वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०८-२४
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बाँसगढी नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-५ बस्ने २४ वर्षीया उमा तामाङ, काठमाडौं शंखरापुर नगरपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-३ बस्ने ३४ वर्षीय महेश प्रजापती र चितवन भरतपुर महानगरपालिका-१५ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने ३० वर्षीया शान्ती खड्गी रहेका छन् ।
पक्राउ मध्ये उमाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ र महेशले १ जना पीडितबाट १ लाख ८० हजार रूपैयाँ तथा शान्तीले रोमनिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उमालाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार, महेशलाई काठमाडौं कागेश्वरी महानगरपालिका-३ बाट र शान्तीलाई काठमाडौं महानगरपालिका-१६ बाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।