प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरपर्दो सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुनुपर्ने - प्रहरी महानिरीक्षक कुँवर

२०८१-०५-३१

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आसन्न चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै अपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी भरपर्दो सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुनुपर्ने बताउनुभएको छ ।    

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा सोमबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । 

प्रहरी महानिरीक्षक कुँवरले आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माण, जनशक्तिको तयारी, श्रोत साधन, असबाबहरूको तयारी, अन्य सुरक्षा निकायहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । विशेष गरी चाडपर्वको अवसरमा सवारी दुर्घटना जस्तो दुःखदायी घटना हुन नदिन ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण कार्ययोजना निर्माण गरी अनिवार्य रूपमा कार्यान्वयन गर्न उहाँले निर्देशन दिनुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले तस्करहरूसँग साठगाँठ कुनै हालतमा स्वीकार्य र क्षम्य नहुने उल्लेख गर्दै चोरी, निकासी पैठारी नियन्त्रणमा प्रहरीको भूमिका निष्पक्ष र प्रभावकारी हुनुपर्ने बताउनुभयो । सीमा क्षेत्रबाट हुने राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने उहाँले बताउनुभयो । सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गलाई प्राथमिकतामा राखेर नागरिक सुनुवाइ तथा गुनासो सम्बोधनमा विशेष जोड दिनुपर्ने उल्लेख गर्दै सेवा प्रवाहमा प्रहरी कर्मचारीहरू सहनशील भई आचरण, बोली, व्यवहार शिष्ट र सभ्य हुनुपर्ने उहाँले बताउनुभयो । 

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी समेतले समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।


सम्बन्धित समाचार
सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
२०८१-०५-२५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच बिदाइ गर्नुभएको छ ।बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गर्नुभयो । अपराध न्यूनीकरण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, नीति निर्माण, सांगठनिक सुदृढीकरणका साथै संगठनको रणनीतिक कार्ययोजना कार्यान्वयनमा गर्नुभएको अतुलनीय योगदानको उहाँले चर्चा गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकबाट सेवा निवृत्त जीवन पश्चात पनि संगठनको हितको लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली भदौ २६ गतेबाट सेवा निवृत्त हुन लाग्नु भएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर कार्यसम्पादन गर्नुपर्ने- प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८१-०५-२३

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले इमानदारीता, पारदर्शीता, व्यावसायिक निष्ठा र सकारात्मक मनोवृत्तिका साथ संगठनको नीति एवम् प्राथमिकतालाई केन्द्रबिन्दुमा राखेर नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ । हालै सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी निरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरले सांगठनिक शुद्धिकरण र सुदृढिकरणलाई केन्द्रबिन्दुमा राखेर प्रहरीको व्यावसायिकता झल्काउने गरी नागरिकको आँखामा अब्बल प्रहरीको छाप बनाउनुका साथै उर्जाशील एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफैलाई उत्प्रेरित गर्दै काम गर्न निर्देशन दिनुभयो । यसअघि नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकाल र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

प्रहरी महानिरीक्षकबाट नेपाल प्रहरीको महिला भलिबल टोलीलाई शुभकामना सहित विदाइ
२०८१-०५-२३

काठमाडौं, नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मित्रराष्ट्र माल्दिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई शुभकामना सहित विदाइ गर्नुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको महिला भलिबल टोलीलाई विदाइ गर्नुभएको हो । उक्त टोलीमा १२ जना खेलाडी र ४ जना अफिसियल रहेका छन् ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले खेलकुद नेपाल प्रहरीको ऐतिहासिक र अभिन्न अंगको रूपमा जोडिएको चर्चा गर्दै देशको खेलकुद विकासमा नेपाल प्रहरीले पुर्‍याएको योगदान उल्लखनीय रहेको बताउनुभयो । नेपाल प्रहरीका महिला खेलाडीहरूले विभिन्न कालखण्डमा हासिल गरेका उपलब्धीहरूले नेपाल प्रहरीमा सशक्त र क्षमतावान् महिला खेलाडीहरू रहँदै आएका छन् भन्ने कुरालाई समेत पुष्टी गरेको र अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगिताले महिला खेलाडीहरूको क्षमतालाई पुष्टी गर्न थप अवसर प्रदान गर्ने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई देशकै प्रतिनिधित्व गरेको हुँदा उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देश र संगठनको गरिमा बढाउन सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई शुभकामना समेत दिनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
२०८१-०५-२१

