प्रहरी कर्मचारीहरू आफ्नो पेशाप्रति गौरवान्वित हुन आवश्यक - प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री
२०७८-०९-१३
- A
- A-
- A+
मोरङ
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो पेशाप्रति सबै प्रहरी कर्मचारीहरु गौरवान्वित हुन आवश्यक रहेको बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको सोमबार निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिंदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो । निरीक्षण भ्रमणको क्रममा उहाँले प्रहरी सेवा लिन आएका केही सेवाग्राहीहरुसंग अन्तरक्रिया समेत गर्नुभएको थियो ।
निर्देशनको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश, २०७७ को अक्षरस पालना गर्दै नागरिकमैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका व्यक्तित्वहरुसंग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागि पर्नुपर्नेमा जोड दिनुभयो ।
शून्य सहनशिलताको अक्षरस पालना गर्दै विविध जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी अनुसन्धान पद्धतीलाई प्रविधिमैत्री बनाउँदै प्रमाण र परिणाममूखी अनुसन्धान पद्धतीबाट आम नागरिकलाई प्रत्याभूत हुने गरी सुरक्षा व्यवस्था मिलाउन पर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले विविध अपराधिक घटनाहरु नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप सशक्त रुपमा काम कारवाही गर्न निर्देशन दिनुभयो ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौट गर्न र हिरासत व्यवस्थापन, लागूऔषध ओसारपसार रोकथाम तथा नियन्त्रण गर्न र महिला तथा बालबालिका माथि हुने हरेक घटनालाई गम्भीरता पुर्वक लिई त्यसतर्फ विशेष ध्यान केन्द्रीत हुन समेत निर्देशन दिनुभयो । कुनै पनि नागरिकलाई बिना झंझट प्रहरी सेवा प्राप्त गर्ने वातावारण बनाउने, नागरिक सहायता कक्षलाई अझ प्रभावकारी बनाउन, कन्ट्रोलमा खटिने प्रहरी कर्मचारीहरुले नागरिकहरुसंग शिष्ट व्यवहार गर्नु पर्नेमा समेत उहाँले निर्देशन दिनुभयो । कोभिड-१९ को प्रभाव पुन दोहोरीन सक्नेतर्फ बिशेष ध्यान दिँदै उक्त महामारीको रोकथाम तथा नियन्त्रणको लागि बिशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत उहाँले उपस्थित प्रहरी कर्माचारीहरुलाई निर्देशन दिनुभयो ।
सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसंग जिल्लाको समग्र सुरक्षा व्यवस्था र हालको अवस्थाको बारेमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो ।