४२औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता सम्पन्न
२०८१-०९-१६
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित ४२औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा बिजयी हुने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण-पत्र, रनिङ शिल्ड र नगद पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले म्याच रेफ्री, प्रायोजकहरू, सहभागी टिमहरू र अफिसियलहरूलाई मायाको चिनो प्रदान गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले यस्ता प्रतियोगिताले खेलकुदको विकासको साथै नयाँ प्रतिभावान् खेलाडीहरूको पहिचान गर्ने अवसरको रूपमा रहेको चर्चा गर्दै यस्ता प्रतियोगिताले समग्र नेपाल प्रहरीको फुटबल खेलको स्तरलाई सुदृढ तुल्याउन ठूलो योगदान पुर्याएको बताउनुभयो । आगामी दिनमा नेपाल प्रहरीको फुटबल टिमलाई अझ बढि क्षमतावान्, कुशल, दक्ष र सफल बनाउने तर्फ यथोचित पहल गर्नका लागि नेपाल प्रहरी खेलकुद समितिका पदाधिकारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरी संगठनमा आवद्ध खेलाडीहरूको सहभागिता र योगदानका कारण नेपाल प्रहरी संगठन मात्र नभई समग्रमा राष्ट्रकै गरिमामा बढोत्तरी हुनुका साथै प्रहरी र नागरिकबीचको सम्बन्ध समेत सुदृढ भएको उल्लेख गर्नुभयो । प्रहरी संगठनमा अनुशासन, नेतृत्व क्षमता, सहयोगी र सामूहिक भावना, मेहनत र लगनशिलता अनिवार्य शर्तको रूपमा रहेको बताउँदै खेलकुदले सिकाउने यस्ता महत्वपूर्ण गुण र आचारणहरू आत्मसाथ गरी संगठनको बृहत्तर हित र संस्थागत विकासमा योगदान दिन उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमलाई पुरस्कार प्रदान गर्नुभयो । यसैगरी प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रतियोगिताका उत्कृष्ट फरवार्ड तथा उत्कृष्ट प्रशिक्षकलाई, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रतियोगिताका उत्कृष्ट मिडफिल्डर तथा उत्कृष्ट डिफेण्डरलाई एवम् प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले र प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले द्वितीय हुने टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाणपत्र, चेक र ट्रफि प्रदान गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले प्रतियोगिताका सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलकिपरलाई पुरस्कार एवम् अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्दै संगठन र राष्ट्रको शिर उच्च बनाउन सफल खेलकुदको विकासका लागि नेपाल प्रहरीले पुर्याउँदै आएको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो । सो अवसरमा प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
आज भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको टिमले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको टिमलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख रूपैयाँ र द्वितीय हुने टिमले १ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र फेयर प्ले टिमले १५/१५ हजार रूपैयाँ तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले जनही १०/१० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा गण्डकी प्रदेश प्रहरी कार्यालयका विवेक गुरूङ सर्वोत्कृष्ट खेलाडी, केशर बराम सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट फरवार्ड, जिवन सिंह ठकुरी उत्कृष्ट गोलकिपर, सन्तोष सुवेदी उत्कृष्ट प्रशिक्षक, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका मनोज बस्नेत उत्कृष्ट मिडफिल्डर तथा धन बहादुर आले उत्कृष्ट डिफेण्डर घोषित भएका थिए भने फेयर प्ले टिमतर्फ कोशी प्रदेश प्रहरी कार्यालयको टिम उत्कृष्ट घोषित भएको थियो ।
पुस ७ गतेबाट शुरू भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयका गरी जम्मा १० वटा टिमको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।