प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

UNCOPS मा सहभागी भई नेपाली प्रतिनिधि मण्डल स्वदेश फिर्ता

२०८१-०३-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं, गृह सचिव एक नारायण अर्याल नेतृत्वको नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ गतेसम्म संचालन भएको चौथो United Nations Chiefs of Police Summit (UNCOPS) मा सहभागी भई मंगलबार स्वदेश फर्कनुभएका छन् ।

गृह सचिव अर्यालसँग उक्त समिटमा सहभागी हुन प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल र प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की समेत त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

गृह सचिव अर्यालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गर्नुभयो ।

विमानस्थलमा कुराकानी गर्दै गृह सचिव एक नारायण अर्यालले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले शान्ति स्थापनामा पुर्‍याएको योगदानको उच्च प्रशंसा भएको उल्लेख गर्दै भ्रमणमा नेपाली सुरक्षाकर्मीहरूको संख्या, सुविधा, तालिम र शान्ति स्थापना कार्यमा नेपाली सुरक्षाकर्मीहरूले भोग्नुपरेको समस्याको बारेमा छलफल भएको बताउनुभयो । समग्रमा भम्रण सफल रहेको उहाँले बताउनुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले संयुक्त राष्ट्रसंघमा नेपाली सुरक्षाकर्मीहरूको संख्या घटिरहेको सन्दर्भमा महिला, सम्बन्धित विषयका विशेषज्ञ र महत्वपूर्ण पदमा नेपालीहरूलाई सहभागी गराउने विषयमा छलफल भएको बताउनुभयो । 

उक्त समिटमा Novel approaches to peace operations and potential domains of conflict, Preventing conflict and violence and sustaining peace, Strengthening peace operations and peace enforcement लगायतका एजेण्डामा छलफल भएको थियो । 

सो अवसरमा गृह सचिव अर्याल समेतको प्रतिनिधि मण्डलले संयुक्त राष्ट्र संघका उपमहासचिवहरू, प्रहरी सल्लाहकार तथा संयुक्त राष्ट्र संघका उच्च पदस्थ अधिकृतहरू एवम् टर्की, फ्रान्स, युके, क्यानडा, युएसए, साउथ कोरिया, नाइजेरिया, घाना लगायतका देशका प्रतिनिधिहरूसँग दुई पक्षीय, बहुपक्षीय भेटघाट गरी संयुक्त राष्ट्र संघमा नेपाल प्रहरीको सहभागिता एवम् साझा सुरक्षाको विषयमा छलफल समेत गर्नुभएको थियो ।  

गृह सचिव एक नारायण अर्याल नेतृत्वको नेपाली प्रतिनिधि मण्डल उक्त समिटमा सहभागी हुन असार १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 


सम्बन्धित समाचार
पूर्ण सक्रियताकासाथ नागरिकमैत्री सेवामा केन्द्रीत भई जिम्मेवारी बहन गर्नुपर्ने - निमित्त प्रहरी महानिरीक्षक दिपक थापा
२०८१-०३-१२

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रहरी कर्मचारीहरूले उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी पूर्ण सक्रियताका साथ नागरिक केन्द्रीत भई आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा निमित्त प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।निमित्त प्रहरी महानिरीक्षक थापाले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्दशन दिनुभयो । विपद्को समयमा पहिलो घेरामा रही काम गर्नुपर्ने प्रहरीले उपलब्ध स्रोत साधनको भरपुर प्रयोग गरी आफू सुरक्षित भई उद्दार कार्यमा खटिनुपर्ने उहाँले बताउनुभयो ।     निमित्त प्रहरी महानिरीक्षक थापाले लागूऔषधको बढ्दो ओसारपसार र प्रयोगलाई नियन्त्रण गर्न प्रहरी कर्मचारी कटिबद्ध भई लाग्नुपर्नेमा जोड दिँदै कारोबारमा सम्बद्ध जोकोहीलाई कानूनको दायरामा ल्याउन कानून सम्मत कडा रूपमा प्रस्तुत हुनुपर्ने र सीमा नाकामा थप कडाईका साथ निगरानी तथा गस्ती बढाउनुपर्ने बताउनुभयो । उहाँले राजस्व चुहावट रोक्न, तस्करी नियन्त्रण गर्न र राजस्व संकलन वृद्धिको लागि प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन निर्देशन दिनुभयो । प्रहरी प्रधान कार्यालयबाट भएका नीति निर्देशनहरू कार्यान्वयन गर्नुपर्ने र प्रहरी संगठनको कार्यसम्पादन स्तर बढाउन प्रहरीको आचरण व्यवहारमा परिवर्तन ल्याउनुपर्ने, अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्ने तथा प्रहरीको आन्तरिक शुद्धिकरण, स्थायित्व र सुशासनका सन्दर्भमा सकारात्मक उर्जाका साथ लागी पर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सात वटै प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

