प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विवाहको वहानामा चीन पुर्‍याई मानव बेचबिखन गर्ने महिला पक्राउ

२०८१-०३-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, विवाहको वहानामा चीन पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका-१ जोगीदह घर भएकी ३१ वर्षीया सुन्दरी राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्दार भई नेपाल फर्कीएकी पीडितको उजुरीको आधारमा जाहेरी दिएपश्‍चात मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

राईले पीडितलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत कुराकानी गरी आफूले चिनियाँ नागरिकसँग विवाह गरेर चीन आएको १० वर्ष भयो, चीनमा धेरै राम्रो हुन्छ, तिमी पनि विवाह गरेर चीनमा आउ, विवाह गर्ने केटासँग मेरो चिनजान रहेको छ, केटा धनी र राम्रो छ भनी प्रलोभन देखाई पीडितलाई काठमाडौंको ठमेलमा चिनियाँ केटासँग भेट गराई २०८० फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याई १ लाख ५० हजार रूपैयाँमा चिनियाँ नागरिकलाई बेचबिखन गरेको अनुसन्धानबाट खुल्न आएको   छ । 

राईलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित पक्राउ
२०८२-०३-२९

काठमाडौं, बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित नागार्जुन नगरपालिका-१५ कारखाना चोक बस्ने ४६ वर्षीय प्रेम गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  थाई एयरवेजको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट १३ हजार युरो, २३ हजार ५ अमेरिकी डलर, ६ हजार स्वीस फ्रान्क र १० हजार ८ सय ७० थाई भाट फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

डलर साटीदिन्छु भनि ठगी गर्ने चार जना पक्राउ
२०८२-०३-२८

काठमाडौं, डलर साटीदिन्छु भनि ठगी गरेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-१ बोडे बस्ने २८ वर्षीय पर्वत तामाङ भन्ने कर्म वाङगेल पाइन, २५ वर्षीय प्रकाश तामाङ भन्ने सूर्य बहादुर पाइन, ३६ वर्षीय सागर भन्ने सन्तबिर पाइन र ललितपुर, ललितपुर महानगरपालिका-१६ धापाखेल बस्ने ३५ वर्षीय बिष्णु कुमार रूम्बा रहेका छ्न् ।  पीडितलाई आफुसँग ६ हजार अमेरिकन डलर छ, ७ लाख नेपाली रकम दिनु भनि असार २२ गते भक्तपुर चागुँनारायण नगरपालिका-४ हलछापस्थित जंगलमा लगि नक्कली पेस्तोल देखाई पीडितको साथमा रहेको मोबाइल र नगद ७ लाख रूपैयाँ जबरजस्ती खोसी फरार भएको घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट बा.७६ प ५९३१ नम्बरको स्कुटर, बागमती प्रदेश.०२-०५३ प २७८० नम्बरको मोटरसाइकल, नगद ६४ हजार ४० रूपैयाँ, चेक १ थान र मोबाइल १० थान प्रहरीले बरामद गरेको छ ।उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

अल्बानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-२८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ बस्ने उदयपुर त्रियुगा नगरपालिका-९ घर भएकी ३५ वर्षीया बिमला दनुवार र काठमाडौं नागार्जुन नगरपालिका-१ बस्ने कास्की पोखरा महानगरपालिका-२६ घर भएकी ४८ वर्षीया राम कुमारी रोक्का मगर रहेका छन् । पक्राउ मध्ये बिमलाले ४ जना पीडितहरूबाट ८ लाख रूपैयाँ र राम कुमारीले २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिमलालाई काठमाडौं महानगरपालिका-७ बाट र राम कुमारीलाई नागार्जुन नगरपालिका-१ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न दुई जना पक्राउ
२०८२-०३-२७

कास्की, चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक घर भएका काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बस्ने २८ वर्षीय अन्जन तामाङ र ३२ वर्षीय सुरेश तामाङ रहेका छन् ।  पोखरा महानगरपालिका-१० शिवचोकमा अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एक जना महिलाको २ तोलाको सुनको सिक्री २०८१ चैत २९ गते साँझ लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंको सहयोगमा उक्त कार्यमा संलग्न उनीहरूलाई काठामाडौं गोकर्णेश्वर नगरपालिका-४ बाट पक्राउ गरेको हो ।  उनीहरू उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।