प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दर्ज्यानी चिन्हद्वारा सुशोभित

२०८१-०८-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ मंसिर ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाल दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदान, जिम्मेवारी निर्वाहमा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलता र इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त गरेको पद र जिम्मेवारी अनुरूप नेपाल प्रहरीको संस्थागत विकास, सांगठनिक सुदृढिकरण र संगठनको वृहत्तर हितका लागि आवश्यक नीति निर्माण तथा दीर्घकालीन महत्वका रणनीतिक योजना निर्माणमा अझ बढी क्रियाशील र समर्पित भएर कार्यसम्पादन गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले संगठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिवद्धता आवश्यक रहेको उल्लेख गर्दै आ-आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ संकल्पित रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । नागरिकको सुरक्षा एवम् भरोसालाई कायम राख्दै समाजमा कानूनी शासनको प्रयात्भूति दिलाउनु प्रहरीको प्रमुख उद्देश्य रहेको चर्चा गर्दै आफ्नो जिम्मेवारी इमानदारी र पारदर्शीताका साथ सम्पादन गरी नागरिकसँगको सम्बन्ध अझ बलियो बनाउँदै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक बुद्धिराज गुरूङले संगठनले दिएको जिम्मेवारीलाई व्यावसायिक निष्ठा, इमानदारीता एवम् लगनशिलताका साथ कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  


सम्बन्धित समाचार