डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तण
२०८१-०८-०९
- A
- A-
- A+
काठमाडौं, डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले उक्त मोबाइल फोन हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आज हस्तान्तरण भएका स्रोत साधनहरू डिजिटल चलानको कार्यान्वयनमा अत्यन्तै उपयोगी हुने विश्वास लिएको बताउनुभयो । यस्ता सहकार्य र समन्वयले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले हस्तान्तरण गरिएका मोबाइलबाट नेपाल प्रहरीले आत्मसाथ गरेको नयाँ प्रविधिलाई सहयोग पुग्ने बताउनुभयो । आगामी दिनमा ट्राफिक प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, ई-सेवाका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।