प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

६९औं प्रहरी दिवस २०८१ का अवसरमा पुनर्मिलन कार्यक्रम सम्पन्न

२०८१-०६-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, ६९औं प्रहरी दिवस २०८१ का अवसरमा नेपाल प्रहरीद्वारा आयोजित पुनर्मिलन कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यलयमा बुधबार सम्पन्न भएको छ । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको शब्द संकलन, वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन तथा टंक बुढाथोकी र सदीक्षा कट्टेलको स्वरमा रहेको “हामी प्रहरी-जनताका पहरेदार” बोलको गित सार्वजनिकीकरण गर्नुभयो । साथै उहाँले ६९औं प्रहरी दिवस २०८१ अन्तर्गतका विविध कार्यक्रम उत्कृष्ट ढंगले प्रस्तुत गर्नुहुने महानुभावहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।   

पुनर्मिलन कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अग्रज प्रहरीहरूले इतिहास कालदेखि संगठनको निम्ति गर्नुभएको त्याग, समर्पण, भविष्य लक्षित नीति निर्माण, सांगठनिक सुदृढिकरण लगायतका सामूहिक कार्यद्वारा नै हामी अहिले वर्तमान अवस्थामा पुग्न सक्षम भएको चर्चा गर्नुभयो । सगठनको श्रीवृद्धिको लागि अग्रजहरूले निर्वाह गरेको योगदान अतुलनीय रहेको समेत उहाँले बताउनुभयो । अग्रज प्रहरीद्वारा आ-आफ्नो कार्यकालमा भएका अथक प्रयासहरूको सम्मान गर्दै उक्त प्रयासलाई आगामी पुस्ताले समेत निडरताका साथ निरन्तरता दिई अगाडि बढ्ने उहाँले बताउनुभयो ।

सो अवसरमा नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चका संयोजक अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले प्रहरी सेवामा रहँदा आफ्नो अनुभव बारे चर्चा गर्दै आउँदा दिनमा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न अवकाश प्राप्त प्रहरी कर्मचारीहरू प्रतिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । 

विविध गीत, संगीत र नाटकसहितको साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक मान बहादुर रावल, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष एवम् पदाधिकारीहरू लगायतका नेपाल प्रहरीका अवकाश प्राप्त तथा बहालवाला प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ६९औं प्रहरी दिवस २०८१ सम्पन्न
२०८१-०६-३०

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६९औं प्रहरी दिवस २०८१ सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीले ‘६९औं प्रहरी दिवस २०८१’ लेखिएको ब्यानर सहितको बेलुन उडाएर विशेष समारोहको औपचारिक शुरूवात गर्नुभयो । साथै उहाँले अपराध नियन्त्रणको विषय समेटिएको Public Service Announcement (PSA) सम्बन्धी जनचेतनामूलक भिडियोको डिस्प्लेमा क्लिक गरेर शुभारम्भ गर्नुका साथै “प्रहरी दर्पण २०८१” को लोकार्पण समेत  गर्नुभयो ।  सो अवसरमा प्रधानमन्त्री ओलीले ‍अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्त बहादुर बस्नेतलाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन (Police Baton) २०८१ तर्फ सर्वोत्कृष्ट हुन सफल लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुबेर कडायतलाई प्रहरी व्याटन २०८१ प्रदान गर्नुभयो ।सो अवसरमा प्रधानमन्त्री ओलीले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराईलाई ‘पूर्ण शान्ति पुरस्कार’, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ नायब निरीक्षक सूर्यभक्त श्रेष्ठलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र गण्डकी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म बाग्लुङका प्रहरी जवान अब्दुल अन्सारीलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गर्नुभयो ।समारोहमा प्रधानमन्त्री ओलीले बर्दिया बारबर्दिया नगरपालिका-४ का अमर प्रहरी जवान अमर बहादुर थारूको छोरी अंशु थारू र उदयपुर बेलका नगरपालिका-१ का अमर प्रहरी हवल्दार दिलिप कार्कीको छोरा दिकेश कार्कीलाई अच्युत-मिना अमर प्रहरी परिवार पुरस्कार तथा बैतडी शिवनाथ गाउँपालिका-२ का अमर प्रहरी प्रहरी जवान शेरसिंह साउदको छोरा अनिल साउद र अछाम बान्नीगढी जयगढ गाउँपालिकाका अमर प्रहरी प्रहरी जवान राम बहादुर साउदकी छोरी नविना साउदलाई अच्युत-मिना अमर प्रहरी छात्रवृत्ति प्रदान गर्नुभयो । साथै उहाँले नुवाकोट विदुर नगरपालिका-११ का अशक्त प्रहरी नायव निरीक्षक हित बहादुर तामाङकी छोरी आशिका लामा र सर्लाही विष्णु गाउँपालिका-६ का अमर प्रहरी प्रहरी जवान विन्देश्वर साहको छोरा अनजय कुमार साहलाई मोतिलाल, कला, मिथिला अमर/अशक्त प्रहरी छात्रवृत्ति प्रदान गर्नुभयो ।    