प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी संगठनको छवि उच्च राख्दै नागरिकको सेवामा तल्लीन हुनुपर्ने - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर

२०८१-०७-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको छविलाई उच्च राख्दै व्यावसायिक एवम् निष्ठावान भई नागरिकको सेवामा सबै प्रहरी कर्मचारीहरू तल्लीन हुन निर्देशन दिनुभएको छ । 

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त निर्देशन दिनुभएको हो । 

प्रहरी महानिरीक्षक कुँवरले आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन निर्देशन दिनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने बताउँदै विस्फोटक पदार्थ ओसारपसार नियन्त्रण लगायत अन्य आपराधिक क्रियाकलाप न्यूनिकरणमा समेत क्रियाशील हुन निर्देशन दिनुभयो । व्यक्तिगत स्वार्थलाई त्यागेर आफ्नो कर्तव्यमा आधारित भई उत्कृष्ट रूपमा कार्य गर्नुपर्ने चर्चा गर्दै हिरासत व्यवस्थापनमा समेत थप संवेदनशील भई कार्य गर्न उहाँले निर्देशन दिनुभयो ।  

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक कुँवरबाट नेपाल पुलिस स्कुल चितवनको नवनिर्मित छात्रावास भवन उद्‌घाटन
२०८१-०७-०८

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको नवनिर्मित छात्रावास भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनको निरीक्षण समेत गर्नुभयो ।उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले स्कुलले स्थापनाको छोटो समयमा शैक्षिक क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै यस नवनिर्मित भवनले स्कुलको शैक्षिक गतिविधि अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा लिएको बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले प्रहरी स्कुलप्रतिको अभिभावकको विश्वासलाई कायमै राखी आगामी दिनहरूमा संख्यात्मक तथा गुणात्मक आकार वृद्धिमा केन्द्रित रहन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालय परिवारलाई निर्देशन दिनुभयो । प्रहरी कर्मचारीहरू र सर्वसाधारणहरूका सन्ततिलाई उत्कृष्ट शिक्षा प्रदान गरी सक्षम नागरिक बनाउने जिम्मेवारीमा खरो रूपमा उत्रन विद्यालय व्यवस्थापन पक्षलाई समेत उहाँले निर्देशन दिनुभयो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास चन्द्र आचार्य, साविक राष्ट्रिय आधारभूत विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष धर्मनाथ न्यौपाने र अभिभावकको तर्फबाट हरिशचन्द्र दाहालले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनका प्राचार्य मुकुन्द कुमार गिरीले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्यु प्रस्तुत गरेका थिए । प्रहरी कल्याण कोषको ऋण सहयोगमा विद्यालयको आन्तरिक स्रोतबाट कुल ७ करोड ६५ लाख ८५ हजार ७ सय रूपैयाँ ९५ पैंसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट नेपाल प्रहरी शिक्षालय भरतपुरको नवनिर्मित प्रशासनिक भवन उद्‌घाटन
२०८१-०७-०८

