अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८१-०५-०१
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१७ इस्लामपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१ बस्ने २३ वर्षीय पप्पु मण्डल र कटहरी गाउँपालिका-२ बस्ने ३१ वर्षीय सुमन राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-००३ ह २८८८ नम्बरको सिटी सफारीलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक पप्पु र सिटी सफारीमा सवार सुमनलाई पक्राउ गरेको हो ।
दाङ, लमही नगरपालिका-४ बस्ने २० वर्षीया कौशिला कुमाल र २४ वर्षीया सिर्जना कुँवरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले सिर्जनाको कोठाबाट उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-१ पुडि टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ६ जनालाई शनिबार इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये को.२५ प ८३६७ नम्बरको मोटरसाइकलमा सवार बराहक्षेत्र नगरपालिका-३ मिलन चोक बस्ने ३६ वर्षीय ओम बहादुर कार्कीलाई १ ग्राम ४६ मिलिग्राम सहित, प्र.१-०२-०५२ प ४०७८ नम्बरको स्कुटरमा सवार बराहक्षेत्र नगरपालिका-९ प्रकाशपुर बस्ने ४५ वर्षीय दिल बहादुर राई र ४१ वर्षीय नविन कोईरालालाई ९ सय १० मिलिग्राम सहित, ईटहरी उपमहानगरपालिका-४ मनोकामना बस्ने २२ वर्षीय शिवनाथ ठाकुर र २४ वर्षीय रूपेश विश्वकर्मालाई १० ग्राम ५७ मिलिग्राम, नगद १२ हजार रूपैयाँ र मोबाइल ३ थान सहित तथा उदयपुर वेलका नगरपालिका-९ रामपुर बस्ने कनक बहादुर खतिवडालाई १ ग्राम १८ मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित बुद्धशान्ति गाउँपालिका-४ बुधबारे बस्ने ३१ वर्षीय दोर्ण बहादुर बेघालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।