विशेष समारोहलाई सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरी देशमा शान्ति सुव्यवस्था कायम गर्ने, कानूनको कार्यान्वयन गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने महत्वपूर्ण निकाय रहेको चर्चा गर्दै विपद्‍जन्य घटनाहरू लगायत अन्य अत्यन्त चुनौतिपूर्ण एवम् संवेदनशिल कार्यमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा धेरै चुनौतिहरू गम्भीर ढंगले बढेको उल्लेख गर्दै साइबर अपराध, लागूऔषधको प्रयोग लगायत अन्य आपराधिक गतिविधि नियन्त्रणको लागि नेपाल प्रहरीले अझ प्रभावकारी रूपमा प्रस्तुत भई कार्य गर्नुपर्ने बताउनुभयो । प्रहरी संगठनलाई साधन स्रोतयुक्त बनाई सबल, सक्षम र सशक्त बनाउँदै लैजान नेपाल सरकार प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो ।   समारोहमा गृहमन्त्री रमेश लेखकले देशको आन्तरिक शान्ति सुव्यवस्था कायम गर्न, कानुनको कार्यान्वयन गर्न, मुलुकमा आइपरेका विषम परिस्थिती एवम् विपत्तिमा उद्दार राहत व्यवस्थापन लगायतका कार्यमा अग्रपंक्तिमा रही नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । गृहमन्त्री लेखकले अन्तर्राष्ट्रिय आतंकवाद, साइबर अपराध, प्राकृतिक प्रकोपको जोखिम, आर्थिक अपराध, सीमापार तथा क्षेत्रिय अपराधको संजालको नियन्त्रण तथा अनुसन्धान लगायत विविध सुरक्षाका चुनौतिहरूको सम्बोधन गर्नुपर्ने बताउँदै नेपाल प्रहरीले त्यसको लागि राम्रो तयारी र क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । नेपाल प्रहरीलाई थप प्रविधियुक्त, साधनस्रोत तथा व्यावसायिक बनाउँदै लैजान गृह मन्त्रालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । प्रहरीले नागरिकमैत्री सेवा प्रवाह गर्दै मानव अधिकारको संरक्षण एवं सम्वर्द्धन, प्रमाणमुखी तथा निष्पक्ष अनुसन्धान गरी मुलुकमा कानूनी राज्यको सुनिश्चितता गर्न अझ निष्ठावान् रहनुपर्नेमा उहाँले जोड दिनुभयो । समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपालको संविधान, प्रहरी ऐन तथा नियमावली, प्रचलित ऐन, कानून, निर्देशिका तथा कार्यनिर्देशनहरूद्वारा प्रदत्त अधिकार बमोजिम समाजमा अपराध नियन्त्रण र अनुसन्धान, शान्ति सुव्यवस्था कायम, सवारी आवागमन व्यवस्थापन, विपद व्यवस्थापन तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धन लगायतको मुख्य अभिभारा नेपाल प्रहरीबाट मुख्य जिम्मेवारीको रूपमा बहन हुँदै आएको उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले राष्ट्र र नागरिकले सामना गरेका हरेक कालखण्ड, विपत्ति, कठिन एवम् विषम परिस्थितिहरूमा देखाएको समर्पण भाव, अदम्य साहस र निर्भिकता एवम् उच्च व्यावसायिकता प्रदर्शनको फलस्वरूप आज नेपाल प्रहरी नागरिक सेवा र सुरक्षाको भरोसा योग्य संगठनको रूपमा समाजको एउटा अभिन्न हिस्साको रूपमा स्थापित हुन सफल भएको उल्लेख गर्नुभयो । नागरिक केन्द्रित, स्वच्छ र व्यावसायिक प्रहरी सेवालाई दूरदृष्टि मानी समाज परिवर्तनको गति र चाहनालाई आत्मसाथ गर्दै नेपाल प्रहरीबाट प्रवाहित सेवा पनि थप परिष्कृत, उत्तरदायी, जवाफदेही र सर्वस्वीकार्य बनाउन नेपाल प्रहरी प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो । नेपाल सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा परिलक्षित कार्यक्रमहरूको सफल कार्यान्वयन गरी समृद्ध, सबल, समुन्नत र सुरक्षित नेपाल निर्माण गर्ने नेपाल सरकारको संकल्पलाई साकार तुल्याउन नेपाल प्रहरी कृतसंकल्पित रहेकोमा उहाँले जोड दिनुभयो ।  समारोहमा ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ २०८१ द्वारा सम्मानित अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्त बहादुर बस्नेतले शुभकामना सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त विशेष समारोहमा प्रहरीको ऐतिहासिक झलकसहितको कवाज प्रदर्शन, सात वटै प्रदेश तथा उपत्यका प्रहरी कार्यालयको प्रदेशगत चिनारी सहितको झाँकी प्रदर्शन, नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, विपद् व्यवस्थापन, केनाईन र प्रहरी अस्पतालबाट संयुक्त रूपमा प्रहरी युक्ति तथा विशेष कला प्रदर्शन, नेपाल प्रहरी केनाईन कार्यालयद्वारा अपराध अनुसन्धानमा केनाईनको प्रयोग तथा केनाईनको विशेष क्षमता सम्बन्धमा विशेष कला प्रदर्शन एवम् नेपाल प्रहरी संगीत विद्यालयद्वारा विभिन्न फर्मेसन र साँगितिक धुनहरूसहितको बैण्ड डिस्प्ले गरिएको थियो ।  समारोहमा प्रथम महिला श्रीमती राधिका शाक्य, लोकसेवा आयोगका अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष,  प्रतिनिधि सभाका पूर्व सदस्य एवम् अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक, नेपाल सरकारका मुख्य सचिव, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक, लोक सेवा आयोगका माननीय सदस्य, गृह मन्त्रालय, अर्थ मन्त्रालय तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवहरू, प्रधानमन्त्रीज्यूको प्रमुख स्वकीय सचिव, गृहसचिव, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष एवम् पदाधिकारीहरू, नेपाल प्रहरी एवम् सशस्त्र प्रहरी बल नेपालका प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, आमन्त्रित एवं उपस्थित विशिष्ट अतिथि महानुभावहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू, अमर तथा अशक्त प्रहरी संघ, नेपाल पूर्व प्रहरी संगठन तथा पूर्व प्रहरी कर्मचारी परिषदका अध्यक्ष तथा पदाधिकारीहरू, सञ्चारकर्मी एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  ६९औं प्रहरी दिवस २०८१ सबै प्रदेश प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयहरूमा समेत विविध कार्यक्रमहरूका साथ मनाइएको छ ।

