प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण

२०८१-०७-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई ४ सय ८ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ । 

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा होटल गुडविल कनिबहाल ललितपुरमा शुक्रबार आयोजित कार्यक्रम बीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो । नागरिकको गुनासोलाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उहाँले बताउनुभयो । 

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मधु सुदन पौडेल, बागमती प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री रामेश्वर श्रेष्ठ र यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल समेतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले स्वागत मन्तव्य तथा मन्त्रालयका भावी योजना बारे जानकारी दिनुभएको थियो । 

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्दै आइरहेको नेपाल प्रहरीलाई आज हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास लिएको बताउनुभयो । प्रहरीको एकल प्रयासले मात्र ट्राफिक व्यवस्थापन सम्भव नहुने भएकोले सरोकारवाला निकायको सहयोग र समन्वयले ट्राफिक व्यवस्थापनलाई समयानुकूल आधुनिक र प्रविधिमैत्री बनाउँदै पारदर्शी, परिष्कृत र परिमार्जित सेवा प्रवाह गर्न सहजीकरण हुने उहाँले उल्लेख गर्नुभयो । समग्रमा ट्राफिक प्रहरी कर्मचारीहरूको समेत क्षमता विकास तथा सेवा प्रवाहको प्रभावकारितामा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उहाँले बताउनुभयो । 

कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य एवम् पूर्व मन्त्रीहरू, बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका पदाधिकारीहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 


सम्बन्धित समाचार
डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तण
२०८१-०८-०९

काठमाडौं, डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले उक्त मोबाइल फोन हस्तान्तरण गर्नुभएको हो ।  हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आज हस्तान्तरण भएका स्रोत साधनहरू डिजिटल चलानको कार्यान्वयनमा अत्यन्तै उपयोगी हुने विश्वास लिएको बताउनुभयो । यस्ता सहकार्य र समन्वयले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले हस्तान्तरण गरिएका मोबाइलबाट नेपाल प्रहरीले आत्मसाथ गरेको नयाँ प्रविधिलाई सहयोग पुग्ने बताउनुभयो । आगामी दिनमा ट्राफिक प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, ई-सेवाका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

सेवानिवृत्त हुनु भएका वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ
२०८१-०७-२७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राम दत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त हुनु भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यवसायिकता, संगठन प्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारिताको उच्च प्रशंसा गर्नुभयो ।  संगठनले सुम्पिएका हरेक पदीय दायित्व सफलतापूर्वक निर्वाह गरी हासिल गरेको अनुभव तथा विज्ञता संगठनको हितका लागि सदैव आवश्यक हुने भएकोले आगामी दिनमा समेत सेवानिवृत्त अधिकृतहरूको उपलब्धीमूलक सत्प्रयासको अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राम दत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राम दत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आफ्नो सेवा अवधिमा गरेका विभिन्न कार्यहरू स्मरण गर्दै अनुभव सहितको आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रीत भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो । विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक राम दत्त जोशी कात्तिक १७ गते तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा कात्तिक १५ गते र विसं २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला कात्तिक १० गते सेवानिवृत्त हुनु भएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

इन्टरपोलको ९२औं महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता
२०८१-०७-२५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर संयुक्त अधिराज्यको ग्लास्गोमा सम्पन्न इन्टरपोलको ९२औं महासभामा सहभागी भई आइतबार स्वदेश फर्किनु भएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा कात्तिक १९ देखि २२ गतेसम्म संचालित उक्त महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता हुनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरसँगै उक्त महासभामा सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत स्वदेश फिर्ता हुनु भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गर्नुभयो । महासभामा National Central Bureau (NCB) नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डलद्वारा मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया, अमेरिका, कतार र यूएईका प्रतिनिधीहरूसँगको द्विपक्षीय भेटघाटका क्रममा समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा छलफल भएको थियो ।महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठन (WHO) बीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरूलाई सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची (IWOL) तथा निजी संस्थाहरू बीचको सहकार्य, digital evidence मा कानूनी पहुँच, इन्टरपोलको विद्यान संशोधनको लागि विभिन्न देशहरूबाट पेश गरिएका प्रतिवेदनहरू, Annual financial report and financial statements 2023, Programme of activities and draft budget for 2025 and indications for 2026 and 2027, इन्टरपोलको भवन विस्तार तथा पुन:निर्माण कार्यक्रम जस्ता विषयहरूमा छलफल भई महत्वपूर्ण प्रस्तावहरू पारित समेत भएको थियो ।  महासभामा कार्यकारी समितिको रिक्त पदहरूमा निर्वाचन समेत भएको थियो । उक्त निर्वाचनमा इन्टरपोलको १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधिहरू सहभागी भई नेपालले समेत आवश्यक मतदान गरेको थियो । यस महासभाबाट इन्टरपोलको नयाँ महासचिवको रूपमा मित्रराष्ट्र ब्राजिलका Valdecy Urquiza मनोनयन हुनुभएको भनि घोषणा समेत भएको थियो । महासभाले इन्टरपोलको ९३औं महासभा सन् २०२५ मा मित्रराष्ट्र मोरक्कोको माराकेचमा, ९४औं महासभा सन् २०२६ मा मित्रराष्ट्र हङकङ, चीनमा र ९५औं महासभा सन् २०२७ मा मित्रराष्ट्र कतारको दोहामा आयोजना गर्ने निर्णय गरेको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर नेतृत्वको प्रतिनिधि मण्डल उक्त महासभामा सहभागी हुन कात्तिक १८ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर संयुक्त अधिराज्य बेलायत प्रस्थान
२०८१-०७-१८

