अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८१-०९-०४
- A
- A-
- A+
काठमाडौं, टोखा नगरपालिका-९ दिपज्योती घले पुलबाट अवैध लागूऔषध गाँजा १० किलो १ सय ग्राम सहित सोही नगरपालिका-९ शिवमन्दिर चोक बस्ने मकवानपुर गढी गाउँपालिका-७ घर भएकी ३४ वर्षीया सम्झना तामाङ समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित सम्झनाको खाजा घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध गाँजा १६ किलो ६ सय ५४ ग्राम सहित जुम्ला हिमा गाउँपालिका-१ देउर गाउँ घर भएका २७ वर्षीय दिपेन्द्र शाही समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित गोदावरी नगरपालिका-११ बस्ने २६ वर्षीय महेश राज बोहरा जैशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २५ वर्षीय संजय नेपाली, २८ वर्षीय सुनिल नेपाली र ४७ वर्षीय लक्ष्मण पार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका बचैलास्थित खाली घरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय २० मिलिग्राम सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ कौवापुर बस्ने २४ वर्षीय आरन थापा, २३ वर्षीय जगत वड, १६ वर्षीय किशोर र सोही नगरपालिका-३ चिसापानी बस्ने २४ वर्षीय भिमसेन सापकोटा रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१५ गीताञ्जली पथबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार २ सय ट्याब्लेट, स्पास्पेन २ हजार २ सय ट्याब्लेट र नगद २१ हजार ५ सय रूपैयाँ सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय डिकन राई र सोही उपमहानगरपालिका-१५ पिण्डेश्वरी चोक बस्ने २३ वर्षीया सुमित्रा राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले डिकनको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।