प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट बडा दसैं मौलो पूजा सम्पन्न

२०८१-०६-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बडा दसैंका अवसरमा शुक्रबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।

नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खा थारूलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।  

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो ।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतिकका रूपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरेपश्चात हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ ।

साथै देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रही आएअनुरूप आजै सम्पूर्ण प्रहरी इकाईहरूमासमेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ ।    

सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट सम्मानपत्र, कदरपत्र तथा पुरस्कार वितरण
२०८१-०६-२९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ६९औं प्रहरी दिवस २०८१ का अवसरमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गर्नुभयो । सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले अवकाश पश्चात आफ्नो अनुभव सहितको रचनात्मक सुझावद्वारा समाजमा शान्ति सुरक्षा कायम राख्न पूर्व प्रहरी तथा सचेत नागरिकको भूमिकामा क्रियाशील रहनुभएका अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्त बहादुर बस्नेतलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले यस वर्षको नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८१ मा प्रदेश प्रहरी कार्यालयहरूमध्ये उत्कृष्ट व्यवस्थापक विधातर्फ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव महानिरीक्षक रविन्द्र केसी र उत्कृष्ट सिर्जनशील कार्यतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङलाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८१ अन्तर्गत आ-आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक ध्रुव राज राउत, प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अवि नारायण काफ्ले, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक अपिल राज बोहरा, काठमाडौं उपत्यका विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, प्रदेश प्रहरी गण पोखराका प्रहरी उपरीक्षक अनन्त राम शर्मा, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्द, इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायव उपरीक्षक धर्म राज भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक शोभा पाण्डे, नेपाल प्रहरी विद्यालय सुर्खेतका प्रहरी निरीक्षक चक्र बहादुर डम्बर पाल, इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका प्रहरी निरीक्षक गौरी प्रसाद जैसी, प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक नबिन चुदाली, प्रहरी चौकी सत्ती कैलालीका प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर चन्द, नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरका प्रहरी नायव निरीक्षक जोख बहादुर बिक, प्रहरी चौकी चैनपुर चितवनका प्रहरी सहायक निरीक्षक गोबिन्द बहादुर महतो, प्रदेश प्रहरी गण हेटौंडाका प्रहरी हवल्दार पारेश्वर भण्डारी र प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी जवान ध्रुवनाथ चौवेलाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी उपरीक्षक संजय सिंह थापा, प्रहरी नायव उपरीक्षक इश्वर थापा, प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिकेश सुवेदी, प्रहरी नायव निरीक्षक जीवन कुमार कार्की र प्रहरी नायव निरीक्षक सुवाष यादवलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी नायव उपरीक्षक यम कुमार श्रेष्ठ, उच्च व्यावसायिक आचरणतर्फ प्रहरी नायव उपरीक्षक पुरूषोत्तम खड्का, उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक जितेश दाहाल, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक विजय महतलाई प्रशंसापत्र प्रदान गर्नुभयो । यसैगरी उहाँले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी नायव निरीक्षक संगिता रसैली, प्रहरी सहायक निरीक्षक पविता थापा, प्रहरी सहायक निरीक्षक सजिना चौगुठी, प्रहरी जवान जानकी अधिकारी र प्रहरी