प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी शोध अध्ययन प्रतिवेदन प्रस्तुतीकरण तथा सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

२०८१-०३-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी शोध अध्ययन प्रतिवेदन र सोको कार्ययोजना, २०८१ प्रस्तुतीकरण तथा सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।   

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विश्वव्यापी रूपमा बढ्दो अवस्थामा रहेको आत्महत्या नेपालमा पनि जटिल सामाजिक समस्याको रूपमा देखा परेको उल्लेख गर्दै यसले व्यक्ति तथा परिवारलाई मात्र नभई समग्र समाज तथा देशलाई नै विविध दृष्टिकोणबाट असर पार्ने गरेको बताउनुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले तथ्याङ्क विश्लेषणको आधारमा आत्महत्या न्यूनीकरणको लागि समयमा प्रभावकारी कदम चाल्न नसकिएको खण्डमा स्थिति अझ भयावह हुने तथ्यलाई मनन गरी देशव्यापी रूपमा शोध अध्ययन गरी कार्ययोजना समेत तयार भएको बताउनुभयो । आत्महत्या न्यूनीकरणका क्षेत्रमा भावी रणनीति तर्जुमा तथा कार्यदिशा तय गर्न प्रतिवेदन महत्वपूर्ण दस्तावेज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले आत्महत्या न्यूनीकरण तथा रोकथाम नेपाल प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै यसका लागि सरोकारवाला निकायहरूको संयुक्त सहकार्यमा साझा संयन्त्र बनाएर आगाडि बढ्न जरूरी रहेको बताउनुभयो । आत्महत्या न्यूनीकरणका लागि आवश्यकता अनुसारको रणनीति अवलम्बन गर्न सरोकारवालाहरूसँग समन्वय र सहकार्य गरी प्रभावकारी ढंगबाट कार्ययोजना कार्यान्वयन गर्न सबै प्रहरी कार्यालयहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शोध अध्ययन प्रतिवेदन तथा कार्ययोजना सार्वजनिकीकरण गर्नुका साथै शोध अध्ययन कार्यमा खटिने विषय विज्ञ तथा प्रहरी कर्मचारीहरूलाई कदरपत्र प्रदान गर्नुभयो ।  

  नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा गृह मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. कृष्ण प्रसाद पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भूसाल र मानसिक अस्पताल लगनखेलका निर्देशक एवम् प्रमुख कनसल्टेन्ट साइक्याट्रिष्ट  डा. अनन्त प्रसाद अधिकारीले प्रतिवेदन र कार्ययोजना सम्बन्धी आ-आफ्नो दृष्टिकोण सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा नेपाल प्रहरी अस्पताल महाराजगंजका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तले शोध अध्ययन प्रतिवेदन र कार्ययोजना प्रस्तुतीकरण गर्नुभएको थियो । 

नेपाल प्रहरीको चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट कार्यान्वयन कार्ययोजना र नेपाल प्रहरी कार्ययोजना २०८० मा समावेश रहेको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी शोध अध्ययन गर्न नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयद्वारा देशव्यापी विस्तृत अध्ययन सम्पन्न गरी अध्ययन प्रतिवेदन तयार गरिएको थियो । प्रतिवेदनको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागसँगको सहकार्यमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्ययोजना २०८१ समेत तर्जुमा गरिएको थियो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरूको भर्चुअल उपस्थिति समेत रहेको थियो । 


सम्बन्धित समाचार
४२औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरू
२०८१-०९-०७

काठमाडौं, नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा ४२औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता, २०८१ आइतबारबाट शुरू भएको छ ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्‍घाटन गर्नुभयो ।उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले नेपाल प्रहरीको खेलकुद क्षेत्रलाई गतिशील एवम् सशक्त बनाउन विभिन्न आन्तरिक प्रतियोगिताहरू संचालन गर्दै आइरहेको उल्लेख गर्दै आगामी दिनमा खेलकुद प्रतियोगिताहरूलाई अझै प्रभावकारी बनाउन तथा नयाँ प्रतियोगिताहरू संचालन सहितको योजना तयार गर्ने प्रयास भइरहेको बताउनुभयो । साथै प्रतियोगितामा सहभागी टिमहरूलाई खेल अनुशासन कायम राखि आफ्नो कौशल प्रदर्शन गर्न समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले स्वागत मन्तव्य एवम् प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।पुस १६ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयका टिमको सहभागिता रहेको छ । 