नेपाली प्रतिनिधि मण्डल UNCOPS का लागि अमेरिका प्रस्थान
२०८१-०३-१०

काठमाडौं, गृह सचिव एक नारायण अर्याल नेतृत्वको ५ सदस्यीय नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ गतेसम्म संचालन हुने चौथो United Nations Chiefs of Police Summit (UNCOPS) मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।गृह सचिव अर्यालसँग उक्त समिटमा सहभागी हुन प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । गृह सचिव अर्यालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित हार्दिक विदाई गर्नुभयो । उक्त समिटमा Novel approaches to peace operations and potential domains of conflict, Preventing conflict and violence and sustaining peace, Strengthening peace operations and peace enforcement लगायतका एजेण्डामा छलफल हुने कार्यक्रम रहेको छ ।सो अवसरमा गृह सचिव अर्याल समेतको प्रतिनिधि मण्डलले संयुक्त राष्ट्र संघका उपमहासचिवहरू, प्रहरी सल्लाहकार तथा संयुक्त राष्ट्र संघका उच्च पदस्थ अधिकृतहरू एवम् टर्की, फ्रान्स, युके, क्यानडा, युएसए, साउथ कोरिया, नाइजेरिया, घाना लगायतका देशका प्रतिनिधिहरूसँग दुई पक्षीय, बहुपक्षीय भेटघाट गरी संयुक्त राष्ट्र संघमा नेपाल प्रहरीको सहभागिता एवम् साझा सुरक्षाको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

टिआरसी विधेयक सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
२०८१-०३-०७

काठमाडौं, बेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक (टिआरसी विधेयक) सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सम्पन्न भएको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्य, पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधान, अवकाश प्राप्त प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चका संयोजक एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहरा, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागतिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधानले टिआरसी विधेयकमा समेटिनुपर्ने विषयहरूको लागि बैठक अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले संगठनको दुरूगामी हितको लागि छलफल फलदायी रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै बैठकमा भएको छलफल तथा अन्तरक्रियाबाट आएका राय सुझावहरूलाई समेटी विधेयक सम्बन्धमा आगामी कार्यक्रम एवम् रणनीति तय गरिने बताउनुभयो ।कार्यक्रममा सुरक्षा तथा न्याय अध्ययन केन्द्रको तर्फबाट अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उक्त अध्ययन केन्द्रको काम कर्तव्य सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको थियो भने अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक आमोद चन्द्र गुरूङले विभिन्न देशमा लागू भएको टिआरसी सम्बन्धि आफ्नो अनुभवसहितको प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले उक्त विधेयक सम्बन्धमा नेपाल प्रहरीको तर्फबाट राय सुझाव दिन तथा अन्य आवश्यक कार्य गर्नका लागि प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको संयोजकत्वमा गठित समितिको तर्फबाट प्रस्तुतीकरण गर्नुभएको थियो । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा ध्यान शिविर सम्पन्न
२०८१-०३-०१

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल विपश्यना केन्द्र बुढानिलकण्ठमा संचालित १० दिवसीय विपश्यना ध्यान शिविर शनिबार सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरको उक्त केन्द्रको अवलोकन समेत गर्नुभएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षकहरूलाई प्रहरी आधारभूत तालिम पश्‍चात आध्यात्मिक चिन्तन मनन गर्ने अवसर प्रदान गराई उपलब्ध सेवा सुविधाहरू समेत उपभोग गर्ने वातावरण बनाई दिएकोमा नेपाल विपश्यना केन्द्र एवम् प्रहरी प्रतिष्ठानलाई धन्यवाद दिँदै नेपाल प्रहरीका भविष्यका कर्णधारका रूपमा रहेका प्रहरी निरीक्षकहरूलाई जागिरे जीवनमा मात्र नभई व्यक्तिगत जीवनमा समेत प्रत्यक्ष रूपमा लाभान्वित पुग्ने बताउनुभयो । साथै ध्यान शिविरमा सहभागी प्रहरी निरीक्षकहरू आगामी दिनका लागि पुनर्जाग्रित हुन सफल भएको विश्‍वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको जीवनशैली अत्यन्त द्रुत, व्यस्त र चुनौतिपूर्ण रहेको उल्लेख गर्दै विभिन्न कठिनाईहरूको सामना गर्नु अगाडि आत्म चिन्तन, आत्म अनुभूति र तनावमुक्त हुन पाउनु एउटा अमूल्य अवसर रहेको  बताउनुभयो । जीवनमा आई पर्ने विभिन्न बिध्न बाधा, कठिनाइ, चुनौतिले धेरै उदास नहुने र प्राप्त हुने हर्ष उल्लासले वास्तविकता नबिर्सने ज्ञान र सीप प्राप्त गर्न समेत यो शिविरले मद्दत पुर्‍याएको उहाँले बताउनुभयो । शिविरमा सहभागी भएका प्रहरी निरीक्षकहरूले सधै विवेकशील र व्यावसायिक ढंगले आफ्नो कर्तव्य पालान गर्ने र नेपाल प्रहरीको उज्जवल भविष्यको रूपमा आफूलाई साबित समेत गर्ने विश्‍वास लिएको उहाँले बताउनुभयो । अवकाश प्राप्त प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य डा.रूप ज्योतीले ध्यान शिविरको महत्वबारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको समन्वयमा जेठ २२ गतेदेखि संचालित उक्त शिविरमा हालै दीक्षित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं समूहका १ सय ४६ जना प्रहरी निरीक्षकहरूको सहभागिता रहेको थियो । विपश्यना ध्यान शिविर समापन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल विपश्यना केन्द्रका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

१० जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०२-३१

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८१ जेठ २९ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ४ जना तथा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ २९ गतेको निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ४ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ३० गतेको निर्णयले प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा २ जना गरी जम्मा १० जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अधिकृतहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू श्याम कृष्ण अधिकारी, रबिन्द्र रेग्मी, भिम बहादुर दाहाल र नान्तीराज गुरूङ, प्रहरी उपरीक्षकहरूमा प्रदिप बहादुर क्षेत्री, नारायण रंजितकार, अनन्त राम शर्मा र एक नारायण कोईराला तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरूमा उमेश प्रसाद साह र ई. मुकेश तिवारी रहनुभएको छ । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिले सुविधाको मात्र नभई प्रहरी अधिकृतहरूको विश्‍वास र जिम्मेवारी बढेको चर्चा गर्दै थपिएको दर्ज्यानी चिन्हको मर्यादा रहने गरी सांगठनिक हितमा कार्य गर्न निर्देशन दिनुभयो । संगठनलाई केन्द्रमा राखेर संगठनको वृहत्तर हितका लागि आग्रह पूर्वाग्रह भन्दा माथि उठेर गरिएको सम्पूर्ण प्रहरी कर्मचारीहरूको साझा प्रतिवद्धता सामूहिक साथ र सहयोगबाट नै सांगठनिक सुदृढिकरण र लक्ष्य प्राप्त हुने कुरामा विश्‍वस्त रहेको उहाँले उल्लेख गर्नुभयो । समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले पदोन्नतिसँग प्राप्त जिम्मेवारी एवम् उत्तरदायित्वलाई उच्च व्यावसायिकता, नैतिकता र निष्ठापूर्वक सेवा भावकासाथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति स्थापना सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर
२०८१-०२-२५

काठमाडौं, नेपाल प्रहरी र नेपाल बैंक लिमिटेडबीच ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित  कार्यक्रमबीच नेपाल बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकालले उक्त सम्झौता-पत्रमा हस्ताक्षर गर्नुभयो । साथै सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारीले अक्षय कोष स्थापनाका लागि ३० लाख रूपैयाँको चेक प्रहरी वरिष्ठ उपरीक्षक ढकाललाई हस्तान्तरण गर्नुका साथै उहाँहरूले सम्झौता-पत्र आदान प्रदानसमेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततीलाई छात्रवृत्ति प्रदान गर्ने सम्झौताको लागि नेपाल बैंकलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने विश्वास व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक कुँवरले सम्झौता दुई निकायको सम्बन्धमा कोसेढुंगाको रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै छात्रवृत्तिले नेपाल पुलिस स्कूलहरूमा अध्ययनरत बालबालिकालाई सवल र सक्षम बनाई देशको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने बताउनुभयो । यसबाट अहोरात्र खटिने प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न थप हौसला प्रदान गर्ने विचार उहाँले व्यक्त गर्नुभयो । उक्त अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले नेपाल प्रहरीले आम नागरिकलाई सेवा प्रदान गर्न पुर्‍याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी कर्मचारीका सन्ततीलाई सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टी प्राप्त भएको बताउनुभयो । साथै उहाँले आगामी दिनमा समेत थप सहकार्य र समन्वय हुने विश्वास व्यक्त गर्नुभयो ।   सम्झौताअनुसार छात्रवृत्ति प्रदान गर्नको लागि नेपाल बैंकले ३० लाख रूपैयाँ उपलब्ध गराई प्रहरी कल्याण कोषको नाममा ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति अक्षय कोष’ स्थापना हुनेछ । खाता संचालन तथा व्यवस्थापन कल्याण महाशाखाले गर्नेछ । अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानीबाट छात्रवृत्ति रकम निर्धारण गरी नेपाल पुलिसका ९ वटा स्कुलहरूमा कक्षा ४ देखि १० सम्ममा अध्ययनरत विदा वा व्यक्तिगत कामको सिलसिलामा मृत्यु भएका प्रहरी कर्मचारीका सन्ततिलाई विपन्नताको आधारमा र यस बमोजिमका सन्ततिहरू नभएमा अमर/शहिद/अशक्त प्रहरी कर्मचारीका सन्ततिलाई, सो पनि नभएमा बहालवाला एवम् पूर्व प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका प्रहरी कर्मचारीका सन्ततिलाई उत्प्रेरणा स्वरूप प्रति स्कूल १ जनाको दरले छात्रवृत्ति उपलव्ध गराइने लगायतका विषय सम्झौतापत्रमा उल्लेख गरिएको छ । सम्झौता शैक्षिक सत्र २०८१ देखि लागू हुने छ । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाल बैंक लिमिटेडका प्रतिनिधिहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।