जवान दुरा कार्कीलाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी निरीक्षक शत्रुधन कुमार महतो, प्रहरी हवल्दार दिपक सिंह, प्रहरी सहायक हवल्दार सुमन रायमाझी, प्रहरी जवान दिपक भण्डारी, प्रहरी जवान मिलन लामिछाने, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक सुमन थापा, उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक युवराज बस्नेत र प्रहरी जवान बिमला चौधरी, सपोर्ट समूह प्राविधिकतर्फका प्रहरी वरिष्ठ नायव निरीक्षक राज कुमार श्रेष्ठ, प्रहरी वरिष्ठ नायव निरीक्षक सन्तोष लामा, प्रहरी नायव निरीक्षक महादेव भट्ट, प्रहरी हवल्दार डोलराज ढकाल, उत्कृष्ट खेलाडी प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक रूपेश कुमार बिष्टलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । साथै नेपाल प्रहरी स्मारक गुठिका ७ जना आजीवन सदस्यहरूलाई उहाँले कदरपत्र प्रदान गर्नुभयो ।    यसैगरी प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ साहित्यकार गंगा कर्माचार्य पौडेल र प्रहरी वरिष्ठ नायव निरीक्षक सरस्वस्ती बुढाथोकीलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी विद्यालयका उत्कृष्ट शिक्षकतर्फ नेपाल प्रहरी विद्यालय साँगा काभ्रेका शिक्षक हरिहर तिमिल्सिना, ६९औं प्रहरी दिवस २०८१ का अवसरमा सर्वोत्कृष्ट प्रहरी नारा ‘साइबर सुरक्षाबारे फैलाउँदै सचेतना सन्देश, जुटौं निर्माण गर्न सुन्दर सामाजिक परिवेश’ र अपराध नियन्त्रण सम्बन्धी नारा ‘अपराध रोक्ने संकल्प, प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान’ परिकल्पना गर्नुहुने काठमाडौं टोखाका घन बहादुर थापा, उत्कृष्ट प्रहरी नारातर्फ काठमाडौं गुहेश्वरीका रबिन दोङ, भक्तपुर सूर्यबिनायकका इश्वर केसी, शुसिला थापा र नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक किरण सापकोटालाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । यसैगरी उहाँले ६९औं प्रहरी दिवस २०८१ को अवसरमा आयोजित वृत्तचित्र प्रतियोगितामा विजयी हुने ललितपुर टिकाथलीका गणेश देवकोटा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका मनोरम केसी, काठमाडौं बौद्धका रविन तामाङ, उत्कृष्ट लेखरचना निबन्धतर्फ विजयी हुने निष्ट मावि बनेपा काभ्रेकी चन्द्रिका थापा मगर, पाँचखाल भ्याली स्कूल काभ्रेकी क्रिती लामिछाने, युरेका आवासिय मावि धरानका ईशान क्षेत्रलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।   यसैगरी प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुर्‍याउने काठमाडौं नरेफाँटका सार्किमान बल, पदम कुमार रेग्मी, सुनसरीका प्रदिप कुमार सन्थलीया, रोयल कन्स्ट्रक्सन धनगढी कैलालीका प्रकाश बहादुर सेटी, इम्प्रेसन एण्ड क्रिएटिभ डिजाईन ज्वागल ललितपुरका विवेक श्रेष्ठ, राजु ढुङ्गेल, कलाकारतर्फ झापाका दिवाकर घिमिरे, सुनसरीकी सुनिशा बजगाँईलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने संखुवासभाका बिमला लिम्बु, लमजुङका रामजी चिलुवाल, रूकुम पूर्वका दिनेश किशोर पुन, बिनसरा पुन, मणिभक्त पुन, मिन बहादुर घर्ति र रूपन्देहीका शैलेन्द्र कुमार चौधरीलाई कदरपत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने अन्य ४६ जनालाई सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरूबाट कदरपत्र प्रदान गरिने छ ।  पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनलाई निःस्वार्थ सहयोग पुर्‍याउनु भई सम्मानित हुनु भएका महानुभावहरू, पुरस्कार विजेता विद्यार्थीहरू, प्रहरी दिवसका अवसरमा आयोजित विविध विधामा पुरस्कृत हुनुभएका एवं सर्वोत्कृष्ट कार्य सम्पादन गरी पुरस्कृत हुनुभएका प्रहरी कर्मचारीहरूमा हार्दिक बधाई ज्ञापन गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनप्रति आम नागरिकको विश्वास प्रहरी संगठनको लागि ऊर्जा र शक्तिको स्रोत भएको चर्चा गर्दै जनविश्वास अनुरूप कार्यसम्पादन गर्न अझ बढी सक्षम, जवाफदेही र व्यावसायिक हुनुपर्ने बताउनुभयो । पदीय जिम्मेवारी निर्वाहका क्रममा उच्च व्यावसायिकता प्रदर्शन गरी उत्कृष्ट कार्य सम्पादन गर्नुभएका प्रहरी अधिकृत तथा जवानहरूले देखाउनुभएको जिम्मेवारीबोध, व्यावसायिक निष्ठा र कुशलताबाट अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रेरणा मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।   