सात जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०९-०७

काठमाडौं,  नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा २ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ पुस ५ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा ५ जना गरी पदोन्नति हुनुभएका जम्मा ७ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दुर्गा सिंह र भरत बहादुर बोहरा तथा प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका प्राविधिक प्रहरी उपरीक्षकहरू डा. राम प्रसाद शर्मा, डा. नविन लागेजु, डा. समृद्धि कार्की, डा. अन्जली तण्डुकार र प्रदिन ताम्राकार रहनुभएको छ ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी अधिकृतहरूले प्रदर्शन गरेको व्यावसायिकता, इमानदारीता र लगनशीलतालाई कायम राख्दै प्राप्त सफलतालाई व्यक्तिगत उपलब्धिसँग मात्र जोडेर नहेरी सांगठनिक विकास र सुदृढिकरणमा समेत महत्वपूर्ण योगदान दिने अवसरका रूपमा मनन गरी पदको मर्यादा र गरिमाको बढोत्तरी हुने गरी आगामी दिनहरूमा अझ बढी सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।   समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले नेपाल प्रहरीको साख वृद्धिलाई प्राथमिकतामा राखी नागरिकप्रति उत्तरदायी र कानूनको शासनमा आधारित भएर सांगठनिक विकास र सुदृढिकरणको क्षेत्रमा अझ बढी जवाफदेहीताका साथ कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

लैंगिक हिंसा न्यूनीकरण सम्बोधनको लागि बहुआयमिक सहकार्य आवश्यक- प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८१-०८-२५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बहुआयमिक रूप र बहुपक्षीय असर बोकेको लैंगिक हिंसाको सम्बोधन पनि बहुआयमिक सहकार्य र समन्वयबाट मात्रै सम्भव हुने विचार व्यक्त गर्नुभएको छ । साथै यसका लागि रणनीतिक योजना तर्जुमा, सफल अनुसन्धान, पीडित सहायताका लागि समाज एवम् सबै सरोकारवाला निकायबाट प्राप्त निर्देशन, राय सुझाव, सल्लाह तथा सहयोग प्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो । हामी सबैको प्रतिबद्धता: लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने राष्ट्रिय नारा र लैंगिक विभेदमा शून्य सहनशीलता, सुरक्षित समाजका लागि ऐक्यबद्धता भन्ने नेपाल प्रहरीको नारा सहित नेपाल प्रहरी प्रधान कार्यालयमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयबाट जारी भएको ‘नेपाल प्रहरी लैंगिक नीति २०८१’ को सार्वजनिकिकरण गर्नुभयो । साथै उहाँले लैंगिक हिंसा न्यूनीकरणमा नेपाल प्रहरीबाट भएका प्रयासहरू बारे तयार पारिएको वृत्तचित्र समेत शुभारम्भ गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानको प्रमुख जिम्मेवारी बोकेको नेपाल प्रहरी संगठनले आफ्नो स्थापनाकाल देखिनै लैंगिक हिंसाजन्य घटना नियन्त्रण तथा न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर संवेदनशीलताका साथ सम्बोधन गर्दै आइरहेको बताउनुभयो । लैंगिक हिंसाबाट पीडित र प्रभावित महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूमा न्यायको पहुँचको सुनिश्चितता, पीडितको उद्दार, पुन:स्थापनका साथै लैंगिक हिंसा न्यूनीकरण गर्ने लक्ष्यका साथ नेपाल प्रहरी प्रधान कार्यालयदेखि इलाका स्तर सम्मका कार्यालयहरूमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना भई सेवा प्रवाह समेत हुँदै आएको उहाँले उल्लेख गर्नुभयो ।   प्रहरी महानिरीक्षक कुँवरले प्रविधिको विकास र आधुनिक समाजमा देखा परेका लैंगिक हिंसाका स्वरूप तथा प्रवृत्तिमा भइरहेको परिवर्तनले थप चुनौती थपेको उल्लेख गर्दै यस्ता किसिमका चुनौतीहरूलाई प्रविधिमैत्री तवरबाट समाधान गरी पीडितलाई न्याय प्रदान गर्नका लागि नेपाल प्रहरीका प्रयासहरू केन्द्रीत रहेको बताउनुभयो । लैंगिक हिंसाको न्यूनीकरणको क्षेत्रमा नेपाल प्रहरीसँग समन्वय गर्दै आइरहेका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय निकाय, संघसंस्थाहरू र सरोकारवाला संस्थाहरूको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी समन्वय, सहकार्य र सहयोगमा निरन्तरताको अपेक्षा रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले लैंगिक हिंसा विरूद्ध हुने जुनसुकै अपराधहरूमा शून्य सहनशीलताको नीति अवलम्बन गरी अनुसन्धान लगायतका सम्पूर्ण प्रकृयाहरू पूरा गर्ने उद्देश्यले आज जारी भएको लैंगिक नीति समयसापेक्ष, परिष्कृत र परिमार्जित स्वरूपमा रहेको जानकारी दिनुभयो । यस नीतिबाट नेपाल प्रहरीका सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई महिला बालबालिका तथा जेष्ठ नागरिक विरूद्ध हुने कुनै पनि प्रकारका हिंसा, विभेदप्रति अत्यन्तै संवेदनशील भई कार्यसम्पादन गर्न र सेवा प्रवाहमा उच्च मनोबलका साथ परिचालित हुन प्रेरित गर्ने विश्वास लिएको उहाँले बताउनुभयो । साथै आगामी दिनमा लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडितको सेवामा कटिवद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव सम्झना शर्मा, गृहमन्त्रालयका उपसचिव सुरेश राज जोशी, राष्ट्रिय महिला आयोगका उपसचिव सीता अधिकारी, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव अन्जु ढुंगाना र स्वास्थ्य सेवा विभाग, नर्सिङ सामाजिक सुरक्षा महाशाखाका वरिष्ठ कम्युनिटि नर्सिङ प्रशासन अधिकृत कविता अर्यालले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायव उपरीक्षक रूपा थापाले लैंगिक हिंसाको वर्तमान अवस्था सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