नेपाल प्रहरी मुलुकको अपरिहार्य र महत्वपूर्ण संस्थाको रूपमा स्थापित- गृहमन्त्री रमेश लेखक
२०८१-०६-२९

काठमाडौं, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी राज्य र नागरिक विचको पहिलो सम्पर्क सुत्रका रूपमा रहेको एवम् आमनागरिकको सहयात्री हुन सफल भएको उल्लेख गर्दै नेपाल प्रहरी मुलुकको अपरिहार्य र महत्वपूर्ण संस्थाको रूपमा स्थापित भइसकेको बताउनुभएको छ ।  ६९औं प्रहरी दिवसको अवसरमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो ।  सो अवसरमा गृहमन्त्री लेखकले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले प्रहरी दिवस २०८१ स्मारिका र नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण पुस्तिका लोकार्पण समेत गर्नुभयो ।  समारोहलाई सम्बोधनको क्रममा गृहमन्त्री लेखकले राष्ट्रको आन्तरिक शान्ति सुरक्षा, कानूनको कार्यान्वयन, मानव अधिकारको संरक्षण र प्रवर्द्धन, अपराध नियन्त्रण र अनुसन्धान, विपत्ति र प्रकोपमा खोज/उद्दार, सवारी व्यवस्थापन देखि अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका ज्यादै प्रशंसनीय रहेको बताउनुभयो ।  राज्यको तर्फबाट नेपाल प्रहरी नागरिक समक्ष पहिलो पुग्ने संवाहक रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, ‘अन्यायमा परेका जो कोहीलाई न्याय दिलाउने र कसूरदारलाई दण्ड दिने राज्यको पहिलो प्रतिनिधि नेपाल प्रहरी हो । मानव अधिकारको संरक्षक र पालक पनि हो । यति धेरै जिम्मेवारी र दायित्व सायद अरू कुनै संगठनमा छैन् । ती भूमिका र कर्तव्य पालना गर्दा निश्चित रूपमा आन्तरिक र बाह्य रूपमा केही चुनौति र कठिनाई छन् । साधन स्रोतका सीमाहरू पनि छन् । यदा कदा इमानदारी पूर्वक जिम्मेवारी पालना गर्दै गर्दा पनि आलोचन र अपेक्षाका भारी पनि हामीले बोक्नुपरेको छ र ती अवरोह छिचोल्दै आफ्नो कर्तव्यमा अविचलित रहने सामर्थ भएको संगठन नेपाल प्रहरी हो । यो क्षमता संगठनको अलौकिक विशेषता पनि हो । जुन सुकै कठिन घडिमा पनि निष्ठावान रही कर्तव्यपरायण रहने नेपाल प्रहरीको अत्यन्त मौलिक चरित्र हो ।’   गृहमन्त्री लेखकले प्रहरीको विकल्प भनेको व्यवसायिक, निष्ठावान् प्रहरी संगठन नै भएको चर्चा गर्दै समाजको विकास र गतिशिलतासँगै प्रहरी संगठनको गतिशिलता हुनुपर्ने बताउनुभयो । समाज जसरी परिवर्तनशील र गतिशिल एवम् विकासोन्मुख छ प्रहरीको व्यावसायिकता एवम् सेवाको क्षेत्रलाई पनि तदनुरूप नै विकास गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतिको लागि सदैव सहयोगी रहने तथा संगठनले शुरू गरेका हरेक रचानात्मक योजना तथा कार्यहरूलाई पूर्णता दिन सदैव प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । महिला तथा बालबालिका उपर हुने हिंसा, कसूर जन्य कार्य, भेदभाव, छुवाछुत लगायत कुनै पनि आपराधिक कर्म र सञ्जाल प्रति कुनै आग्रह पूर्वाग्रह र मलैजा नगरी शून्य सहनशीलताको नीति अनुरूप कानूनको दायरामा ल्याउन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । आगामी दिनमा सबै प्रहरी कर्मचारीहरू थप सचेत एवम् इमानदारी भई आफ्नो क्षमता र व्यवसायिकताको प्रदर्शन गर्दै कार्य गर्न उहाँले आग्रह गर्नुभयो ।  साथै कानून विपरित भए गरेका कार्यहरूलाई निर्भिकता पूर्वक कानूनको दायरामा ल्याउन नेपाल प्रहरीले निर्वाह गरेको व्यावसायिक क्षमता र निष्ठाको उहाँले उच्च प्रशंसा समेत गर्नुभयो ।  प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी परिवारलाई शुभकामना दिँदै गृहमन्त्री लेखकले शहादत प्राप्त अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरूप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।  सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले अमर प्रहरीका परिवारहरूलाई सद्‍भाव सहयोग प्रदान गर्नुभयो ।   समारोहमा विशिष्ट अतिथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक जय बहादुर चन्द, पूर्व आयुक्त एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बराल, गृह सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चका संयोजक अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतीलाल बोहरा, अवकास प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, अमर प्रहरीका परिवारहरू, अन्य बिशिष्ट अतिथि महानुभावहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् उपस्थित प्रहरी अधिकृत तथा जवानहरूले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो ।  समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जस्तो सुकै विषम परिस्थितिमा पनि नागरिक मैत्री सेवा प्रवाहलाई केन्द्रबिन्दुमा राखी उच्च निष्ठाका साथ सांगठनिक श्रीवृद्धि तर्फ केन्द्रित रहन नेपाल प्रहरीका सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिनुभयो । अमर प्रहरी तथा अशक्त प्रहरी एवम् परिवारजनका  साथै अवकाश प्राप्त प्रहरी कर्मचारीहरू र वहाँहरूको परिवारजनको हकहितको लागी नेपाल प्रहरी संगठन सदैव चिन्तनशील रहँदै मन, वचन र कर्मले यथाशक्य सेवा सुविधा प्रदान गर्न दृढ संकल्पित रहेको उहाँले उल्लेख गर्नुभयो । 

६८औं प्रहरी दिवस २०८० का अवसरमा पुनर्मिलन कार्यक्रम सम्पन्न
२०८०-०६-३०

काठमाडौं, ६८औं प्रहरी दिवस २०८० का अवसरमा नेपाल प्रहरीद्वारा आयोजित पुनर्मिलन कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यलयमा मंगलबार सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर एवम् वरिष्ठ प्रहरी अधिकृतहरू र अवकाश प्राप्त वरिष्ठ प्रहरी अधिकृतहरुबीच प्रहरी दिवस २०८० तथा विजया दशमी, तिहार र छठ पर्वको शुभकामाना आदान प्रदान गरियो ।   पुनर्मिलन कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अग्रज प्रहरीद्वारा आ-आफ्नो कार्यकालमा भएका अथक प्रयासहरूको सम्मान गर्दै उक्त प्रयासलाई आगामी पुस्ताले समेत निडरताका साथ निरन्तरता दिई अगाडि बढ्ने बताउनुभयो । नेपाल प्रहरीले कार्यान्वयनमा ल्याएको नेपाल प्रहरी कार्ययोजना,२०८० लाई प्राथमिकतामा समावेश गरेको उल्लेख गर्दै त्यस विषयमा अग्रजहरूको अनुभव, सहयोग, सल्लाह र मार्गनिर्देशन प्राप्त भइरहने अपेक्षा रहेको बताउनुभयो ।  सो अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक प्रहरी कर्मचारीहरूले संगठनको श्रीवृद्धि गर्नका लागि आ-आफ्नो कर्तव्य पालना गर्दा निर्भिकता र निडरकासाथ कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । नेपाल प्रहरीमा आवद्ध भई अन्तर्राष्ट्रिय खेलकुदमा प्राप्त गरेको सफलताले विश्वमा समग्र नेपाल र संगठनको गौरव बढाएको उहाँले चर्चा गर्दै आउँदा दिनमा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न अवकाश प्राप्त प्रहरी कर्मचारीहरू प्रतिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । विविध गीत, संगीत र नाटकसहितको साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा प्रदेश सभाका सदस्य, पूर्व सभासद एवं अवकाश प्राप्त प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष एवम् पदाधिकारीहरू लगायतका नेपाल प्रहरीका अवकाश प्राप्त तथा बहालवाला प्रहरी अधिकृतहरूको उपस्थिति रहेको  थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा ६८औं प्रहरी दिवस २०८० सम्पन्न
२०८०-०६-३०

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार आयोजित विशेष समारोहबीच ६८औं प्रहरी दिवस २०८० सम्पन्न भएको छ । विशेष समारोहमा प्रधानमन्त्री दाहालले सफल अनुसन्धान, आमहत्या, घरेलुहिंसा, जबरजस्ती करणी, सवारी दुर्घटना, ठगी र साईबर क्राइम सम्बन्धी बनेको सचेतनामूलक सन्देश सहितको Public Service Announcement (PSA) मध्ये एक प्रतिनिधिमूलक रूपमा ठगी सम्बन्धी जनचेतनामूलक भिडियोको स्वीच अन गरी प्रसारण शुभारम्भ गर्नुभयो । साथै उहाँले “प्रहरी दर्पण २०८०” को लोकार्पण समेत गर्नुभयो ।  सो अवसरमा प्रधानमन्त्री दाहालले मित्रराष्ट्र चीनमा भर्खरै सम्पन्न भएको “१९औ एसियन गेम्स” अन्तर्गत कराते खेलमा रजत पदक जित्न सफल नेपाल पुलिस क्लबमा आवद्ध कराते खेलाडी एरिका गुरूङ, “१९औ एसियन गेम्स” अन्तर्गत कबड्डी खेलमा नेपाललाई कास्य पदक जिताउन सफल हुनुभएका नेपाल पुलिस क्लबमा आवद्ध प्रहरी सहायक हवल्दार नितु गुरूङ, प्रहरी सहायक हवल्दार मानमती विष्ट र प्रहरी सहायक हवल्दार अर्पणा चौधरी तथा “१९औ एसियन गेम्स” अन्तर्गत टि-२० क्रिकेट प्रतियोगितामा मंगोलिया विरूद्धको खेलमा ९ बलमा अर्धशतक (५० रन)  पूरा गरी विश्व रेकर्ड कायम गर्न सफल हुनुभएका यस वर्ष नेपाल प्रहरीका उत्कृष्ट खेलाडी नेपाल प्रहरी क्रिकेट टिमका क्याप्टेन प्रहरी सहायक हवल्दार दिपेन्द्र सिंह ऐरीलाई नगद तथा सम्मानपत्र प्रदान गर्नुभयो ।  समारोहमा प्रधानमन्त्री दाहालले ‍अवकाश प्राप्त प्रहरी निरीक्षक कोमल बहादुर थापालाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन (Police Baton) २०८० तर्फ सर्वोत्कृष्ट हुन सफल गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक वुद्धिराज गुरूङलाई प्रहरी व्याटन २०८० प्रदान गर्नुभयो ।  सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी नेपाल र नेपाल प्रहरी संगठनको गरिमा विश्वमाझ उच्च राख्न निर्वाह गरेको साहसिक तथा जोखिमपूर्ण कार्यको उच्च मूल्याङकन गर्दै प्रहरी वरिष्ठ नायब निरीक्षक पुरूषोतम नेपालीलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोका प्रहरी निरीक्षक मोहम्मद कलिम अञ्जुमलाई ‘पूर्ण शान्ति पुरस्कार’ र नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ नायब निरीक्षक दुर्गा कुमार योञ्जनलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ प्रदान गर्नुभयो ।  समारोहमा प्रधानमन्त्री दाहालले कैलाली धनगढी उपमहानगरपालिका-२ का अमर प्रहरी प्रहरी नायव निरीक्षक ध्रुव रावलको छोरा आर्यन रावल र अर्घाखाँची सन्धिखर्क नगरपालिका-२ का अमर प्रहरी प्रहरी जवान सूर्य बहादुर थापाकी छोरी आईस्का थापालाई अच्युत-मिना अमर प्रहरी परिवार पुरस्कार तथा बैतडी शिवनाथ गाउँपालिका-२ का अमर प्रहरी प्रहरी जवान शेरसिंह साउदको छोरा अनिल साउद र  अछाम बान्नीगढी जयगढ गाँउपालिकाका अमर प्रहरी प्रहरी जवान राम बहादुर साउदकी छोरी नविना साउदलाई अच्युत-मिना अमर प्रहरी छात्रवृत्ति प्रदान गर्नुभयो । साथै उहाँले नुवाकोट विदुर नगरपालिका-११ का अवकास प्राप्त प्रहरी नायव निरीक्षक हित बहादुर तामाङकी छोरी आशिका लामा र सर्लाही विष्णु गाउँपालिका-६ का अमर प्रहरी प्रहरी जवान विन्देश्वर साहको छोरा अनजय कुमार साहलाई मोतिलाल, कला, मिथिला अमर/अशक्त प्रहरी छात्रवृत्ति प्रदान गर्नुभयो ।   विशेष समारोहलाई सम्बोधनको क्रममा प्रधानमन्त्री दाहालले गौरवशाली इतिहास कायम गरेको प्रहरी संगठनले धेरै बाधा, अवरोध र चुनौतिहरूको सामना र परास्त गरेर आजको अवस्थामा आइपुगेको यस अवसरमा आफ्नो इतिहास र परम्परालाई कायम राख्दै थप जिम्मेवारीबोध र कार्यसम्पादनका निम्ति सिंगो प्रहरी संगठन परिवारमा अनुरोध गर्नुभयो । नेपाल प्रहरीको छविमाथि प्रश्न उठ्ने कुनै पनि प्रकारका अवान्छित गतिविधि र गलत क्रियाकलाप नियन्त्रण गर्न प्रहरी नेतृत्व पूर्णतः सक्षम रहेको विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले समाज सँगसँगै परिवर्तन हुँदै नेपाल प्रहरीले आफू र आफ्नो सेवा प्रवाहलाई समयसापेक्ष आधुनीकिकरण गर्दै पूर्ण जिम्मेवारीका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत प्रभावशाली प्रहरी संगठनको रूपमा स्थापित हुन सफल भएको चर्चा गर्नुभयो । सीमित साधनस्रोत, जनशक्ति र अनेकौं चुनौतीबीच पनि अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा प्राप्त गरेको ख्याती नेपाल सरकारको लागि पुँजी भएको उल्लेख गर्नुभयो । समाजमा बदलिँदो आपराधिक परिवेश, विश्‍वव्यापीकरणसँगै फैलिएको अन्तर्राष्ट्रिय अपराधको सञ्जाल, सूचना प्रविधिले ल्याएको विकास र यसले निम्त्याएको विनाश, अनुशासनहीनतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले आफ्नो स्वरूप र सेवा प्रवाहमा सोही अनुरूप विकास र परिवर्तन गर्दै गएको देख्दा गर्व र खुशी लागेको उल्लेख गर्दै उहाँले सूचना-प्रविधिको विकाससँगै अपराधका नयाँ-नयाँ आयामहरू विकसित भइरहेको परिप्रेक्ष्यलाई दृष्टिगत गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरीले आगामी दिनमा प्रविधिमैत्री संयन्त्र र विधिको भरपूर उपयोग गर्नुपर्ने बताउनुभयो ।   आम नागरिकको सरोकार र राज्यका समस्यामा नेपाल प्रहरीले प्रथम पंक्तिमा रहेर समस्या सम्बोधन र समाधान गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “आम नागरिकले दु:खमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुने गरेको छ, यो आफैमा महत्वपूर्ण कुरा हो ।” नेपाल प्रहरीले मानव अधिकारको संरक्षण तथा प्रवर्धन गर्न, लैंगिक हिंसा न्यूनिकरण गर्न, वाक् तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न, महिला बालबालिका तथा ज्येष्‍ठ नागरिकको सेवा एवं सुरक्षा गर्नका लागि सामुदायिक समन्वय गरी आधुनिक प्रहरीका सिद्धान्तहरू अवलम्बन गरेको उल्लेख गर्नुभयो ।   समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आम नागरिकको समृद्धि र समुन्नतिको चाहना साकार तुल्याउन नेपाल सरकारले तय गरेको नीति तथा कार्यक्रमलाई सफल कार्यान्वयन गरी सुरक्षित र समुन्नत नेपाल बनाउन नेपाल प्रहरी हर तरहबाट कटिबद्ध रहेको बताउनुभयो । विश्वव्यापी रूपमा चुनौतिका रूपमा देखा परेका संगठित अपराध, लागूऔषध, मानव बेचबिखन, साइबर एवं विद्युतीय कसूर, अवैध हात-हतियार ओसारपसार, बहुमूल्य सामग्रीहरूको ओसारपसार, आर्थिक अपराधलाई निर्ममतापूर्वक कानूनी दायरामा ल्याउन नेपाल प्रहरीले आफ्नो क्षमता विस्तारलाई गति दिँदै अन्तर्राष्ट्रिय प्रहरी निकायहरूसँगको समन्वयलाई पनि तीव्रता दिएको उहाँले उल्लेख गर्नुभयो ।   