अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८१-०५-१४
- A
- A-
- A+
मोरङ, बिराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम २८ मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय तिलक यादव र भारत बिहार बस्ने २१ वर्षीय बिशाल कुमार साह रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२५ प २११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २९ ग्राम सहित दाङ बबई गाउँपालिका-२ बस्ने २४ वर्षीय दिपक बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, कोहलपुर नगरपालिका-६ रझेना बस्ने २१ वर्षीय बिपिन वलीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ चुरेमाईबाट अवैध लागूऔषध गाँजा २५ किलोग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-४ बस्ने २१ वर्षीय सुसिल बल र ३२ वर्षीय हिमाल ब्लोन रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.१४ च ३८५५ नम्बरको बलेरो जिपलाई जाँच गर्ने क्रममा बर्नटमा लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी बलेरो चालक सुसिल र बलेरोमा सवार हिमाललाई पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१७ ठकुरी पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम २ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय रोशन राईलाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।