित्व वहन गर्ने जिम्मेवारीलाई विषम परिस्थितिहरूमा समेत संगठनका सदस्यहरूले सफलतापूर्वक निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । आगामी दिनहरूमा उत्पन्न हुन सक्ने चुनौतिपूर्ण र असहज परिस्थितिहरूको सामना गर्न र आम नागरिकलाई शान्ति सुरक्षा र अमनचयनको प्रत्याभूति दिलाउन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले नविनतम चुनौतिका रूपमा देखा परेका संगठित अपराध, लागूऔषध, मानवबेचबिखन, साइबर एवं विद्युतीय कसूर, अवैध हातहतियार ओसारपसार, बहुमूल्य सामग्रीहरूको ओसारपसार, आर्थिक अपराधलाई निर्ममतापूर्वक कानूनी दायरामा ल्याउन नेपाल प्रहरी कटिवद्ध रहेको बताउनुभयो । अपराधका नयाँ प्रवृत्तिहरूको पहिचान गर्दै तिनलाई निस्तेज गर्न नेपाल प्रहरीले आफ्नो क्षमता विस्तारका साथै अन्तर्राष्ट्रिय प्रहरी निकायहरू सँगको समन्वयलाई पनि प्राथमिकतामा राखेर कार्य गर्दै आएको उहाँले बताउनुभयो ।निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लेखक समक्ष नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी मनोबल, उत्प्रेरणा र सुपरिवेक्षण, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, उपलब्धि, भावी योजना, चुनौति, अपेक्षा र प्रहरी समायोजन लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम सम्पन्न
२०८१-०३-१२

काठमाडौं, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम २६ जुन २०२४ नेपाली सेनाको मुख्यालय जंगी अड्डाको रिपुमर्दिनी सभामण्डपमा बुधबार सम्पन्न भएको छ । गृह मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रमको सुरूमा गृहमन्त्री लामिछाने, गृह मन्त्रालय तथा विभिन्न मन्त्रालयका पदाधिकारीहरू, सुरक्षा निकायका अधिकारीहरू, स्काउट, विभिन्न क्याम्पस तथा विद्यालयका विद्यार्थीहरू एवम् सरोकारवाला निकायहरूका प्रतिनिधिहरूको सहभागितामा लागूऔषध सम्बन्धी विभिन्न चेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍याली भृकुटीमण्डप, भद्रकाली हुँदै उक्त सभामण्डपमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले गृह मन्त्रालयद्वारा प्रकाशित ‘सुरक्षित जीवन’ नामक जर्नल २१औँ संस्करणको लोकार्पण गर्नुभयो । उहाँले दिवसलाई सफल पार्न सहयोग गर्ने नेपाली सेना, नेपाल प्रहरी संगीत विद्यालय, सशस्त्र प्रहरी बल सांगितिक बाद्यबाधन गुल्म, नेपाल स्काउट, प्याब्सन लगायतका विभिन्न संघसंस्थालाई प्रशंसापत्र वितरण गर्नुको साथै  आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट हुन सफल नयाँ जीवन पुनर्स्थापना केन्द्र बागलुङ र सियान रिह्‍याबिलेशन हेटौंडालाई प्रमाणपत्र प्रदान गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछानेले लागूऔषध प्रयोग तथा बेचबिखन आजको समाजको प्रमुख समस्या रहेको उल्लेख गर्दै यसको समाधानमा सरोकारवाला चार वटै मन्त्रालय एकै ठाउँमा उभिएर देशको युवा बचाउन लागि पर्ने बताउनुभयो । उहाँले सीमित स्रोतका बावजुद धेरै जिम्मेवारी बोकेको प्रहरीलाई कर्तब्यनिष्ठ भएर लागूऔषध कारोबारीलाई कानूनको दायरामा ल्याउन निर्देशन दिनुभयो । दुर्व्यसनीलाई समाजमा पुनर्स्थापित गराउन सबैले मदत गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।  उक्त अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले आ-आफ्नो विचार व्यक्त गर्दै लागूऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रणमा आफू र आफ्नो मन्त्रालय कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।  उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका अध्यक्ष तथा गृह मन्त्रालयका निमित्त गृह सचिव झक्क प्रसाद आचार्यले देशको चिन्ताको रूपमा रहेको लागूऔषध नियन्त्रण र नियमनको मुख्य जिम्मेवारी बोकेको गृहमन्त्रालयले जिम्मेवारी निर्वाह गर्न गैरसरकारी संघसंस्था, नागरिक समाज लगायत विभिन्न सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी समाजको साझा उद्देश्य प्राप्ती र सुखी समाज निर्माणमा आफ्ना गतिविधिहरू निर्देशित र केन्द्रीकृत गर्ने बताउनुभयो । गृह मन्त्रालयका सह-सचिव ई. गोगन बहादुर हमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेसफाडा नेपाल, रिकभरिङ नेपाल, एफडिडिआरका प्रतिनिधिहरूले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । ‘लागूऔषध दुरूपयोग विरुद्ध लडौं रोकथाममा जोड दिऔं’ भन्ने मूल नाराकासाथ सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले सङ्गीत प्रस्तुती गरेको थियो भने लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो समेत प्रदर्शनी गरिएको थियो । साथै विभिन्न विद्यालयका विद्यार्थीहरूले लागूऔषध सम्बन्धी सचेतनामूलक कार्यक्रम तथा नृत्य प्रस्तुती गरेका थिए ।   गृह मन्त्रालयका निमित्त गृह सचिव झक्क प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा, निमित्त सशस्त्र प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेल, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, नागरिक समाज, संचारकर्मीहरू, विद्यार्थी, अभिभावक एवम् आमन्त्रित महानुभावहरूको समेत उपस्थिति रहेको थियो ।  

