अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०८-१५
- A
- A-
- A+
पर्सा, बिन्दवासनी गाउँपालिका-२ स्थित सडकबाट अवैध लागूऔषध चरेश करिब ५ किलोग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पटेर्वासुगैली गाउँपालिका-५ निचुटा बस्ने ४५ वर्षीय जनार्धन औझईया र भारत बिहार बस्ने ६० वर्षीय गौरीशंकर भगत माली रहेका छन् । अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाठाबाट खटिएको प्रहरीले महुवनबाट वीरगंजतर्फ साइकलमा जाँदै गरेका उनीहरूलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा पुरानो मेचीपुल सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित उदयपुर चौदण्डीगढी नगरपालिका-१ घर भई सुनसरी इटहरी उपमहानगरपालिका-१९ बस्ने २८ वर्षीय जीवन कामीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१२ प ४५७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय १० मिलिग्राम सहित टिकापुर नगरपालिका-१ बस्ने २१ वर्षीय विशाल शाहीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-१३ बस्ने २३ वर्षीय प्रबिन रानालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।