प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फौजदारी न्याय प्रणालीमा देखिएका चुनौतिहरू र सुधारका उपायहरू विषयक गोष्ठी सम्पन्न

२०८१-०७-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित फौजदारी न्याय प्रणालीमा देखिएका चुनौतिहरू र सुधारका उपायहरू विषयक एक दिवसीय गोष्ठी आइतबार सम्पन्न भएको छ ।   

गोष्ठी उद्‍घाटन पश्चात प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रह भाग-२ विमोचन गर्नुभयो ।

कार्यक्रममा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले कानूनको शासनको प्रवर्द्धन गर्दै न्यायपूर्ण समाजको स्थापना गर्ने कार्यमा न्यायपालिका, महान्यायाधिवक्ताको कार्यालय एवम् नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहने चर्चा गर्दै तीन वटै निकायको संलग्नतामा हुन लागेको यस गोष्ठी एवम् अन्तरक्रियाले सम्बद्ध फौजदारी न्याय प्रशासनको प्रवर्द्धन एवम् सुदृढिकरणमा समेत थप योगदान पुर्‍याउँदै मुलुकमा दण्डहिनताको अवस्थाको अन्त्य गर्ने कार्यमा समेत थप मद्दत पुग्ने विश्वास लिएको बताउनुभयो ।

प्रधान न्यायाधीश राउतले फौजदारी न्याय प्रणालीको प्रभावकारीताको लागि न्यायिक इतिहासको विभिन्न कालखण्डमा भएका प्रयास र अनुभवका साथै संवैधानिक कानूनी परिवर्तन एवम् जनअपेक्षा अनुरूपको सुदृढ र प्रभावकारी फौजदारी न्याय प्रणालीको विकास र स्थापना गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै फौजदारी न्यायका परम्परागत मान्यता अवधारणा र मापदण्डबाट माथि उठेर अपराध अनुसन्धानमा नविन शैलीको विकास गर्दै अनुसन्धान र अभियोजनको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा विकसित, स्वीकृत र अवलम्बित मान्यता र मापदण्डको अनुशरण गरिनु जरूरी रहेको बताउनुभयो ।  नेपाल प्रहरी, महान्यायाधिवक्ताको कार्यालय र सरकारी वकिलको संस्थागत तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्दै जानसके देखिएका चुनौतिहरू चिर्न सफल हुने बताउँदै फौजदारी न्याय प्रणालीलाई थप प्रभावकारी एवम् विश्वसनीय बनाउनको निम्ति आवद्ध निकायहरूलाई थप सक्षम, निष्पक्ष बनाउन अपरिहार्य रहेको बताउनुभयो । अनुसन्धान तथा अभियोजनको निष्पक्षतामा नै समग्र फौजदारी न्याय प्रशासनको प्रभावकारीता हुनेमा उहाँले जोड दिनुभयो । संविधानद्वारा प्रत्याभूत गरिएको व्यक्तिको हक अधिकारको सम्मान गर्दै अपराध अनुसन्धानलाई वैज्ञानिक तथ्य, एवम् प्रमाणमा आधारित बनाई अगाडि बढ्नुको विकल्प नभएको बताउँदै उहाँले अनुसन्धानलाई बयानमुखी भन्दा सबुत प्रमाणमुखी बनाउन सके अपराधका तथ्य प्रमाणबाट स्थापित हुने र दोषीले सजाय पाउने अवस्थाबाट समाजमा दण्डहिनताको संस्कृतिको अन्त्य हुने विश्वास लिन सकिने बताउनुभयो ।  

गोष्ठीमा महान्यायाधिवक्ता रमेश वडालले अनुसन्धान र अभियोजनमा देखिएका कमी कमजोरीहरू सुधार गर्दै जानुपर्ने बताउँदै गोष्ठीबाट आएका सुझावहरूलाई यस्ता कमी कमजोरीलाई सम्बोधन गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले अपराधको प्रभावकारी रोकथाम र परिणाममुखी अनुसन्धानको साथै अनुसन्धानको क्रममा संविधान प्रदत्त हक अधिकारहरूको संरक्षण गरी प्रभावकारी न्याय सम्पादन गर्ने मार्ग तय गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा फौजदारी न्याय प्रणाली सुधारका लागि अनुसन्धान, अभियोजन र निर्णय एवम् फैसला गर्ने तीन वटै संस्थाहरूको परस्पर प्रभावकारी समन्वय हुन आवश्यक रहेको बताउनुभयो । यस गोष्ठीले तीन वटै निकाय बिच नविनतम् विचारका साथै महत्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास लिएको उहाँले व्यक्त गर्नुभयो । 

