बन्धक बनाई कुटपिट गरेको अभियोगमा तीन जना पक्राउ
२०८१-०८-११
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-४ तारानगर डेरा गरी बस्ने २ जना किशोरहरूलाई अपहरण गरी बन्धक बनाई कुटपिट गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-१ अत्तिरिया बस्ने २४ वर्षीय भुपी खड्का, कैलाली धनगढी उपमहानगरपालिका-१ सन्तोषी टोल बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-५ घर भएका १८ वर्षीय किशोर र डडेल्धुरा अमरगढी नगरपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् । धनगढी उपमहानगरपालिका-४ तारानगरस्थित बाझो घरमा बन्धक बनाई लागूऔषध खुवाई खुकुरी समेत देखाई ३ जना मिलेर आइतबार कुटपिट गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।