अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०४-१५
- A
- A-
- A+
ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीबाट अवैध लागूऔषध खैरो हेरोइन ८९ ग्राम ८ सय ९० मिलिग्राम र डिजिटल तराजु १ थान सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-१० ठेगाना भएका ३७ वर्षीय डिकेन्द्र भट्टराई तथा ३२ वर्षीय दिपेश कार्की र सिन्धुपाल्चोक बलेफी गाउँपालिका-३ ठेगाना भएका २७ वर्षीय लाल बहादुर तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-२३ धापाखेल डेरा गरी बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँफालिका-५ ठेगाना भएकी ३५ वर्षीया निमा डोमा तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ७ सय २० मिलोग्राम, डिजिटल तराजु १ थान र मोबाइल १ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सिराहा, गोलबजार नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ७ किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुवनी जयनगर थाना पर्वाहा ग्राम पंचायत-६ बस्ने ३५ वर्षीय नविन यादव र कमलवारी ग्राम पंचायत-३ बस्ने ४० वर्षीय बहुरू यादव रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-११ प्रगतिनगरबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ ७ ग्राम ९ सय मिलिग्राम सहित कपिलबस्तु, कपिलबस्तु नगरपालिका-१० पतेरा बस्ने ४१ वर्षीय सन्जु सुक्लालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी देबिनगबाट खटिएको प्रहरीले लु.१८ प ७७८२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह भन्सार चेक पोष्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय मिलिग्राम सहित सुर्खेत सुरूवाकोट नगरपालिका-५ बस्ने २४ वर्षीय रेशम बहादुर धुरेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको क.प्र ०२-००२ प ३३७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-२ स्थित तेरआर्डी पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित बराहक्षेत्र नगरपालिका-२ पुनर्वास बस्ने भोजपुर हतुवागडी गाउँपालका-९ घर भएका ३३ वर्षीय कृष्ण कुमार राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले बा.५६ प ६९३५ नम्बरको स्कुटरमा सवार राईलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।