प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न
२०८१-०६-२२

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबार आयोजित समारोह बीच सोही प्रतिष्ठानमा संचालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. अरूण जोशी, सर्वद्वितीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. संजिब खड्का, सर्वतृतीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. बिनिता बस्नेत, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. मृगेन्द्र कुमार सिंह यादव, कवाज एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. विजय सुनार, चाँदमारी प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. विशाल थापा र प्रहरी कारबाही तथा युक्ति प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी नायव निरीक्षक आर्किटेक्ट बरूण सहनीलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गर्नुभयो । साथै उहाँले तालिम सम्बन्धी गतिबिधि समेटिएको पुस्तक ‘संकल्प’ को विमोचन समेत गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले समाजमा शान्ति सुरक्षा अमन चयन कायम गर्ने तथा अपराध रोकथाम एवम् अनुसन्धान गर्न नेपाल प्रहरी राज्यको एक मात्र निकायको रूपमा रहेको चर्चा गर्दै विपद् व्यवस्थापन लगायत अन्य संवेदनशील र जटिलपूर्ण अवस्थामा समेत अग्रपंक्तिमा रहेर आम नागरिकमा सेवा प्रवाह गर्ने महत्वपूर्ण सुरक्षा निकायमा आवद्ध भई निर्दिशष्ट जिम्मेवारी वहन गर्न पाउनु आफैमा गौरवको विषय भएको उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको संस्थागत विकास, सुदृढिकरण र सेवा प्रवाहामा जनपद सेवा समूह जतिनै प्राविधिक समूहको पनि ठूलो योगदान रहेको बताउँदै सपोर्ट युनिटहरूको योगदानले नै अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा अमन चयन कायम गर्ने, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायत विभिन्न सेवा प्रवाहमा अतुलनिय सहयोग पुगेको बताउनुभयो । प्रहरी सेवा अन्य सेवा भन्दा ज्यादै पृथिक र विशिष्ट रहेको चर्चा गर्दै उहाँले यस सेवामा सदैव व्यावसायिक, निष्ठा, इमानदारिता अथक प्रयास, साहस र समर्पण भावको आवश्यकता रहने र यीनै गुणहरूले नै जस्तो सुकै कठिन परिस्थितिमा पनि आफूलाई समर्पित हुन हौसला प्रदान गर्ने बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले प्रशिक्षणको समापन सँगै राष्ट्र र नागरिकको सेवामा प्रतिवद्ध भएर लागिपर्ने नयाँ यात्राको शुरूवात भएको उल्लेख गर्दै तालिमको दौरान प्राप्त भएको आन्तरिक र बाह्य प्रशिक्षणले प्रशिक्षार्थीहरूलाई सबल र सक्षम जनशक्तिको रूपमा परिणत गराउँदै आगामी दिनमा कार्यक्षेत्रमा देखापर्ने नविनतम् चुनौतिहरूको पहिचान र निस्तेज गर्नमा समेत सहयोग शिद्ध हुने अपेक्षा लिएको बताउनुभयो । तालिमबाट आर्जन गरेको ज्ञान, सीप र कौशललाई सम्पूर्ण अधिकृतहरूले आगामी दिनमा उर्जाशिल भई रचनात्मक ढंगले राष्ट्र र नागरिकको सेवामा समर्पित भई उत्कृष्ट कार्यसम्पादन गर्न समेत उहाँले निर्देशन दिनुभयो ।   उक्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै उहाँले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण समेत गराउनु भएको थियो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाइले स्वागत मन्तव्य तथा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ २९ गतेबाट संचालित ९५ दिन कार्यावधिको उक्त तालिममा प्राविधिक प्रहरी निरीक्षक २७ जना, प्राविधिक प्रहरी नायव निरीक्षक ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक १ जना गरी कुल ३९ जना प्रशिक्षार्थीहरूले सफतलापूर्वक तालिम सम्पन्न गरेको जानकारी दिनुभयो ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको साथै प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 

डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण
२०८१-०६-१८

काठमाडौं, डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई १ सय ४ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रम बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले संयुक्त रूपमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गर्नुभएको हो ।  कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनका लागि मन्त्रालय र नेपाल प्रहरी बीच नीतिगत मात्र नभएर प्रत्यक्ष सहकार्यको शुभारम्भ भएको उल्लेख गर्नुभयो । आगामी दिनमा ट्राफिक प्रहरीको कामकारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उहाँले बताउनुभयो ।  कार्यक्रममा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन र बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे समेतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।   सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीलाई समयानुकूल आधुनिक र प्रविधि मैत्री बनाउँदै पारदर्शी, परिष्कृत र परिमार्जित सेवा प्रवाहमा सहजीकरण र सरलीकृत होस भन्ने उद्देश्यका साथ ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास लिएको बताउनुभयो । समग्रमा ट्राफिक प्रहरी कर्मचारीहरूको समेत क्षमता विकास तथा सेवा प्रवाहको प्रभावकारितामा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उहाँले उल्लेख गर्नुभयो ।  कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका जनसम्पर्क सल्लाहकार तथा सूचना प्रविधि विज्ञ, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, लगायतका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

सेवा निवृत्त हुनु भएका प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेलको बिदाइ
२०८१-०६-१४

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी सेवाबाट हालै सेवा निवृत्त हुनु भएका प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेललाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच बिदाइ गर्नुभएको छ ।बिदाइ समारोहलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक राईले सेवा निवृत्त हुनु भएका प्रहरी नायव महानिरीक्षक पोखरेलले संगठनबाट सुम्पिएको जिम्मेवारी इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गर्नुभयो । आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गर्नुभएको योगदानको प्रशंसा गर्नुको साथै उहाँले अवकाश पछिको व्यावसायिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना समेत व्यक्त गर्नुभयो ।सो अवसरमा निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सेवानिवृत्त हुनु भएका प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेललाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवा निवृत्त हुनु भएका प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेलले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।सेवा निवृत्त हुनु भएका प्रहरी नायव महानिरीक्षक पोखरेल वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षक पोखरेल असोज १४ गतेबाट सेवा निवृत्त हुनु भएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै उत्कृष्ट ढंगले जिम्मेवारी वहन गर्नुपर्ने - निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राई
२०८१-०६-०९

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी कार्यालयमा आउने सेवाग्राहीको समस्यालाई तत्काल सम्बोधन गर्दै उत्कृष्ट ढंगले आ-आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिनुभएको छ । हालै सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षकहरू तथा प्रहरी नायव उपरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिने क्रममा निमित्त प्रहरी महानिरीक्षक राईले उक्त निर्देशन दिनुभएको हो ।निमित्त प्रहरी महानिरीक्षक राईले आ-आफ्नो कार्यक्षेत्रको अवस्था, समस्या एवम् चुनौतिको विश्‍लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई काम गर्नुपर्ने उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम गर्न स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । नागरिकको भरोसा जित्ने गरी कार्य गर्नुपर्ने बताउँदै निष्ठावान, इमानदार एवम् सिर्जनशील भई काम गर्न उहाँले निर्देशन दिनुभयो । यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकाल, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी र नेपाल प्रहरी केन्द्रीय प्रहरी सह-प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई अपराध नियन्त्रण एवम् प्रभावकारी सुरक्षा व्यवस्थाको लागि गर्नुपर्ने कार्य लगायत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । 

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्नुपर्ने - निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राई
२०८१-०६-०८

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक सुरक्षा संवेदनशीलताका विषयमा मंगलबार ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिने क्रममा निमित्त प्रहरी महानिरीक्षक राईले उक्त निर्देशन दिनुभएको हो ।निमित्त प्रहरी महानिरीक्षक राईले आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै त्यस्ता गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो । विशेष गरी चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित चेतनामूलक कार्यक्रमहरू संचालन गर्न एवम् आ-आफ्नो क्षेत्रमा तस्करी नियन्त्रणको लागि थप सक्रिय भई कार्य गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी समेतले प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई अपराध नियन्त्रण एवम् प्रभावकारी सुरक्षा व्यवस्थाको लागि गर्नुपर्ने कार्य लगायत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।