गृहसचिव दुवाडीले समाजको विकासक्रम र गतिशिलता सँगै अपराधमा प्रविधिको प्रयोग तीव्र रूपमा विस्तार भइरहेको उल्लेख गर्दै अपराधको नयाँ शैली र सञ्जाललाई निस्तेज बनाउन फौजदारी कानूनको समयानुकुल संशोधन एवम् परिमार्जन सँगसँगै अनुसन्धान अभियोजन र फैसलामा पनि शैली र संयन्त्रको आधुनिकिकरण, प्रविधिकरण एवम् वैज्ञानिकिकरण गर्न जरूरी रहेको बताउनुभयो । साथै उहाँले आ-आफ्नो कार्यक्षेत्र अनुरूप विभिन्न क्षेत्रमा कार्यरत रहेता पनि हाम्रो मुल लक्ष्य भनेकै कसूर तथा अपराधको नियन्त्रण, निष्पक्ष अनुसन्धान र कानून बमोजिमको सजाय मार्फत सुरक्षित समाजको निर्माण गर्नु नै भएको बताउनुभयो । 

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले फौजदारी न्याय प्रणालीको प्रभावकारीता अभिवृद्धि गर्न, यसका चुनौति र समाधानका उपायहरू पहिल्याउने उद्देश्यका साथ आयोजित यस गोष्ठीले फौजदारी न्याय प्रणालीका सबै महत्वपूर्ण स्तम्भहरूलाई एक साथ राखेर छलफल र अन्तरक्रियाले साझा धारणाको विकास गर्ने अपेक्षा लिएको एवम् गोष्ठीले फौजदारी न्याय प्रणालीलाई अझ सुदृढ बनाउने बताउनुभयो । अनुसन्धानकर्ता, अभियोजनकर्ता र न्याय निरूपणकर्ता बिचको व्यावसायिक समन्वयात्मक सम्बन्धले अनुसन्धान, अभियोजन र न्याय निरूपण कार्य त्रुटिरहित र प्रभावकारी भई न्यायको अनुभूतिसँगै कानूनी शासनको प्रत्याभूति समेत सुनिश्चितता हुने उहाँले बताउनुभयो । 

 प्रहरी महानिरीक्षक कुँवरले प्रभावकारी र प्रमाणमुखी अनुसन्धान नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहेको चर्चा गर्दै संगठनले यस जिम्मेवारीलाई गम्भीर र संवेदनशील रूपमा लिएको बताउनुभयो । अपराध अनुसन्धानको क्रममा परम्परागत तौर तरिकालाई अक्षुण्ण राख्दै प्रविधिको उच्चतम प्रयोग गरी अनुसन्धान कार्यलाई वस्तुगत, प्रमाणमुखी समयानुकूल बनाउँदै आएको उहाँले बताउनुभयो । 

 नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुका उक्त गोष्ठीमा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । 

गोष्ठीमा सर्वोच्च अदालतका रजिस्ट्रार बिमल पौडेलले सरकारवादी फौजदारी मुद्दाहरूको न्याय निरूपणको अवस्था, नयाँ चुनौति, न्यायपालिकाको रणनीति तथा फौजदारी न्याय प्रशासनका सरोकारवाला निकायहरूसँग अदालतको अपेक्षा, नायव महान्यायाधिवक्ता संजीव राज रेग्मीले सरकारवादी फौजदारी न्याय प्रशासनमा अभियोजनको अवस्था, नयाँ चुनौति, सुधारका रणनीति र फौजदारी न्याय प्रशासनका सरोकारवाला निकायहरूसँग अभियोजनकर्ताको अपेक्षा, प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले अपराध अनुसन्धानको अवस्था, नयाँ चुनौति, सुधारको लागि प्रयोग गरिएका रणनीति र फौजदारी न्याय प्रशासनमा सरोकारवाला निकायहरूसँग नेपाल प्रहरीको अपेक्षा एवम्  उपत्यका प्रहरी कार्यालय र सात वटै प्रदेश प्रहरी कार्यालयहरूका प्रतिनिधिहरूले अपराध अनुसन्धानमा देखिएका चुनौतिहरू, अदालत तथा सरकारी वकिल कार्यालयसँगको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।   