चितवन, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी शिक्षालय भरतपुरको नवनिर्मित प्रशासनिक भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनको निरीक्षण तथा कार्यलय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी जनशक्तिलाई अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुव्यवस्था कायम राख्न सक्षम बनाउने थलो तालिम केन्द्र भएको चर्चा गर्दै तालिम केन्द्र प्रहरीको एउटा एकाई मात्र नभई कानूनको निष्पक्ष कार्यान्वयनको लागि निर्भिक, निष्पक्ष, कर्मठ, इमानदार र व्यावसायिक प्रहरी जनशक्तिको उत्पादन गर्ने पवित्र स्थल भएको बताउनुभयो । प्रशिक्षणस्थलमा उपलव्ध भौतिक पूर्वाधारहरूले प्रशिक्षण गतिविधिलाई प्रत्यक्ष असर पार्ने हुनाले यो भवनको उद्‌घाटन सँगै प्रशिक्षणमा संलग्न प्रशिक्षक र प्रशिक्षार्थीहरू लाभान्वित भई तालिमको स्तर र प्रभावकारितामा गुणात्मक वृद्धि आउने अपेक्षा लिएको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले परम्परागत प्रशिक्षण प्रणालीलाई निरन्तरता दिई आधुनिकतासँग भित्रिएका नयाँ प्रसंग र परिवेशलाई सम्बोधन गर्दै आधुनिक प्रशिक्षण प्रणालीलाई आत्मसाथ गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै समयानुकूल पाठ्यक्रमको निर्माण र तदनुरूप प्रशिक्षण प्रणालीको विकाशमा केन्द्रित हुन जरूरी रहेको बताउनुभयो । हाम्रो परिवेश, अपराधको प्रवृत्ति र प्रविधिको विकासको अपरिहार्यतालाई मध्यनजर गर्दै यस शिक्षालयले आफ्नो प्रशिक्षण पद्दतिलाई समयानुकूल परिवर्तन सँगसँगै भविष्यमा आउन सक्ने चुनौतिलाई दृष्टिगत गरी चुनौतिको सामना गर्न सक्ने प्रहरी जनशक्तिको निर्माण गर्न सक्षम बनाउने तालिम कार्यक्रमको विकास गर्न प्रशिक्षक वर्गलाई उहाँले निर्देशन दिनुभयो ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, भौतिक पूर्वाधार शाखाका प्रहरी नायव उपरीक्षक ई. शम्भु प्रसाद कोईरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।नेपाल सरकारको नियमित बजेटबाट कुल ५ करोड १५ लाख ५२ हजार ३ सय ३३ रूपैयाँ १५ पैंसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल,  प्रहरी नायव महानिरीक्षकहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय तहका प्रतिनिधिहरू, जिल्लास्थित विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, अवकाश प्राप्त पूर्व प्रहरी कर्मचारीहरू, अमर प्रहरी परिवार संघका पदाधिकारीहरू, समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