प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले कार्यसम्पादन र सेवा प्रवाहको विश्वसनियता, गुणस्तरीयता एवं जिम्मेवारीप्रतिको समर्पणलाई निरन्तर परिष्कृत, परिमार्जित र सुदृढ गर्दै समय, परिवेश र विकासको गतिसँगै संगठनको विकास र विस्तार गर्दै आईरहेको चर्चा गर्दै नेपाल प्रहरीको सेवामा प्रभावकारिता वृद्धि गर्न आन्तरिक सुदृढीकरण र शुद्धीकरण गर्ने उद्देश्यसहित नेपाल सरकार गृह मन्त्रालयको वर्तमान प्राथमिकताको क्षेत्रहरूलाई मुख्य आधार मान्दै नेपाल प्रहरी कार्ययोजना,२०८० कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।  समारोहमा ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ २०८० द्वारा सम्मानित अवकाश प्राप्त प्रहरी निरीक्षक कोमल बहादुर थापाले नेपाल प्रहरीको मानवस्रोत विकास तथा विशेषत बाह्य प्रशिक्षणको क्षेत्रमा गरेको कार्यहरूलाई उच्च कदर गरी यस अवार्डद्वारा सम्मान गरेकोमा नेपाल प्रहरी प्रधान कार्यालयप्रति आभार एवम् कृतज्ञता व्यक्त गर्नुभयो ।   उक्त विशेष समारोहमा प्रहरीको ऐतिहासिक झलकसहितको कवाज प्रदर्शन, सात वटै प्रदेश तथा उपत्यका प्रहरी कार्यालयको प्रदेशगत चिनारीसहितको झाँकी प्रदर्शन, नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलबाट प्रहरी युक्ति तथा विशेष कला प्रदर्शन, नेपाल प्रहरी केनाईन कार्यालयद्वारा अपराध अनुसन्धानमा केनाईनको प्रयोग तथा केनाईनको विशेष क्षमता सम्बन्धमा विशेष कला प्रदर्शन एवम् नेपाल प्रहरी संगीत विद्यालयद्वारा विभिन्न फर्मेसन र साँगितिक धुनहरूसहितको बैण्ड डिस्प्ले गरिएको थियो ।  समारोहमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकर दास बैरागी, प्रधानमन्त्रीज्यूको प्रमुख स्वकीय सचिव, नेपाल सरकारका मुख्य सचिव, प्रदेश सभाका सदस्य, पूर्व सभासद एवं अवकाश प्राप्त प्रहरी महानिरीक्षक, संवैधानिक निकायका सदस्य तथा आयुक्तहरू, प्रधानमन्त्रीज्यूको स्वकीय सचिवहरू, गृहसचिव, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, निमित्त सशस्त्र प्रहरी महानिरीक्षक, पूर्व आयुक्त, पूर्व गृहसचिव, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष एवम् पदाधिकारीहरू, नेपाल प्रहरी एवम् सशस्त्र प्रहरी बल नेपालका प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकहरू, मन्त्रालयका सह-सचिवहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, आमन्त्रित एवं उपस्थित विशिष्ट अतिथि महानुभावहरू, अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षकहरू, अमर तथा अशक्त प्रहरी संघ, नेपाल पूर्व प्रहरी संगठन तथा पूर्व प्रहरी कर्मचारी परिषदका अध्यक्ष तथा पदाधिकारीहरू, सञ्चारकर्मी एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको छ ।  ६८औं प्रहरी दिवस २०८० सबै प्रदेश प्रहरी कार्यालयहरु तथा मातहत कार्यालयहरूमा समेत विविध कार्यक्रमहरुका साथ मनाइएको छ । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट सम्मानपत्र, कदरपत्र तथा पुरस्कार वितरण
२०८०-०६-२९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ६८औं प्रहरी दिवस २०८० का अवसरमा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई सम्मानपत्र, कदरपत्र, पुरस्कार एवं विविध अलङ्कार तथा पदक प्रदान गर्नुभयो । सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८० अन्तर्गत आ-आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने ट्राफिक प्रहरीतर्फ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, नेपाल प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक ध्रुव राज राउत, प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीका प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरि शर्मा, प्रदेश प्रहरी गण खजुरा बाँकेका प्रहरी उपरीक्षक माधव प्रसाद बुढाथोकी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मी, ईलाका प्रहरी कार्यालय बुटवल रूपन्देहीका प्रहरी नायव उपरीक्षक दान बहादुर थापा र प्रहरी चौकी श्रीअन्तु ईलामका प्रहरी वरिष्ठ नायव निरीक्षक किरण प्रसाईलाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गर्नुभयो ।  यसैगरी प्रहरी महानिरीक्षक कुँवरले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीहरूलाई प्रोत्साहन तथा उच्च मनोबल प्रदान गर्नको लागि यसै वर्षदेखि यूनिसेफ नेपालको सहकार्यमा Strengthening Nepal Police Women Children and Senior Citizens Services Directorate on Justice For Children परियोजना अन्तर्गत सर्वप्रथम हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक समीक्षा खत्री, द्वितीय हुने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी हवल्दार देवी पाण्डे, तृतीय हुने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक निरला भण्डारी तथा सान्तवना पुरस्कारतर्फ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सरिता विश्वकर्मा र जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी सहायक हवल्दार