अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८१-०९-२७
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ मिलन चोक बस्ने ३४ वर्षीय सरोज चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी, प्रहरी चौकी त्रिनगर र लागूऔषध नियन्त्रण ब्यूरो धनगढीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ देवरिया डेरा गरी बस्ने कञ्चनपुर लालझाडी गाउँपालिका-१ बस्ने १९ वर्षीय सन्तोष चौधरी समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ बुद्धचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय सुमित घिमिरेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४८ एम्पुल, नुफिन ४८ एम्पुल र फेनारगन ४८ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-३३ लेखनाथ बस्ने २८ वर्षीय मनिस थापा मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १८०४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
महोत्तरी, लोहारपट्टी नगरपालिका-२ मधेपुरा बस्ने ५२ वर्षीय सुरेन्दर यादवलाई अवैध लागूऔषध गाँजा करिब ४ सय ग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लोहारपट्टीबाट खटिएको प्रहरीले यादवले आफ्नै घरमा संचालन गरेको किराना पसल तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, थाहा नगरपालिका-११ टिस्टुङस्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब २१ किलो ६ सय ग्राम र अफिम जस्तो देखिने पदार्थ करिब ३ किलो ५ सय ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हिसार राज्य हरयाना ग्राम पंचायत गोबिन्द नगर थाना सदर बस्ने २५ वर्षीय कुनाल गोथ्वाल र २० वर्षीय मनिस कुमार रहेका छन् । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले नौखण्डेबाट नौबिसेतर्फ जाँदै गरेको डिएल ८ सिएक्स १२२४ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडीको दुवै साईडको ढोका र च्यासिसको भागमा फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी कार चालक कुनाल र कारमा सवार मनिसलाई पक्राउ गरेको हो ।
सुनसरी, ईटहरी उपमहानगरपालिका-४ आईतबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९० ट्याब्लेट, स्पास्पेन ३ सय ९० ट्याब्लेट र नाईट्राजेपाम २० ट्याब्लेट सहित ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१४ बस्ने २९ वर्षीय रूपेश नारायण चौधरी, सोही उपमहानगरपालिका-८ बस्ने २२ वर्षीय बिसाल रसाईली, २० वर्षीय सबिन विश्वकर्मा र सोही उपमहानगरपालिका-१ बस्ने २० वर्षीय सेभिज भण्डारी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।