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा योग विज्ञान शिविर कार्यक्रम सम्पन्न
२०८१-०३-०५

काठमाडौं, दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा पतंजली योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित एक दिवसीय योग विज्ञान शिविर, २०८१ कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ ।   कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले तन्दुरूस्त शरीर र स्वस्थ मानसिकता एवम्   व्यायामले निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिवद्धताको आवश्यकता रहेको बताउनुभयो । स्वस्थ शरीर र स्वस्थ मानसिकताले गर्ने निर्णय सबै भन्दा महत्वपूर्ण हुने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘योग, ध्यान र अभ्यासले जसरी स्वस्थ रहन्छौं हाम्रो सोच्ने क्षमतालाई पनि त्यसले प्रभाव पार्छ । हामीले गहन जिम्मेवारी लिएका छौं, हाम्रो एकाग्रता, सोंच, चुस्तता, मानसिक र शरीरिक स्वास्थ्य देश र सामाजको लागि महत्वपूर्ण हुन्छ । स्वस्थ मानिसकताका साथ आगाडि बढ्न सक्यौं भने हाम्रो निर्णयले समाजले सुरक्षित रहेको महसुस गर्दछ ।’ गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्ने चर्चा गर्दै त्यसका लागि शरीरिक र मानसिक हर हिसाबले चुस्त दुरूस्त हुन जरूरी रहेको बताउनुभयो । संगठनको प्रत्येक व्यक्तिको निर्णय महत्वपूर्ण हुने बताउनुहुँदै कानूनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमानदारिताका साथ काम गरेमा समाज परिवर्तन हुने विचार उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले योगले आत्मा र शरीरको सम्बन्ध सुधार गर्ने बताउँदै मस्तिष्कको असीमित क्षमतालाई उजागर गर्न योग विज्ञान महत्वपुर्ण हुने उल्लेख गर्नुभयो । देश र जनाताको सेवामा दिन रात खटिने नेपाल प्रहरीका सदस्यहरूलाई व्यस्त, चुनौतिपूर्ण र कठिन जीवनशैलीमा योग अभ्यासले शारीरिक र मानसिक रूपले थप स्वस्थ, संवेदनशील र सचेत बन्न मद्दत पुर्‍याई सेवा प्रवाहमा समेत प्रभावकारिता ल्याउने विचार उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिबृद्धि भई प्रत्यक्ष रूपमा लाभान्वित भएको विश्वास व्यक्त गर्नुभयो । एकै दिनमा योग सम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सम्भव नहुने बताउँदै उहाँले योगको सही अभ्यास र निरन्तरताका लागि यो कार्यक्रम सहायकसिद्ध हुने अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले निश्चित आसन, विधि र पद्धतिको अवलम्बनद्वारा गरिने योगाभ्यासबाट शरीरमा स्फूर्ति बढ्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोंचतर्फ व्यक्तिलाई उत्प्रेरित गर्नुका साथै स्वअनुशासन र आध्यात्मिक अनुशासनतर्फ डोर्‍याउन समेत मद्दत पुग्ने बताउनुभयो । मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गरी शारीरिक, मानसिक र आध्यात्मिक अनुभूतिलाई सन्तुलनमा राखी मानव जीवनलाई शान्त, रचानात्मक र उत्पादनमूलक बनाउन योग प्रभावकारी सिद्ध भएको र यसले समाजमा अपराधका घटनाहरू समेत न्यूनिकरण हुने अपेक्षा लिएको उहाँले बताउनुभयो । शान्त, धैर्यवान भई विवेकपूर्ण निर्णय गर्नुपर्ने प्रहरी अधिकृत तथा जवानहरूको मन एवम् मस्तिष्क स्थिर हुन जरूरी रहेको उल्लेख गर्दै उहाँले नेपाल प्रहरीमा नियमित योगसँग अभ्यस्त गराउने उद्देश्यका साथ तालिम प्रदायक निकायहरूमा संचालित तालिम कार्यक्रममा योगलाई अनिवार्य समावेश गराउँदै आएको बताउनुभयो ।  सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्र, पतंजली युवा नेपाल समितिका केन्द्रीय संयोजक लोकनाथ खनाल र महिला पतंजली योग समिति नेपालका सह केन्द्रीय प्रभारी अर्चना घिमिरेलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । साथै सोही अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई पतंजली योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले कृतज्ञताको चिनो प्रदान गर्नुभएको थियो ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा पतंजली योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले योग शिक्षाका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्रले योगाभ्यास गराउनु भएको थियो ।   कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षक, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लगायत पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, पतंजली योग समिति नेपालका पदाधिकारी एवम् योग गुरूहरू, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागिता रहेको थियो ।