वीरेन्द्र बिकलाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो  । यसैगरी प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ डा. छायादत्त न्यौपाने‘बगर’ र प्रहरी निरीक्षक जनार्दन घिमिरेलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी विद्यालयका उत्कृष्ट शिक्षकतर्फ नेपाल प्रहरी स्कुल साँगा काभ्रेका शिक्षक भरत सिग्देल, ६८औं प्रहरी दिवस २०८० का अवसरमा सर्वोत्कृष्ट प्रहरी नारा ‘गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा’ परिकल्पना गर्नुहुने प्रहरी सहायक निरीक्षक अमृत राना, ६८औं प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाल प्रहरीद्वारा आयोजना गरिएको चित्रकला प्रतियोगितामा विजयी हुने नारायणी मोडेल सेकेन्डरी स्कुल, भरतपुर महानगरपालिका-१० की कक्षा ९ मा अध्ययनरत छात्रा सृष्टि श्रेष्ठ र निबन्ध प्रतियोगितामा विजयी हुने सेन्ट जेभियर्स स्कुलकी कक्षा १० की छात्रा अनुष्का पाण्डेयलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । सोही अवसरमा अनुष्का पाण्डेयले पुरस्कृत निबन्ध वाचन गर्नु भएको थियो भने सृष्टि श्रेष्ठको चित्रकला प्रदर्शन गरिएको थियो ।     यसैगरी प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुर्‍याउने अवकास प्राप्त प्रहरी उपरीक्षक ध्रुवरत्न हाडा, अवकास प्राप्त प्रहरी निरीक्षक श्याने राना र विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको समयमा र डेङ्गु नियन्त्रणको लागि नेपाल प्रहरीलाई स्वास्थ्य सुरक्षाको सामग्री उपलब्ध गराई सहयोग गर्ने समाजसेवी रमेश केसीलाई सम्मानपत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने उदयपुर बेलका नगरपालिकाका धनराज दाहाललाई कदरपत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने अन्य ३८ जनालाई सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरूबाट कदरपत्र प्रदान गरिने छ ।  प्रहरी महानिरीक्षक कुँवरले उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी जवान प्रकाश साउद, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेल, उत्कृष्ट बाह्य प्रशिक्षक प्रहरी नायव निरीक्षक रेशम बहादुर बानिया, प्रहरी जवान सरिता थारू, सपोर्ट समूह प्राविधिकतर्फका प्रहरी निरीक्षक भक्त क्षेत्री र उत्कृष्ट खेलाडीतर्फ प्रहरी प्रहरी जवान विशाल सिंह विष्ट र प्रहरी कार्यालय सहयोगी सागर भण्डारीलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । साथै नेपाल प्रहरी स्मारक गुठिका ९ जना आजीवन सदस्यहरूलाई उहाँले कदरपत्र प्रदान  गर्नुभयो ।    यसैगरी उहाँले सम्माननीय राष्ट्रपतिज्यूबाट वि.सं. २०७९ को संविधान दिवसको अवसरमा प्रहरी कर्मचारीहरूलाई प्रदान गरिएको नेपाल प्रताप सुभूषण २० जना, नेपाल प्रताप आभूषण १२ जना, नेपाल प्रताप भूषण ५ जना, सौर्य पदक १ जना र विरता पदक १ जनालाई प्रदान गर्नुभयो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनलाई निःस्वार्थ सहयोग पुर्‍याउनु भई सम्मानित हुनु भएका महानुभावहरू, पुरस्कार विजेता विद्यार्थीहरू, प्रहरी दिवसका अवसरमा आयोजित विविध विधामा पुरस्कृत हुनुभएका एवं सर्वोत्कृष्ट कार्य सम्पादन गरी पुरस्कृत हुनुभएका प्रहरी कर्मचारीहरूमा हार्दिक बधाई ज्ञापन गर्नुभयो । पदीय जिम्मेवारी निर्वाहका क्रममा उच्च व्यावसायिकता प्रदर्शन गरी उत्कृष्ट कार्य सम्पादन गर्नुभएका प्रहरी अधिकृत तथा जवानहरूले आगामी दिनमा समेत गुणस्तरको कार्य सम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । संगठनले सुम्पेको जिम्मेवारी निर्वाहमा प्रदर्शन गरेको इमानदारी, लगनशीलता र प्राप्त परिणामको उच्च मूल्याङ्कन भएको उल्लेख गर्दै पुरस्कृत हुने प्रहरी कर्मचारीहरूबाट प्रदर्शन भएको जिम्मेवारीबोध, व्यावसायिक निष्ठा र कुशलताबाट अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनले प्रचलित कानूनको कार्यान्वयन तथा मानव अधिकारको संरक्षण र सम्बर्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै कर्तव्यपालनाको क्रममा सम्पूर्ण प्रहरी कर्मचारीहरू त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो । प्रहरी संगठनबाट प्रदान गरिने सेवाहरू जनमुखी, पारदर्शी, स्वच्छ, छिटो छरितो, प्रभावकारी र नागरिक एवं सेवाग्राही स्वीकार्य ढंगबाट उपलब्ध गराउन सकेमा मात्र प्रहरीप्रतिको जनविश्वासमा अभिवृद्धि हुने चर्चा गर्दै उहाँले भन्नुभयो, ‘क्षणिक लाभ हानी, व्यक्तिगत सफलता असफलताको संकिर्णता कार्यसम्पादनको गुणस्तरको परम शत्रु हुन तसर्थ यी भन्दा माथि उठेर सामूहिक रूपमा एकसाथ उभिई व्यावसायिक निष्ठाकासाथ अविचलित रही राज्यप्रतिको सेवाभावको मनोवृतिगत रूपान्तरण अहिलेको टड्कारो आवश्यक्ता हो ।’ नेपाल प्रहरीलाई थप सुदृढ सबल र सक्षम बनाउनका लागि पद्धति र प्रणाली महत्वपूर्ण रहेकोले सबैको सकारात्मक सहयोग र साथ आवश्यक रहेको उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।   