पाँच जना प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०८-२१

काठमाडौं, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर २१ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति हुनुभएका ५ जना प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरूमा डा. केदार खड्गी, डा. छन्द बहादुर बुढाथोकी, डा. पवन कुमार राय, डा. सुवर्ण कुँवर र श्याम कुमार मण्डल रहनुभएको छ ।दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको सेवा, कार्यदक्षता एवम् कार्यकुशलता र इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै पदीय दायित्व र मर्यादा बढ्दै जाने हुँदा पदको मर्यादा र गरिमाको बढोत्तरी हुने गरी सांगठनिक विकास र सुदृढिकरणको क्षेत्रमा उत्कृष्ट जिम्मेवारी निर्वाह हुने अपेक्षा रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीमा रहेका विभिन्न प्राविधिक समूहले पुर्‍याएको सेवाको प्रशंसा गर्दै नेपाल प्रहरीले प्रदान गर्ने प्राविधिक सेवालाई थप व्यावसायिक, परिष्कृत, सुदृढ र प्रभावकारी बनाउन पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूले आ-आफ्नो जिम्मेवारी वहन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई सांगठनिक हित र समुन्नतीको लागि केन्द्रित गरेर अझ थप हौसला र लगनशीलताका साथ सेवा गर्नका निम्ति प्रहरी अधिकृतहरू थप प्रेरित हुने विश्‍वास उहाँले व्यक्त गर्नुभयो ।समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. केदार खड्गीले प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक कुँवरबाट वडा प्रहरी कार्यालय वैदामको नवनिर्मित भवनहरू उद्‍घाटन
२०८१-०८-२०

कास्की, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले वडा प्रहरी कार्यालय वैदाम कास्की परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पोखरा नेपालकै प्रमुख पर्यटकीय स्थल भएको उल्लेख गर्दै विद्यमान सुरक्षा चुनौतीको सामना गर्न एवम् कानूनको कार्यान्वयनमा नेपाल प्रहरीले नागिरकसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ प्रहरी केन्द्रीत हुनुपर्ने बताउँदै शून्य शहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गर्न समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. ध्रुव अधिकारीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल १० करोड  ६० लाख ३३ हजार २० रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।उद्‍घाटन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।    

प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय मनाङमा नवनिर्मित भवनहरू उद्‍घाटन
२०८१-०८-१९

मनाङ, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मनाङ परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सबैको सद्भाव र सहयोगले निर्माण सम्पन्न भौतिक पूर्वाधारहरूको प्रयोग गरी नेपाल प्रहरीले जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभुति दिलाउन कटिवद्ध रहेको बताउनुभयो । ग्रामीण भेग र शहरी भेगमा विभेद नगरी सुरक्षा प्रदान गर्न आवश्यक पूर्वाधार विकासका लागि नेपाल प्रहरीले पहल गरिरहेको समेत उहाँले उल्लेख गर्नुभयो ।गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मातृका आचार्य, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले र जिल्ला समन्वय समितिका प्रमुख चिन घले ले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. ध्रुव अधिकारीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल १२ करोड १०  लाख ५४ हजार ३ सय ३१ रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।