अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०७-२५
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-३ भन्सार नजिक सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१३ बस्ने १९ वर्षीय निरज राना र २१ वर्षीय सुनिल राना रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले से.७ प ६३५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ रामजानकी मन्दिर नजिकै सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय रोशन खड्का समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से.५ प ४१२६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम सहित मोरङ पथरी शनिश्चरे नगरपालिका-८ केर्खा टोल बस्ने भारत सिक्किम प्रान्त वतन भएका २१ वर्षीय बिक्रम क्षेत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-१७ बडुवाल टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ २ ग्राम २ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ बस्ने ३० वर्षीय प्रकाश चन्द र सोही नगरपालिका-४ बस्ने २४ वर्षीय सुरज नाथ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-४ मनकामना टोल बस्ने २९ वर्षीय विवेक चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ९० मिलिग्राम र नगद २० हजार ९ सय रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।