आई.जि.पि. रनिङ्ग कप पुरूष भलिबल प्रतियोगिता सुरू
२०८१-०७-०७

काठमाडौं, आई.जि.पि. रनिङ्ग कप पुरूष भलिबल प्रतियोगिता २०८१ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सुरु भएको छ ।नेपाल प्रहरी खेलकूद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले प्रतिष्ठानमा बुधबार आयोजित एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको उद्‍घाटन गर्नुभयो ।सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले शान्ति सुरक्षा अमन चयन कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान गर्ने जस्तो गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीले खेलकुद क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखेको बताउनुभयो । राष्ट्रिय खेलकुद क्षेत्रको उल्लेख्य हिस्सा ओगटेको नेपाल प्रहरीको खेलकुद इतिहास गर्व गर्न लायक रहेको बताउँदै नेपाल प्रहरीका खेलाडीले प्राप्त गरेको सफलताले राष्ट्र र संगठनको शिर उच्च बनाएको उहाँले उल्लेख गर्नुभयो । आगामी दिनमा खेलकुद प्रतियोगिताहरूलाई अझै प्रभावकारी बनाउन तथा नयाँ प्रतियोगिताहरू संचालन सहितको योजना तयार गर्ने प्रयास भइरहेको समेत उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले प्रतियोगिता सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो । प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र ७ वटै प्रदेश प्रहरी कार्यालयका गरी १० टिमको सहभागिता रहेको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट प्रहरी निरीक्षक आधारभूत तालिम उद्‍घाटन
२०८१-०७-०५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित ‘Post Graduate Diploma In Police Sciences (PGDPS)’ कार्यक्रम समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३औं समूह (PGDPS १४औं ब्याच) को सोही प्रतिष्ठानमा सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो ।  उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले बद्लिदो परिवेश र परिवर्तनलाई आत्मसाथ गर्दै नेपाल प्रहरी संगठनको आधुनिकीकरण एवम् सुदृढिकरणका लागि सांगठनिक आवश्यकतालाई सम्बोधन गर्न सक्षम नेतृत्व तयार गर्न तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने योग्य र सक्षम जनशक्ति उत्पादन र विकास गर्नको लागि यो कोर्स सहयोगशिद्ध हुने उल्लेख गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी राज्यको एक मात्र दुरदराजसम्म फैलिएको आम नागरिकको सेवामा चौबिसै घण्टा परिचालित हुने, असाह्य, पीडित र अन्यायमा परेका हरेक नागरिकको आड र भरोसाको केन्द्र रहेको चर्चा गर्दै यस्तो संगठनमा आवद्ध भएर प्राप्त हुने कर्म र धर्मको समिश्रणको सौभाग्य धेरै कमलाई मात्र प्राप्त हुने भएकोले देश र नागरिकको सेवामा समर्पित नेपाल प्रहरी जस्तो ऐतिहासिक एवम् गरिमामय संगठनमा प्रशिक्षार्थिहरूलाई स्वगत समेत गर्नुभयो ।  भविष्यको मार्गचित्र आधारभूत तालिमका दौरानमा नै तयार हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘नेपाल प्रहरीको अधिकृत हुनुमा जति गर्व जोडिएको छ, यो सँगै जोडिएर आउने चुनौतिहरूको दायरा पनि त्यतिकै बृहत्तर छन् । प्रहरी सेवा केवल जागिर मात्र नभई एउट जीवनशैली पनि हो । यो सेवामा हामीलाई हरदम उच्च व्यावसायिकता, पवित्र निष्ठा, अदम्य साहस र अविचलित समर्पण भावको आवश्यकता रहन्छ । एक सक्षम नागरिकबाट एक कुशल प्रहरी अधिकृतका रूपमा रूपान्तरण हुन आवश्यक पर्ने सैदान्तिक र व्यवहारिक ज्ञान आर्जन पश्चात मात्र सम्भव हुने हुँदा हरेक प्रहरी अधिकृतहरूलाई आधारभूत तालिमको विशेष महत्व हुने गर्दछ ।’ कार्यक्षेत्रमा अप्रत्याशित परिस्थितहरूको विच हर क्षण कार्यकुशलता, क्षमता र दक्षताको प्रदर्शन गर्दै आफ्नो कार्य क्षेत्रमा आई पर्ने विभिन्न चुनौतिहरूको सामना गर्दै एक कुशल कमाण्डरको भूमिका निर्वाह गर्न तालिममा सिकेका सीप ज्ञान र कौशलले कर्तव्यपथमा निरन्तर निर्देशित गर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक कुँवरले बद्लिदो परिवेशमा प्रहरीको चुनौति, जिम्मेवारी, अवसर र दायित्व फराकिलो बन्दै गएको उल्लेख गर्दै संगठित अपराधको वृद्धि एवम् प्रगतिशिल विज्ञान र प्रविधिले उब्जाएका नविनतम् चुनौतिहरूको सामना गर्न अन्तर्राष्ट्रिय जगतमै विगतको दशकमा पुलिसिङमा धेरै परिवर्तन एवम् विकास भएको र सोही अनुरूप विगत र वर्तमानलाई मात्र नभई भविष्यमा समेत सक्षम र दक्ष ठहरिने गरी प्रशिक्षण कार्यक्रमहरू संचालन हुन आवश्यक रहेको बताउनुभयो । कठिन परिश्रम र अथक लगावबाट मात्र सफलता प्राप्त हुने भन्ने कुरा प्रशिक्षणले सिकाउँदै लैजाने चर्चा गर्दै उहाँले प्रशिक्षण अवधिभर उच्च अनुशासन, कडा मेहनत, लगनशिलता र व्यावसायिक निष्ठाका साथ हरेक प्रशिक्षण क्रियाकलापहरूमा सहभागी भई सफलतापूर्वक तालिम सम्पन्न गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो ।  कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले नेपाल प्रहरी निस्वार्थ रूपमा सेवा प्रदान गर्ने संगठन भएको चर्चा गर्दै व्यवहार एवम् आफ्नो चरित्रलाई अझै राम्रो बनाउँदै आफ्नो कमि कमजोरीलाई आफैले औल्याउँदै सुधार गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।  सोही प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै तालिम सम्बन्धी जानकारी दिनुभएको थियो । उक्त तालिममा खुल्ला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीयतर्फका प्रहरी निरीक्षक ६५ जना र खुल्लातर्फबाट नवनियुक्त प्रहरी निरीक्षक ३० जना गरी कूल ९५ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूको सहभागिता रहेको छ । PGDPS सम्बन्धि वृत्तचित्र समेत प्रदर्शन गरिएको उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन, PGDPS कार्यक्रमका सल्लाहकार, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट केन्द्रीय प्रहरी परिचालन कक्षको उद्‍घाटन
२०८१-०६-३०

काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रम बिच केन्द्रीय प्रहरी परिचालन कक्षको उद्‍घाटन गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी परिचालन कक्षलाई समय सापेक्ष थप सुधार गरी कार्य सम्पादनमा सहजता ल्याउन विभिन्न डेस्कको स्थापना सँगै नयाँ संरचनामा संचालन गर्ने गरी ६९औं प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक कुँवरले उक्त परिचालन कक्षको उद्‍घाटन गर्नुभएको हो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी, सूचना प्रविधि निर्देशनालयका प्रहरी नायव महानिरीक्षक अरूण कुमार भण्डारी, प्रबन्ध निर्देशनालयका प्रहरी नायव महानिरीक्षक केदार ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट सम्मानपत्र, कदरपत्र तथा पुरस्कार वितरण
२०८१-०६-२९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ६९औं प्रहरी दिवस २०८१ का अवसरमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गर्नुभयो । सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले अवकाश पश्चात आफ्नो अनुभव सहितको रचनात्मक सुझावद्वारा समाजमा शान्ति सुरक्षा कायम राख्न पूर्व प्रहरी तथा सचेत नागरिकको भूमिकामा क्रियाशील रहनुभएका अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्त बहादुर बस्नेतलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले यस वर्षको नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८१ मा प्रदेश प्रहरी कार्यालयहरूमध्ये उत्कृष्ट व्यवस्थापक विधातर्फ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव महानिरीक्षक रविन्द्र केसी र उत्कृष्ट सिर्जनशील कार्यतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङलाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८१ अन्तर्गत आ-आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक ध्रुव राज राउत, प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अवि नारायण काफ्ले, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक अपिल राज बोहरा, काठमाडौं उपत्यका विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, प्रदेश प्रहरी गण पोखराका प्रहरी उपरीक्षक अनन्त राम शर्मा, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्द, इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायव उपरीक्षक धर्म राज भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक शोभा पाण्डे, नेपाल प्रहरी विद्यालय सुर्खेतका प्रहरी निरीक्षक चक्र बहादुर डम्बर पाल, इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका प्रहरी निरीक्षक गौरी प्रसाद जैसी, प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक नबिन चुदाली, प्रहरी चौकी सत्ती कैलालीका प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर चन्द, नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरका प्रहरी नायव निरीक्षक जोख बहादुर बिक, प्रहरी चौकी चैनपुर चितवनका प्रहरी सहायक निरीक्षक गोबिन्द बहादुर महतो, प्रदेश प्रहरी गण हेटौंडाका प्रहरी हवल्दार पारेश्वर भण्डारी र प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी जवान ध्रुवनाथ चौवेलाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी उपरीक्षक संजय सिंह थापा, प्रहरी नायव उपरीक्षक इश्वर थापा, प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिकेश सुवेदी, प्रहरी नायव निरीक्षक जीवन कुमार कार्की र प्रहरी नायव निरीक्षक सुवाष यादवलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी नायव उपरीक्षक यम कुमार श्रेष्ठ, उच्च व्यावसायिक आचरणतर्फ प्रहरी नायव उपरीक्षक पुरूषोत्तम खड्का, उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक जितेश दाहाल, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक विजय महतलाई प्रशंसापत्र प्रदान गर्नुभयो । यसैगरी उहाँले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी नायव निरीक्षक संगिता रसैली, प्रहरी सहायक निरीक्षक पविता थापा, प्रहरी सहायक निरीक्षक सजिना चौगुठी, प्रहरी जवान जानकी अधिकारी र प्रहरी जवान दुरा कार्कीलाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी निरीक्षक