 काठमाडौं, नेपाल प्रहरीमा स्नातकोत्तर तह Masters in Police Sciences (MPS) संचालन सम्बन्धमा सहकार्य गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुका साथै समझदारीपत्र आदान प्रदान समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सिनियर प्रहरी अधिकृतहरूको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा रहने यस एमपिएस कार्यक्रम तथा यसमा समाहित विषयहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका नवीनतम् परिवेश अनुरूप कार्यसम्पादन गर्न सक्ने व्यावसायिक र सक्षम जनशक्तिको विकास हुने अपेक्षा लिएको उल्लेख   गर्नुभयो । रिसर्च, अनुसन्धान, रणनीति र योजना तर्जुमा गर्न सक्ने दक्ष जनशक्ति विकास भई नेपाल प्रहरीको आधुनिकीकरण तथा सांगठनिक सुदृढिकरणका क्षेत्रमा अपेक्षित लक्ष्य प्राप्त हुनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको नेतृत्व तहमा पुग्ने क्षमता भएका प्रहरी अधिकृतहरूको क्षमता र दक्षतालाई अभिवृद्धि गर्दै हाल नेपाल प्रहरीमा विद्यमान् बढुवा प्रणालीलाई समेत पारदर्शी र अनुमानयोग्य बनाउन सहयोगी हुने बताउनुभयो । यस समझदारीले नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै निकायले शान्ति, सुरक्षा एवम् सुशासनको क्षेत्रमा निर्वाहित उत्तरदायित्वको दायरा अझ फराकिलो बनाएको विश्वास उहाँले व्यक्त गर्नुभयो ।  सो अवसरमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले समझदारीले प्रहरी अधिकृतहरूको क्षमता विकासमा उल्लेखनीय योगदान पुग्ने चर्चा गर्नुभयो । साथै उहाँले आगामी दिनमा समेत थप सहकार्य र समन्वय हुने विश्वास व्यक्त गर्नुभयो ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक डा.मनोज कुमार केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको   थियो । समझदारीपत्रमा अक्षयकोष, एमपिएस कार्यक्रम संचालन, शैक्षिक क्यालेण्डर, विभिन्न शुल्कहरू, विद्यार्थीहरूको विवरण, कोर्षको प्रभाव अध्ययन, शाखा स्थापना एवम् विविध कार्य, निरीक्षण र निर्देशन, परीक्षा व्यवस्थापन, परीक्षा केन्द्र, त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सुविधा प्रयोग लगायतका प्रावधानहरू उल्लेख गरिएको छ ।  उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, त्रिभुवन विश्वविद्यालयका सहायक डीनहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरू लगायत त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

अपराध विरूद्ध सबै एकजुट भएर आगडि बढ्नुपर्ने- प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८१-०५-१६

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विश्वमा हाल संगठित र संक्रमणकालीन अपराध चुनौतिको रूपमा देखा परिरहेको बताउँदै त्यस्ता अपराध विरूद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस, २०२४ को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आइतबार आयोजित ‘वाकाथोन’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त विचार व्यक्त गर्नुभएको हो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विभिन्न देशमा हुने संगठित अपराधहरू एक पक्षीय प्रयासले मात्र नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै यसको लागि सबै राष्ट्रहरूबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्ने बताउनुभयो । यस कार्यक्रम विश्वव्यापी शान्ति, सुरक्षा र न्यायको लागि हाम्रो एकता र प्रतिवद्धताको प्रतिक समेत रहेको उहाँले बताउनुभयो । उक्त वाकाथोनको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र UNOPS का सिनियर प्रोजेक्ट म्यानेजर Stephen Anthony Otter ले बेलुनमा बाँधिएको "International day of Police cooperation, 2024 " लेखिएको ब्यानर संयुक्त रूपमा उडाएर शुभारम्भ गर्नुभएको थियो ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाली सेनाका सहायक रथी, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, अन्य विशिष्ट आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृतहरूको सहभागितामा नेपाल प्रहरी प्रधान कार्यालयबाट सुरू भएको पदयात्रा दरबारमार्ग, केशरमहल, नारायणहिटी हुँदै पुन: नेपाल प्रहरी प्रधान कार्यालयमा पुगेर समापन समारोहमा परिणत भएको थियो । इन्टरपोल स्थापना दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको रूपमा मनाउने घोषणा गरिए अनुरूप यस वर्ष पनि विभिन्न कार्यक्रमहरू आयोजना गरि मनाउने सन्दर्भमा उक्त वाकाथोन आयोजना गरिएको हो ।  

प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा नवनिर्मित भवनहरू उद्‍घाटन
२०८१-०५-१२

रूपन्देही, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत तथा भान्साघर लगायतका भवनहरूको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन   गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन, अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण तथा कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नागरिकको सुरक्षाका लागि मुलुकका विभिन्न स्थानहरूमा विद्यमान चुनौतीहरूको सामना गर्दै हर प्रहर ड्युटीमा तैनाथ रहने प्रहरी कर्मचारीहरूलाई आवश्यक सुरक्षा मापदण्ड सहितको सुविधा सम्पन्न कार्यालय र आवासको व्यवस्था गर्नु संगठनको उच्च प्राथमिकता रहेको उल्लेख गर्दै नव-निर्मित संरचनाहरूले प्रहरी काम कारवाहीलाई थप व्यवसायिक बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रहरीलाई आफ्नो बोली व्यवहारमा शिष्टता ल्याउन, आफ्नो काम कारबाही इमान्दार र पारदर्शी भई कार्यसम्पादन गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘नेपाल प्रहरी संगठन आम नेपाली नागरिकहरूको आशा र भरोसाको केन्द्र हो । यो संगठनको पवित्र उद्देश्य निस्वार्थ राष्ट्र र नागरिक सेवा हो । यस पवित्र मन्दिरमा बसि छद्‍म भेषमा कोही कसैलाई अपवित्र काम, आचरण र व्यवहार गर्ने छुट छैन । त्यस्ता गलत प्रवृत्तिहरूले आफूले गरेको गलत कार्यको नतिजा तत्कालै भोगेका छन् र भोग्ने छन् । सहि र गलतको मूल्यांकन नागरिक समाजले गरेको छ र संगठनले पनि अवस्य गर्नेछ ।’ प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित भवन नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत सम्पत्ति भएको चर्चा गर्दै प्रहरी र जनताबीचको समन्वय र सहकार्यले अपराध रोकथाम तथा अनुसन्धान थप प्रभावकारी हुने बताउनुभयो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ र रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक रंजित सिंह राठौरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. रोशन सारूमगरले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल १४ करोड ९६  लाख ९४ हजार ५ सय ९१ रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।उद्‍घाटन समारोहमा जिल्लाका विभिन्न पालिकाका प्रमुखहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न     संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।