अवैध लागूऔध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८१-०८-०६
- A
- A-
- A+
बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय अनिल गोडिया र सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय विकास विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित केराबारी गाउँपालिका-१० बस्ने ३३ वर्षीय अनिश मगर समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.४ प ७४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २८ ट्याब्लेट सहित सुनसरी धरान उपमहानगरपालिका-१५ मिलन चोक बस्ने ३२ वर्षीय सुजन राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, रामधुनी नगरपालिका-३ पिप्रा बैठार बस्ने २७ वर्षीय शिव शंकर चौधरी र ३० वर्षीय दुलारे खाँ लाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले दुलारेको घरबाट उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
रूपन्देही, रोहिणी गाउँपालिका-३ परासी झुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल र टालजेसिक २ सय एम्पुल सहित भारत नौतनवा घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले युपि ५६ एएस १७०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।