शत्रुधन कुमार महतो, प्रहरी हवल्दार दिपक सिंह, प्रहरी सहायक हवल्दार सुमन रायमाझी, प्रहरी जवान दिपक भण्डारी, प्रहरी जवान मिलन लामिछाने, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक सुमन थापा, उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक युवराज बस्नेत र प्रहरी जवान बिमला चौधरी, सपोर्ट समूह प्राविधिकतर्फका प्रहरी वरिष्ठ नायव निरीक्षक राज कुमार श्रेष्ठ, प्रहरी वरिष्ठ नायव निरीक्षक सन्तोष लामा, प्रहरी नायव निरीक्षक महादेव भट्ट, प्रहरी हवल्दार डोलराज ढकाल, उत्कृष्ट खेलाडी प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक रूपेश कुमार बिष्टलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । साथै नेपाल प्रहरी स्मारक गुठिका ७ जना आजीवन सदस्यहरूलाई उहाँले कदरपत्र प्रदान गर्नुभयो ।    यसैगरी प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ साहित्यकार गंगा कर्माचार्य पौडेल र प्रहरी वरिष्ठ नायव निरीक्षक सरस्वस्ती बुढाथोकीलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी विद्यालयका उत्कृष्ट शिक्षकतर्फ नेपाल प्रहरी विद्यालय साँगा काभ्रेका शिक्षक हरिहर तिमिल्सिना, ६९औं प्रहरी दिवस २०८१ का अवसरमा सर्वोत्कृष्ट प्रहरी नारा ‘साइबर सुरक्षाबारे फैलाउँदै सचेतना सन्देश, जुटौं निर्माण गर्न सुन्दर सामाजिक परिवेश’ र अपराध नियन्त्रण सम्बन्धी नारा ‘अपराध रोक्ने संकल्प, प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान’ परिकल्पना गर्नुहुने काठमाडौं टोखाका घन बहादुर थापा, उत्कृष्ट प्रहरी नारातर्फ काठमाडौं गुहेश्वरीका रबिन दोङ, भक्तपुर सूर्यबिनायकका इश्वर केसी, शुसिला थापा र नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक किरण सापकोटालाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । यसैगरी उहाँले ६९औं प्रहरी दिवस २०८१ को अवसरमा आयोजित वृत्तचित्र प्रतियोगितामा विजयी हुने ललितपुर टिकाथलीका गणेश देवकोटा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका मनोरम केसी, काठमाडौं बौद्धका रविन तामाङ, उत्कृष्ट लेखरचना निबन्धतर्फ विजयी हुने निष्ट मावि बनेपा काभ्रेकी चन्द्रिका थापा मगर, पाँचखाल भ्याली स्कूल काभ्रेकी क्रिती लामिछाने, युरेका आवासिय मावि धरानका ईशान क्षेत्रीलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।   यसैगरी प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुर्‍याउने काठमाडौं नरेफाँटका सार्किमान बल, पदम कुमार रेग्मी, सुनसरीका प्रदिप कुमार सन्थलीया, रोयल कन्स्ट्रक्सन धनगढी कैलालीका प्रकाश बहादुर सेटी, इम्प्रेसन एण्ड क्रिएटिभ डिजाईन ज्वागल ललितपुरका विवेक श्रेष्ठ, राजु ढुङ्गेल, कलाकारतर्फ झापाका दिवाकर घिमिरे, सुनसरीकी सुनिशा बजगाँईलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने संखुवासभाका बिमला लिम्बु, लमजुङका रामजी चिलुवाल, रूकुम पूर्वका दिनेश किशोर पुन, बिनसरा पुन, मणिभक्त पुन, मिन बहादुर घर्ति र रूपन्देहीका शैलेन्द्र कुमार चौधरीलाई कदरपत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने अन्य ४६ जनालाई सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरूबाट कदरपत्र प्रदान गरिने छ ।  पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनलाई निःस्वार्थ सहयोग पुर्‍याउनु भई सम्मानित हुनु भएका महानुभावहरू, पुरस्कार विजेता विद्यार्थीहरू, प्रहरी दिवसका अवसरमा आयोजित विविध विधामा पुरस्कृत हुनुभएका एवं सर्वोत्कृष्ट कार्य सम्पादन गरी पुरस्कृत हुनुभएका प्रहरी कर्मचारीहरूमा हार्दिक बधाई ज्ञापन गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनप्रति आम नागरिकको विश्वास प्रहरी संगठनको लागि ऊर्जा र शक्तिको स्रोत भएको चर्चा गर्दै जनविश्वास अनुरूप कार्यसम्पादन गर्न अझ बढी सक्षम, जवाफदेही र व्यावसायिक हुनुपर्ने बताउनुभयो । पदीय जिम्मेवारी निर्वाहका क्रममा उच्च व्यावसायिकता प्रदर्शन गरी उत्कृष्ट कार्य सम्पादन गर्नुभएका प्रहरी अधिकृत तथा जवानहरूले देखाउनुभएको जिम्मेवारीबोध, व्यावसायिक निष्ठा र कुशलताबाट अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रेरणा मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।