अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८१-०८-१७
- A
- A-
- A+
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने पदार्थ करिब ६ किलो ८ सय ४० ग्राम सहित केन्याका नागरिक ३४ वर्षीया चिलियन केरूबो ओगिटो आइतबार दिउँसो पक्राउ परेका छन् । कतार एयरवेजको उडानद्वारा दोहाबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सारमा जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त कोकिन फेला पारी पक्राउ गरिएको हो । उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बुझाइएको छ ।
बाँके, कोहलपुर नगरपालिका-६ रझेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय १० मिलिग्राम सहित सोही नगरपालिका-६ रझेना बस्ने ३१ वर्षीया बिश्वनाथ थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले सिक्टाबाट रझेनातर्फ जाँदै गरेको भे.७ प २९७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१० सालघारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले से.२ प १९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ सिभिल टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय रोशन सिंह, २४ वर्षीया वर्षा चौधरी र १५ वर्षीय किशोर रहेका छन् । अस्थायी प्रहरी पोष्ट शान्तिनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।