अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०८-१०
- A
- A-
- A+
कैलाली, गोदावरी नगरपालिका-४ खैराना सामुदायिक वनस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने २३ वर्षीय जगत कठायतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ४३ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१९ बस्ने २२ वर्षीय धिरज पुन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतको रूपैडिहाबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-९ भलादमी चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा १० किलो २ सय ५० ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-८ बस्ने २८ वर्षीय राम कुमार परियार र सोही गाउँपालिका-९ बस्ने ३६ वर्षीय रामकुमार स्याङबो रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ ह ५०३३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक परियार र अटोमा सवार स्याङबोलाई पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-७ नर्कटे चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ७ सय ८० ग्राम सहित उदयपुरगढी गाउँपालिका-७ बस्ने ५१ वर्षीय सुवेदी काइला भन्ने युवराज खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हाडेवासबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सिराहा, भगवानपुर गाउँपालिका-४ ठाडी बसपार्कस्थित सडकबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय अनोज पासवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी ईनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख१८५७ नम्बरको बसमा सवार व्यास नगरपालिका-१० बस्ने २० वर्षीय सुरेश परियार र सोही नगरपालिका-११ बस्ने २० वर्षीय विशाल तामाङलाई ट्रमानिल ३ सय ४० ट्याब्लेट तथा ग.१ ख ८५४९ नम्बरको बसमा सवार नवलपरासी बर्दघाट नगरपालिका-४ बस्ने २८ वर्षीय कुल बहादुर थापा मगरलाई नाइट्राभेट ३० ट्याब्लेट र स्पास्मो प्रोक्सिभोन ५५ क्याप्सुल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।