गोष्ठीको दौरानमा नायव महान्यायाधिवक्ता डा. टेक बहादुर घिमिरे, न्यायाधीश हेमन्त रावल, अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. रमेश पराजुली लगायतले प्रस्तुतीकरण एवम् छलफलमा उठेका विविध विषयका जिज्ञासाहरूको निरूपण गर्नुभएको थियो ।  

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित उक्त गोष्ठीमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सहन्यायाधिवक्ताहरू, जिल्ला न्यायाधीशहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, कानून व्यवसायीहरू लगायतको उपस्थिति एवम् प्रदेश प्रहरी प्रमुखहरू तथा नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुएल उपस्थिति रहेको थियो ।  

सम्बन्धित समाचार
प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८२-०८-२६

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि २१ जना र प्रहरी सहायक निरीक्षक पदका लागि ४ सय ३८ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।  प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइटwww.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले प्रहरी निरीक्षक पदको लागी पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् भने प्रहरी सहायक निरीक्षक पदको लागी पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

आसरा सुधार केन्द्रकी अध्यक्ष नबिना खत्री कार्कीको स्वागत कार्यक्रम सम्पन्न
२०८२-०८-२६

काठमाडौं, आसरा सुधार केन्द्र रानीबारीकी नवनियुक्त अध्यक्ष श्रीमती नबिना खत्री कार्कीलाई शुक्रबार आयोजित एक कार्यक्रमबीच सोही केन्द्रका पदाधिकारीहरूले केन्द्रको कार्यालय रानीबारीमा हार्दिक स्वागत गर्नुभएको छ । सो अवसरमा केन्द्रकी नवनियुक्त अध्यक्ष कार्कीले लागूऔषध प्रयोगकर्ताहरूको मनोबल वृद्धि गर्दै समाजमा पुनर्स्थापना गराउन यस सुधार केन्द्रले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । केन्द्रको उद्देश्य प्राप्तिका लागि आगामी दिनमा अझ परिस्कृत तरिकाले कार्यक्रमहरू संचालन गर्न तथा केन्द्रको भूमिकालाई थप बहुआयामिक बनाउन केन्द्रका पूर्व अध्यक्षहरू, पदाधिकारीहरू, सरोकारवाला निकायहरू र नागरिक समाजबाट महत्वपूर्ण सुझाव तथा सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । आसरा सुधार केन्द्रकी सचिव शामिला पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा उपचाररत सदस्यहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो ।

मोटरसाइकल आउट राइडर्स तालिम सुरू
२०८२-०८-२१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको मोटरसाइकल आउट राइडर्स तालिम आइतबारबाट सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले उक्त तालिमको उद्‍घाटन गर्दै समय सापेक्ष नयाँ प्रविधिको बारेमा जानकारी दिई योग्य र दक्ष चालकको उत्पादन गर्ने तालिमको उद्देश्य रहेको बताउनुभयो ।कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक ई. अशोक केसीले ३५ कार्य दिनको उक्त तालिममा १ जना प्रहरी सहायक निरीक्षक र २९ जना प्रहरी जवान गरी कुल ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली स्वदेश फिर्ता
२०८२-०८-१४

काठमाडौं, प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन भएको इन्टरपोलको ९३औं महासभामा सहभागी भई आइतबार स्वदेश फिर्ता  भएका छन् । उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल भएको तथा इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन समेत भएको थियो । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी रहेको र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानमा भाग लिएको थियो ।  साथै उक्त महासभाबाट इन्टरपोलको नयाँ अध्यक्षको रूपमा फ्रान्सका Lucas Philippe नियुक्त हुनुभएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्त्वमा सहभागी भएको प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक समेत भएको थियो ।उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्का समेत मंसिर ६ गते मोरक्को प्रस्थान गर्नुभएको थियो । 

३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
२०८२-०८-१०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हलुका) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित सवारी चालक उन्नत तालिम ३०औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।   तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले सवारी साधनको मर्मत सम्भार, सवारी चलाउँदा अपनाउने सुरक्षा विधि, ट्राफिक नियम सम्बन्धी ज्ञान प्रदान गरेको चर्चा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त सीपलाई जस्तोसुकै परिस्थितिमा पनि दक्षता र कुशलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १६ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

ट्राफिक नियन्त्रण तालिम सञ्चालन
२०८२-०८-०७

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १५५औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले उक्त तालिम उद्‍घाटन गर्दै प्रशिक्षार्थीहरूले उत्सुक, अनुशासित तथा जागरूक भई तालिम हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान ४५ जना गरी कुल ४८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।