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९२औं महासभामा सहभागी हुन आइतबार बिहान संयुक्त अधिराज्य बेलायततर्फ प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त अधिराज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर बेलायततर्फ प्रस्थान गर्नुभएको हो ।National Central Bureau (NCB) नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक बिदाइ गर्नुभयो ।इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानहरूमा भाग लिनेछ । उक्त महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठन (WHO) बीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरूलाई सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची (IWOL) तथा निजी संस्थाहरू बीचको सहकार्य, digital evidence मा कानूनी पहुँच, इन्टरपोलको संविधान संशोधनको लागि विभिन्न देशहरूबाट पेश गरिएका प्रतिवेदनहरू, annual financial report and financial statements 2023, programme of activities and draft budget for 2025, indications for 2026 and 2027, इन्टरपोलको भवन विस्तार तथा पुनर्निर्माण कार्यक्रम जस्ता विषयहरूमा छलफल तथा महासभामा कार्यकारी समितिको रिक्त पदहरूमा निर्वाचन समेत हुने कार्यक्रम रहेको छ । साथै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा सहभागि हुने प्रतिनिधी मण्डलद्वारा मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया, अमेरिका, कतार र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०७-१३

काठमाडौं,  नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ कात्तिक १३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदान र राज्य प्रदत्त जिम्मेवारी निर्वाहमा प्रदर्शित कार्यसम्पादनको स्तरको आधारमा पदोन्नति भएको उहाँले चर्चा गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले देश र जनताको सेवामा अनवरत रूपमा लागि परि नेपाल प्रहरीलाई भरोसायोग्य र विश्वास योग्य संस्थाको रूपमा आम नागरिकको नजरमा उच्च बनाउन व्यावसायिक प्रहरी अधिकृतको रूपमा आफ्नो जिम्मेवारीमा खरो रूपमा उत्रिनुहुन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । सरूवा, बढुवा लगायत नेपाल प्रहरीका हरेक प्रणालीलाई पारदर्शी, अनुमानयोग्य र नियम संगत बनाउनका लागि हरसम्भव प्रयास भइरहेको समेत उहाँले उल्लेख गर्नुभयो । नेपाल प्रहरीका नेतृत्वतहमा रहेकाले दिने कुशल मार्ग निर्देशन र सकल दर्जाको सामूहिक प्रयासले आगामी दिनमा संगठनको विकास, विस्तार र स्वरूप अझ परिमार्जन र परिष्कृत हुँदै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो । समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणाले संगठनको निष्ठालाई सदैव सर्वोपरी राखेर कार्यसम्पादन गर्ने बताउनुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  

आईजिपि रनिङ कप पुरूष भलिबल प्रतियोगिता २०८१ सम्पन्न
२०८१-०७-१२

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित आईजिपि रनिङ कप पुरूष भलिबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ । प्रतियोगिता समापनका अवसरमा सोमबार सोही प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रथम हुने टिम गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका खेलाडी तथा अफिसियलहरूलाई रनिङ कप, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो । साथै उहाँले सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, प्रतियोगितामा सहभागी भएका टिमहरूलाई मायाको चिनो, निर्णायकहरू एवम् प्रतियोगिता संचालनमा सहयोग पुर्‍याउने महानुभावहरूलाई प्रशंसापत्र तथा मायाको चिनो समेत प्रदान गर्नुभयो । कार्यक्रमको सुरूमा प्रहरी महानिरीक्षक कुँवरले रेफ्रीलाई भलिबल हस्तान्तरण गरी उद्‍घाटन गर्नुभएको उक्त प्रतियोगिताको आजै भएको फाइनल खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई ३-१ को सेटले पराजित गरी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा प्रथम भएको थियो ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सुरक्षा निकाय जस्तो शारीरिक तथा मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने क्षेत्रमा खेलकुदको ठूलो महत्व हुने चर्चा गर्दै विगत देखि नै निरन्तर रूपमा आयोजना हुँदै आएको यस प्रतियोगिताले नेपाल प्रहरीको भलिबल खेलको स्तरलाई सुदृढ तुल्याउनुको साथै खेलाडीहरूको पहिचान तथा खेलको विकास र प्रवर्द्धनमा समेत ठूलो योगदान पुर्‍याएको बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले खेलकुदका विभिन्न विद्यामा प्राप्त गरेको ख्याती तथा नेपाल प्रहरीका खेलाडीहरूले राष्ट्रको प्रतिनिधित्व गरी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरूमा सहभागीता जनाई हासिल गरेको सफलता प्रशंसनीय रहेको बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरी संगठनमा आवद्ध खेलाडीहरूको सहभागीता र योगदानका कारण खेलकुद, नेपाल प्रहरी संगठन र नागरिक बिचको सम्बन्ध सुदृढ भएको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी संगठन र राष्ट्रको श्रीवृद्धिका अवसरहरू श्रृजना भइरहने  अपेक्षा रहेको उहाँले बताउनुभयो ।  नेपाल प्रहरीमा खेलकुदको विकास, प्रवर्द्धन र खेलाडीहरूको मनोबलको लागि संगठन सदैव सकारात्मक रहेको समेत उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार प्रदान गर्नुभयो । उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले प्रतियोगितामा द्वितीय हुने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ टिमका खेलाडी तथा अफिसियलहरूलाई ट्रफि, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।कार्यक्रममा राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले प्रतियोगिताका उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कार प्रदान गर्नुभयो ।प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा खेलकुद कार्यक्रम व्यवस्थापन उप-समितिका संयोजक प्रहरी वरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारीले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमश: नगद १ लाख १ हजार रूपैयाँ र ५१ हजार रुपैयाँ एवम् ट्रफि, मेडल, प्रमाणपत्र तथा सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार ५ सय ५५ रूपैयाँ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ७ हजार ५ सय ५५ रूपैयाँ प्रदान गरिएको थियो । कात्तिक ७ गतेदेखि शुरू भएको उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।