करिब १ सय १७ किलो गाँजा सहित बारा र मकवानपुरबाट चार जना पक्राउ
२०८१-०९-०५
- A
- A-
- A+
बारा, जितपुरसिमरा उपमहानगरपलिका-२२ तीन नम्बर पुलस्थित टावर डाँडाको बिरूवा खोलाको झाडीबाट अवैध लागूऔषध गाँजा करिब ९७ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-२ गडौली टोल बस्ने ३५ वर्षीय बिष्णु लामा र चितवन भरतपुर महानगरपालिका-२४ सिद्धार्थ टोल बस्ने ४६ वर्षीय टेक बहादुर गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले बिरूवा खोलाको झाडीमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी अनुसन्धान गर्ने क्रममा गाँजा ओसारपसारमा संलग्न बिष्णु र टेक बहादुरलाई पक्राउ गरेको हो । साथै प्रहरीले लागूऔषध ओसारपसारमा प्रयोग भएको बा.११ च ७०१२ नम्बरको कार समेत बरामद गरेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ बेनीघाट रोराङ गाउँपालिका-२ ताल्ली बस्ने ३५ वर्षीय सोमीलाल चेपाङ र २० वर्षीय किशोर चेपाङ रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको गरेको लु.२ ख १७४१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।