नेपाल प्रहरीको भूमिका र कर्तव्यवोधले मात्र समग्र मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिने - उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ
२०८०-०६-२९

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरूरी रहेको उल्लेख गर्दै मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यवोधले मात्र समग्र मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिने बताउनुभएको छ ।  ६८औं प्रहरी दिवसको अवसरमा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।  सो अवसरमा गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका परिवारहरुलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले प्रहरी दिवस २०८० स्मारिका र नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण पुस्तिका लोकार्पण समेत गर्नुभयो ।  समारोहलाई सम्बोधनको क्रममा गृहमन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सुनिश्चित गर्न चाडपर्व लगायत आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाँती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरी कर्मचारीहरुको समर्पणभाव हरेक पुस्ता र पिंढीका लागि प्रेरणाको श्रोतको रूपमा रहने उल्लेख गर्नुभयो । साधन स्रोतको अभावमा पनि राज्यले सुम्पेको जिम्मेवारीलाई नेपाल प्रहरीले निष्ठापूर्वक तथा प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्दै आएको उहाँले बताउनुभयो । आमनागरिक र राज्यले सामना गरेको हरेक विषम परिस्थितिलाई निस्तेज तुल्याउन नेपाल प्रहरीका प्रत्येक सदस्यहरूले पेशागत कर्तव्यपरायणतामा उच्च मनोबलका साथ खटिदै आएको उहाँले चर्चा गर्नुभयो ।  गृहमन्त्री श्रेष्ठले नविनतम आविष्कार र नयाँ प्रविधिको कारण बढ्दै गएका अपराधका नयाँ शैलीविरूद्ध तदारूकता बढाउँदै वर्तमान र भविष्यमा हुने सक्ने अपराधहरूको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने गरी नेपाल प्रहरी हरदम तयारी रहनुपर्ने उल्लेख गर्नुभयो । निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनुको साथै राज्यमा दण्डहिनताको अन्त्य हुने बताउँदै गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन र कुनै स्वार्थ तथा शक्तिको प्रभाव वा दबाबमा नपरी निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो पूर्ण विश्वास रहेको छ ।”  प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी परिवारलाई शुभकामना दिँदै गृहमन्त्री श्रेष्ठले शहादत प्राप्त अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरुप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते भएका प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । साथै नेपाल प्रहरीको नि:स्वार्थ सेवा र अटल समर्पण भावलाई अँगाल्दै देश र नागरिक सुरक्षाका क्रममा शहादत प्राप्त अमर प्रहरीका परिवारजनको पीडाका क्षणमा नेपाल सरकार सदैव साथमा रहेको उहाँले बताउनुभयो । सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले अमर प्रहरीका परिवारहरुलाई सद्‍भाव सहयोग प्रदान गर्नुभयो ।   समारोहमा विशिष्ट अतिथि पूर्व सभासद एवं अवकास प्राप्त प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह, गृहसचिव दिनेश भट्टराई, अवकास प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, अमर प्रहरीका परिवारहरु, अन्य बिशिष्ट अतिथि महानुभावहरु, वरिष्ठ प्रहरी अधिकृतहरु एवं उपस्थित प्रहरी अधिकृत तथा जवानहरुले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो ।  समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नागरिकमैत्री प्रहरीको रूपमा सांगठनिक छवि उजागरमा केन्द्रीत रहन नेपाल प्रहरीका सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल सरकारको कार्य प्राथमिकतामा अटल र अविचलति रहन निर्देशन दिनुभयो । नागरिकमैत्री प्रहरीका रूपमा पारदर्शी, जबाफदेही, सेवाग्राही र नागरिक स्वीकार्य, मानव अधिकारको संरक्षण र सम्मानको कसीमा प्रहरीका काम कारवाहीहरू उत्कृष्ट हुने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल अभिवृद्धि मार्फत प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढीकरण र शुद्धीकरणको लक्ष्य सहित “नेपाल प्रहरी कार्ययोजना,२०८०”  तर्जुमा गरी लक्षित वर्ग केन्द्रित कल्याणकारी योजना विकास गर्ने, प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल वृद्धि हुने क्रियाकलाप सञ्चालन गर्ने, नव प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका उच्च प्राथमिकतायुक्त कार्यक्रमहरू कार्यान्वयनको लागि कार्ययोजना अगाडि बढाइएको र उक्त लक्ष्य पूरा गर्न तालुक मन्त्रालय र अन्य सरोकारवाला निकायको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।