प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

महिलालाई भारतको कोठीमा पुर्‍याई बेचबिखन गरेको अभियोगमा पक्राउ

२०७८-०९-२१

  • A
  • A-
  • A+
Share

काठमाडौं, पोखरा लैजान्छु भन्दै बेहोस बनाई महिलालाई भारतको कोठीमा पुर्‍याई बेचबिखन गरेको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-५ ठेगाना भएकी २६ वर्षीया अनिशा तामाङ भन्ने फूलमाया तामाङलाई पुस ९ गते प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपनबाट पक्राउ गरेको हो ।
    पोखराको होटलमा नाच्ने तथा बाँकी समय आफ्नै घरमा घरायसी काम गर्नुपर्ने, त्यस बापत राम्रो कमाई हुन्छ भन्दै फूलमायाले पीडित महिलालाई विभिन्न प्रलोभन देखाई २०७४ साउनमा काठमाडौं आकाशेधारास्थित होटलमा लगि चाउमिनमा वेहोश हुने औषधी मिलाई खुवाएर विभिन्न ठाउँ हुँदै भारतको बम्बई, ईलाबाद, कलकत्ता तथा कुचबिहारको कोठीहरुमा पुर्‍याई पटक पटक बेचबिखन गरी वेश्यावृत्तीमा लगाएको अवस्थामा भारतीय प्रहरीको समन्वयमा नेपाली राजदुताबास तथा नेपालस्थित विश्व सेवा बिस्तार संस्थाको सहयोगमा गत असोज २३ गते ती महिला नेपाल फर्किन सफल भएकी थिइन् ।
उक्त मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेकी तामाङ उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

सम्बन्धित समाचार
मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८२-०३-०६

पर्सा, मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न रहेको अभियोगमा चितवन माडी नगरपालिका-८ खर्कटा बस्ने ४१ वर्षीय दिपक खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ठोरी गाउँपालिका-२ ठोरी बजारमा फ्रि टिकट, फ्रि भिषामा वैदेशिक रोजगारीका लागि दुबई र ओमान पठाइदिन्छु भनी विभिन्न प्रलोभन देखाई ४ जना पीडितहरूलाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितहरूको उद्दार समेत गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद  थप  अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी पक्राउ
२०८२-०१-१३

काठमाडौं, मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्गे ठेगाना भएका ६७ वर्षीय चमारे भन्ने चमार तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई उनकै घर वतनबाट पक्राउ गरेको हो । चमार तामाङ समेतले काठमाडौं चाबाहिलस्थित गलैचा बुन्ने कारखानामा काम गर्ने पीडितलाई यो काम गर्दा टिबी रोग लाग्छ, हङकङमा गएर सुनको व्यापार गरौ, तिमी जस्तो केटीले बढी सुन ल्याउन सक्छौ भनी विश्वास दिलाई २०४४ पुस १९ गते काठमाडौंबाट दिल्ली हुँदै मुम्बईस्थित रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको कोठीमा पुर्‍याई भारतीय ८० हजार रूपैयाँमा बेचबिखन गरी उक्त वेश्यालयमा जबरजस्ती ७ वर्ष सम्म वेश्यावृत्तिको काममा लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै पीडितले २०५२ फागुन १ गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा तामाङ विरूद्ध जाहेरी दिएकोमा प्रारम्भिक अनुसन्धान सम्पन्न पश्चात अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएकोमा २०५२ फागुन ८ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा दर्ता भई थप अनुसन्धानको लागि २०७७ असोज २० गते मानव बेचबिखन अनुसन्धान ब्यूरोमा सक्कल मिसिल प्राप्त भएको थियो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी पक्राउ
२०८२-०१-१०

काठमाडौं, मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-१ घर भएका ३० वर्षीय आशिष परियार नेपाली भन्ने आशिष नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पीडित बालिकालाई २०७० फागुन ११ गते चीनको खासास्थित छिरिङ डान्सबारमा लगि १८ हजार रूपैयाँमा बेचबिखन गरेको घटनामा संलग्न रही वारदात मिति देखि फरार रहेका आशिषलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१२-२२

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी काठमाडौं टोखा नगरपालिका-९ बस्ने इलाम माई नगरपालिका-७ घर भएकी २८ वर्षीया चिनि माया लिम्बु भन्ने चिन माया लामा लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको गत मंसिर ५ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद सजाय र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले टोखा नगरपालिका-९ दिपज्योति मार्गबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ । 

बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न गेस्ट हाउस संचालक पक्राउ
२०८१-१२-०६

काठमाडौं,  बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका संचालक गोरखा पालुङटार नगरपालिका- ६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त गेष्ट हाउसबाट २ जना बालिकाहरूको उद्दार गरी सुरक्षित आवासको लागि सेल्टरहोममा पठाएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इराक पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ
२०८१-१२-०४

काठमाडौं, घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा नुवाकोट तारकेश्वर  गाउँपालिका-५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । हिरा तामाङ समेतले इराकमा घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई दुवई हुँदै इराकमा पुर्‍याई विभिन्न व्यक्तिहरूको घरमा पठाई चरम श्रम शोषण गरी शारीरिक यातना समेत दिई बन्धक बनाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।