आन्तरिक तथा बाह्य प्रशिक्षक अभिमुखीकरण एवम् भ्रमण कार्यक्रम सम्पन्न
२०८१-०३-२८
- A
- A-
- A+
![](/media/filer_public/b3/af/b3af4459-f58e-4c1a-b701-cd93d2e1780c/1720776483394.jpg)
कास्की, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शुक्रबार कास्कीमा आयोजित कार्यक्रममा ‘आन्तरिक तथा बाह्य प्रशिक्षक अभिमुखीकरण एवम् भ्रमण कार्यक्रम' सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजनामा बुधबारदेखि कुटि रिसोर्ट एण्ड स्पा पोखरामा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रशिक्षण अवधिमा अवलम्बन गरिदै आएको व्यवहारिक पक्ष र मनोवृत्तिलाई सुधार गरी प्रशिक्षणको पद्धति र महत्वलाई गहनरूपमा बुझ्न सकियो भने मात्र प्रशिक्षण रचनात्मक र उपलब्धीमूलक हुन सक्ने कुरालाई मनन गरी एक अर्काको असल अभ्यासहरूलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकालले प्रशिक्षणमा एकरूपता कायम गर्न नेपाल प्रहरीको तालिम संचालन कार्यादेश २०७९ को अध्ययन गरी कार्यान्वयन गर्न र प्रशिक्षणलाई प्रभावकारी ढंगबाट संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रतिष्ठानका उप-निर्देशक प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा प्रशिक्षण प्रदायक संस्थाका कार्यालय प्रमुखहरूले आ-आफ्नो तर्फबाट राय सुझाव व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक, नेपाल प्रहरीका मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरूका प्रधानाचार्य/प्राचार्य/समादेशक, नेपाल प्रहरी प्रधान कार्यालय वृत्ति विकास महाशाखा तालिम शाखाका प्रतिनिधि लगायत विभिन्न प्रशिक्षण प्रदायक संस्थाका प्रशिक्षकहरू समेतको उपस्थिति रहेको थियो ।